Paywear Banner Desktop
Paywear Banner Desktop

ट्रम्पको एसिया भ्रमण सुरु : फिलिपिन्समा व्यापार सम्झौता, चीनसँग आणविक वार्ताको तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने एसिया भ्रमणको पहिलो चरणमा मंगलबार फिलिपिन्स पुगेका छन्। उनले क्षेत्रीय साझेदार राष्ट्रका नेताहरूसँग भेटवार्ता, व्यापार सम्झौता र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रम छ।

अमेरिकाको हवाई उड्डयन क्षेत्रमा आएको ठूलो अवरोधदेखि विश्वव्यापी कृत्रिम बुद्धिमत्ता (एआई) उद्योगलाई हल्लाएको विवादसम्मका घरेलु चुनौतीबीच ट्रम्पले यो भ्रमण सुरु गरेका हुन्।

फिलिपिन्सको राजधानी मनिला उनको भ्रमणको पहिलो गन्तव्य हो। त्यसपछि उनी चीन जानेछन्, जहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय आणविक वार्ता गर्ने कार्यक्रम छ। ट्रम्पका अनुसार उत्तर कोरियाली नेता किम जोङ उनको पनि भेट हुन सक्ने सम्भावना छ।

मध्यावधि निर्वाचनमा आफ्नै दलले ठूलो पराजय बेहोरेपछि ट्रम्पको यो पहिलो विदेश भ्रमण हो। गत साता एनभिडियाका प्रमुख जेन्सेन हुआङले चिनियाँ सरकारसँग सम्बन्धित रहेको आरोप लागेकी एक एजेन्टसँग प्रेम सम्बन्ध रहेको स्वीकार गर्दै पद छाडेपछि ह्वाइट हाउस र अमेरिकी सेयर बजारसमेत प्रभावित भएका छन्। यद्यपि बेइजिङले यस घटनामा आफ्नो संलग्नता नरहेको बताएको छ।

एयर फोर्स वनबाट ओर्लिएपछि ट्रम्पले मुट्ठी उचालेर अभिवादन गरेका थिए। एक बालकले उनलाई अमेरिका र फिलिपिन्सका साना झन्डा दिएका थिए। ट्रम्पले ती झन्डा हल्लाउँदै मुस्कुराएर स्वागतको जवाफ दिए। उनलाई स्वागत गर्न आयोजित मार्चिङ ब्यान्डले ुवाईएमसीएु गीत बजाएको थियो। त्यसपछि उनी प्रतीक्षारत हेलिकप्टरतर्फ लागेका थिए।

फिलिपिन्समा ट्रम्पको पहिलो दिन अमेरिकाको एसियाली क्षेत्रको सबैभन्दा पुरानो सन्धि साझेदारसँगको सम्बन्धलाई देखाउने औपचारिक कार्यक्रमहरूमा बित्नेछ। मंगलबार साँझ आयोजित स्वागत समारोह र रात्रिभोजमा उनी अन्य विश्व नेताहरूसँग सहभागी हुनेछन्।

मंगलबार राति दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) को वार्षिक शिखर सम्मेलनमा उनलाई विशेष अतिथिका रूपमा सम्मान गरिने कार्यक्रम छ।

आसियानका नेताहरूले दक्षिण चीन सागरको विवादित जलक्षेत्रमा चीनसँग गैर(आक्रमण सम्झौता गर्ने विषयमा काम गरिरहेका छन्। विश्व व्यापारका लागि महत्त्वपूर्ण मानिने यो समुद्री मार्गमा पछिल्ला वर्षहरूमा तनाव बढ्दै गएको छ। विशेषगरी विवादित समुद्री क्षेत्रहरूमा चिनियाँ र फिलिपिन्सका तटरक्षक तथा नौसैनिक बलबीच पटक–पटक टकराव हुँदै आएको छ।

