Paywear Banner Desktop
Paywear Banner Desktop

आज ट्रम्प, सी र पुटिनको चीन बैठक : आणविक हतियार र दुई युद्ध मुख्य एजेन्डामा

शेन्जेन, चीन (एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग गर्ने त्रिपक्षीय बैठकले विश्व इतिहासमा नयाँ मोड ल्याउन सक्छ वा केही समयपछि बिर्सिइने एउटा औपचारिक भेटघाटमा मात्र सीमित हुन सक्छ ।

सी र पुटिनसँगको भेटमा आफूलाई कुशल सम्झौताकारका रूपमा प्रस्तुत गर्ने अवसर पाएका ट्रम्पले यी दुई नेतासँगको छलफललाई आणविक हतियार नियन्त्रणका नियम तय गर्ने र युक्रेन तथा इरानमा जारी युद्ध अन्त्य गर्ने प्रक्रिया सुरु गर्ने अवसरका रूपमा व्याख्या गरेका छन् । तर विज्ञहरूले यस बैठकबाट कुनै ठूलो उपलब्धि हासिल हुने अपेक्षा गरेका छैनन् ।

दुई नेतासँग एकैपटक भेट्नुको फाइदा उनीहरूका देशबीच सहकार्य रहेको ट्रम्पको भनाइ छ ।

बिहीबार फक्स न्युजसँगको अन्तर्वार्तामा उनले भने, ‘उनीहरू दुवै ट्रम्पलाई मन पराउँछन् । अब मपछि के हुन्छ ? त्यो कुरा म तपाईंलाई भन्न सक्दिनँ ।’

त्रिपक्षीय बैठकअघि ट्रम्पले सीसँग छुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । यस वर्ष सीसँग उनको यो तेस्रो महत्वपूर्ण भेट हुनेछ । ट्रम्पले पुटिनसँग पनि छुट्टै बैठक थपेका छन् । गत वर्ष अलास्कामा भएको छलफलपछि यी दुई नेताबीच पहिलोपटक वार्ता हुन लागेको हो । उक्त भेटले युक्रेनमाथि रुसको युद्ध कम गर्ने कुनै सम्झौता गराउन सकेको थिएन ।

ट्रम्पले पुटिनसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो रहेको दाबी गर्दै आएका छन् । तर पछिल्लो समय अमेरिका र युक्रेनबीचको सम्बन्ध भने निकै कमजोर भएको देखिएको छ । ट्रम्पले रुसमाथि थप प्रतिबन्ध लगाउने प्रस्ताव अस्वीकार गरेका छन् भने युद्धका क्रममा युक्रेनका ड्रोन सञ्चालनमा प्रयोग हुने भूउपग्रह सहयोगमा आएको अवरोधले किएभलाई असर पारेको छ ।

ट्रम्पको चीन भ्रमणमा एलन मस्क पनि सहभागी छन् । तर उनले अहिलेसम्म सार्वजनिक रूपमा खासै सक्रियता देखाएका छैनन् । मस्कको कम्पनी स्पेसएक्सले युक्रेनले ड्रोन प्रक्षेपण गर्न र रुसी आक्रमणबाट जोगिन प्रयोग गर्ने सैन्य प्रयोजनको स्टारसिल्ड भूउपग्रह प्रणालीको सेवा केही समयका लागि सीमित गर्ने गरेको छ ।

एउटै बैठकबाट आणविक वार्तामा ठूलो उपलब्धि कठिन

बिहीबार बिहान एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा नेताहरूसँगको बैठकपछि ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ता हुने कार्यक्रम छ । मंगलबार फिलिपिन्सबाट सुरु भएको ट्रम्पको एसिया भ्रमणको मुख्य उपलब्धिका रूपमा यो बैठकलाई हेरिएको छ ।

ट्रम्पले तीनै नेतासँग आणविक हतियारको भण्डारबारे छलफल गर्न चाहेको बताएका छन् । अमेरिका र रुसबीच भएको अन्तिम आणविक हतियार सम्झौता ‘न्यु स्टार्ट’ यस वर्ष फेब्रुअरीमा समाप्त भएको थियो । ट्रम्पले चीनलाई समेत समेट्ने गरी ‘नयाँ, सुधारिएको र आधुनिक’ सम्झौता गर्न चाहेको बताएका छन् ।

तर चीनको आणविक हतियार भण्डार अमेरिका र रुसको तुलनामा निकै सानो छ । चीनसँग ६०० भन्दा बढी आणविक हतियार रहेको अनुमान छ भने अमेरिका र रुस दुवैसँग पाँच हजारभन्दा बढी हतियार रहेको विश्वास गरिन्छ । त्यसैले आफ्नो आणविक हतियारमा सीमा स्वीकार गर्न चीनलाई कम प्रोत्साहन रहेको विश्लेषण छ ।

आर्म्स कन्ट्रोल एसोसिएसनका कार्यकारी निर्देशक ड्यारिल किमबलका अनुसार ट्रम्पको कूटनीतिक प्रदर्शनले आणविक हतियार घटाउने विषयमा निरन्तर वार्ताको प्रक्रिया सुरु गर्न सक्ने सम्भावना भने छ ।

‘एपेकमा सी, पुटिन र ट्रम्पबीच हुने कूटनीतिक नाटक र फोटो खिचाउने अवसरभन्दा हामीलाई धेरै कुरा चाहिएको छ,’ किमबलले भने, ‘एउटै बैठकबाट नाटकीय उपलब्धि हासिल हुने सम्भावना छैन ।’

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले पनि कुनै नेतासँग आणविक हतियारको भण्डार घटाउन आग्रह गर्नु ‘निकै कठिन काम’ भएको बताएका छन् ।

ट्रम्पले सम्बन्धको चर्चा गरे पनि सी र पुटिनबीच निकटता बढी

पुटिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभले ट्रम्प, सी र पुटिनबीचको बैठकमा युक्रेन युद्धबारे पनि छलफल हुन सक्ने बताएका छन् । यद्यपि बैठकको कार्यसूची पूर्ण रूपमा तय भइसकेको छैन । ट्रम्पले युक्रेनसँगै इरानको द्वन्द्वबारे पनि छलफल गर्न चाहेको बताएका छन् ।

ट्रम्पको यो पहलले शक्तिशाली देशहरूले आफूभन्दा कमजोर ठानिएका राष्ट्रहरूको भविष्य निर्धारण गर्न पाउने ठान्ने पुरानो शक्ति राजनीतिलाई सम्झाएको छ । युक्रेनलाई वार्तामा सहभागी नगराई अमेरिका र रुसले चीनसँग छलफल गर्न लागेका छन् । त्यस्तै जर्मनी, फ्रान्स, बेलायत, जापान र दक्षिण कोरियाजस्ता देशलाई पनि यस प्रक्रियाबाट बाहिर राखिएको छ, जबकि वार्ताको परिणाममा उनीहरूको समेत चासो छ ।

भेनेजुएला र इरानमाथि सैन्य कारबाही गरेका ट्रम्पले नोबेल शान्ति पुरस्कार पाउने चाहना पनि सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन् । यस वर्षको सुरुवातमा उनले डेनमार्कबाट ग्रिनल्यान्ड बलपूर्वक कब्जा गर्ने धम्कीसमेत दिएका थिए । त्यसपछि अमेरिकाका लागि त्यहाँ सैन्य आधार निर्माण गर्ने सहमति भएको थियो ।

ट्रम्पले व्यक्तिगत सम्बन्ध निर्माण गर्ने आफ्नो क्षमताले कूटनीतिमा आफूलाई फाइदा पुग्ने विश्वास गर्दै आएका छन् । बुधबार विमानस्थलमा सी आफैं एयर फोर्स वानको स्वागतका लागि पुगेका थिए । त्यसक्रममा दुवै नेताले हात मिलाउँदै एक हातले अँगालोसमेत हालेका थिए । यसलाई सीले ट्रम्पको व्यक्तिगत अहंकारलाई सम्बोधन गरेको संकेतका रूपमा हेरिएको छ ।

तर सी र पुटिनबीच साझा हितका आधारमा बनेको जस्तो गहिरो सम्बन्ध ट्रम्पसँग दुवै नेताको देखिँदैन । अमेरिकी राष्ट्रपतिले यी दुई नेताको प्रशंसा गर्दै आए पनि उनीहरूबाट सधैं त्यस्तै आत्मीय प्रतिक्रिया पाएका छैनन् ।

बुधबार एपेक सम्मेलनमा सीले पुटिनलाई ‘मेरो पुरानो मित्र’ भन्दै स्वागत गरेका थिए । पुटिनले पनि सीलाई ‘प्रिय मित्र’ भनेर सम्बोधन गरेका थिए । सन् २०२२ मा युक्रेनमाथि रुसले आक्रमण गरेपछि अमेरिका र उसका सहयोगीहरूले रुसमाथि थप प्रतिबन्ध लगाए पनि चीनले आर्थिक सहयोग जारी राख्दै पुटिनलाई आर्थिक आधार प्रदान गरेको छ ।

सीले पुटिनसँग भने, ‘चीन र रुसबीचको सम्बन्धले विभिन्न चुनौतीपूर्ण परिस्थितिमा पनि स्थिरता कायम राखेको छ र दीर्घकालीन दृष्टिकोण अपनाएको छ । परिवर्तन र उथलपुथलले भरिएको विश्वमा यसले थप स्थिरता र निश्चितता प्रदान गरेको छ ।’

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी सरकारी समाचार संस्था रिया नोभोस्तीलाई दिएको जानकारीअनुसार सी र पुटिनबीचको छलफलमा युक्रेन युद्धबारे पनि कुरा भएको थियो ।

यसको विपरीत, गत सेप्टेम्बरमा ह्वाइट हाउसमा भएको राजकीय भ्रमणका क्रममा सीले ट्रम्पसँगको सम्बन्धबारे संयमित प्रतिक्रिया दिएका थिए । उनले आफूहरूबीच ‘व्यक्तिगत सम्बन्ध बनेको र सम्पर्कमा रहेको’ बताएका थिए ।

यस वर्ष ट्रम्प र सीबीच कुल चारपटक भेट हुने योजना छ । उनीहरूको अन्तिम भेट डिसेम्बरमा अमेरिकाको फ्लोरिडास्थित ट्रम्प नेसनल डोरल गल्फ क्लबमा आयोजना हुने जी-२० शिखर सम्मेलनका क्रममा हुनेछ ।

युक्रेन र उसका युरोपेली सहयोगीहरू त्रिपक्षीय बैठकप्रति सशंकित छन् । उनीहरूलाई वार्ताको प्रक्रियाबाट बाहिर राखेर आफ्नो भविष्यबारे निर्णय हुन सक्ने चिन्ता छ । जर्मन चान्सलर फ्रेडरिक मर्जले युरोपेली देशहरूले अर्को ‘एन्करेज क्षण’ दोहोरिने आशंका गरेको बताएका छन् । उनले गत वर्ष अलास्कामा ट्रम्प र पुटिनबीच भएको बैठकलाई संकेत गरेका हुन् । उक्त बैठकमा प्रस्तुत प्रस्ताव युक्रेन र उसका साझेदारहरूले अस्वीकार गरेका थिए ।

एआई र व्यापारको प्रतिस्पर्धा पनि बैठकको पृष्ठभूमिमा

ट्रम्पले चीनसँगको आफ्नो सम्बन्धलाई सकारात्मक रूपमा प्रस्तुत गरे पनि त्यसले विश्वका दुई ठूला अर्थतन्त्रबीच ठोस परिवर्तन ल्याएको छैन । चीनले विश्वका अन्य देशसँग ठूलो व्यापार बचत कायम राखेको छ भने अमेरिकाको व्यापार घाटा पनि लगभग त्यति नै ठूलो छ ।

कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा अग्रता हासिल गर्न अमेरिका र चीनबीचको प्रतिस्पर्धा पछिल्ला दुई सातामा थप तनावपूर्ण बनेको छ ।

ट्रम्पका निकट सहयोगी जेन्सेन ह्वाङले गत साता एनभिडियाको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका थिए । एक महिलासँग विवाहबाहिर सम्बन्ध रहेको स्वीकार गरेपछि उनले पद छाडेका हुन् । ती महिला एलिस ह्वाङको कम्पनीले चीनलाई एआई मोडल विकास गर्न प्रयोग हुने एनभिडियाका उन्नत कम्प्युटर चिपमा पहुँच दिलाउन सहयोग गरेको थियो । एलिस ह्वाङ चिनियाँ सरकारकी एजेन्ट रहेको आरोप बेइजिङले अस्वीकार गरेको छ ।

ट्रम्पले चीनलाई ती चिपमा पहुँच गर्न थप कडा प्रतिबन्ध लगाउने निर्णय रोकेका थिए । चीनलाई अपमानित गरेर दुई देशबीचको सम्बन्ध थप बिगार्न नचाहेको उनको संकेत थियो ।

एपेक सम्मेलनअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले चीनका उपप्रधानमन्त्री हे लिफेङसँग भेट गरेका थिए ।

भेटपछि अमेरिकी अधिकारीहरूले गत वर्ष ट्रम्प र सीबीच भएको बैठकमा चीनले अमेरिकी कृषि उत्पादन खरिद बढाउने र विद्युतीय उपकरण निर्माणमा आवश्यक दुर्लभ खनिजको बिक्रीमा लगाइएको प्रतिबन्ध खुकुलो बनाउने प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन नगरेको बताएका थिए ।

गत वर्ष एकअर्कामाथि भन्सार शुल्क बढाएपछि अमेरिका र चीनबीच भएको व्यापार युद्धविराम आगामी वर्ष जनवरी १० सम्म कायम रहनेछ ।

ट्रम्प प्रशासनका अधिकारीहरूले युक्रेन युद्ध अन्त्य गर्न रुसलाई प्रोत्साहित गर्ने उपायका रूपमा रुसमाथि लगाइएका कडा प्रतिबन्ध हटाएर व्यापार खुला गर्ने सम्भावना पनि देखाएका छन् । ट्रम्पले व्यापारलाई विदेश नीतिको औजारका रूपमा प्रयोग गर्दै आएका छन् ।

यसैबीच, अमेरिका र इरानबीच युद्ध जारी रहँदा पनि चीन र रुसले इरानलाई व्यापारमार्फत सहयोग गरेका छन् । उक्त युद्धका कारण ऊर्जा मूल्य बढेको छ र विश्वव्यापी आर्थिक वृद्धिमा कमी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!