क्वाड बैठक र थाइल्यान्डसँग व्यापार सम्झौता

मंगलबार ट्रम्पको पहिलो औपचारिक कार्यक्रम क्वाड राष्ट्रका नेताहरूसँगको बैठक हुनेछ। अमेरिका, अस्ट्रेलिया, भारत र जापान सदस्य रहेको क्वाडले एसिया प्रशान्त क्षेत्रमा चीनको प्रभावलाई सन्तुलित गर्ने उद्देश्य राख्दै आएको छ। गत वर्ष ह्वाइट हाउस फर्किएपछि ट्रम्प सहभागी हुने यो पहिलो क्वाड बैठक हो।

त्यसपछि उनले थाइल्यान्डसँग व्यापार सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ। गत वर्ष व्यापार युद्ध सुरु गर्दै उच्च भन्सार शुल्क लगाउने चेतावनी दिएका ट्रम्पले विभिन्न देशसँग यस्ता सम्झौता गर्न प्राथमिकता दिँदै आएका छन्।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार गत अक्टोबरमा सार्वजनिक गरिएको व्यापारिक सहमतिअन्तर्गत थाइल्यान्डले अधिकांश अमेरिकी वस्तुमा भन्सार शुल्क हटाउने तथा अमेरिकी गाडी, खाद्य सामग्री र औषधि आयातमा रहेका अवरोध हटाउने प्रतिबद्धता जनाएको थियो।

त्यतिबेला ट्रम्प प्रशासनले थाइल्यान्डले अमेरिकी विमान खरिदमा १८ अर्ब डलरभन्दा बढी खर्च गर्ने तथा अमेरिकी कृषि उत्पादन र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) खरिद गर्ने जनाएको थियो।

तर, अमेरिकी सर्वोच्च अदालतले गत फेब्रुअरीमा थाइल्यान्डबाट आयात हुने वस्तुमा ट्रम्पले लगाएको १९ प्रतिशत भन्सार शुल्क खारेज गरेको थियो। त्यसपछि प्रशासनले जुलाईमा जबर्जस्ती श्रमको प्रयोग रोक्न आवश्यक कदम नचालेको भन्दै थाइल्यान्डबाट आयात हुने वस्तुमा १२।५ प्रतिशत शुल्क लगाएको थियो।

मंगलबार रातिको रात्रिभोजअघि ट्रम्पले आसियान नेताहरूसँग विशेष शिखर बैठकमा पनि सहभागी हुनेछन्। बैठकमा व्यापार तथा सुरक्षा सम्बन्ध विस्तार गर्ने प्रयास र क्षेत्रीय द्वन्द्वका विषयमा छलफल हुने अपेक्षा छ।

छलफलका प्रमुख विषयमा म्यानमारमा वर्षौंदेखि जारी हिंसा र दक्षिण चीन सागरमा बढ्दो विवाद रहनेछन्। चीनले उक्त समुद्री क्षेत्रको लगभग सम्पूर्ण भूभागमाथि आफ्नो दाबी गर्दै आएको छ।

अमेरिकाले दक्षिण चीन सागरमाथि चीनको विस्तारित दाबी अस्वीकार गर्दै आएको छ। साथै, फिलिपिन्सका सुरक्षाकर्मीमाथि सशस्त्र आक्रमण भएमा आफ्नो सन्धिगत दायित्वअनुसार फिलिपिन्सको रक्षा गर्ने अमेरिकाले पटक-पटक बताउँदै आएको छ।

ट्रम्पको भ्रमणविरुद्ध मनिलामा प्रदर्शन

ट्रम्पको आगमनअघि मनिलाको एक सार्वजनिक चोकमा करिब १ हजार ५०० वामपन्थी प्रदर्शनकारीले विरोध र्‍याली निकालेका थिए। उनीहरूले फिलिपिन्सका नेताहरूलाई आफ्नो विदेश नीतिमा अमेरिकाको निर्देशन पालना नगर्न आग्रह गरेका थिए।

प्रदर्शनकारीले रातो झन्डा बोकेका थिए। उनीहरूले ‘अमेरिकी युद्ध र लुटपाटको प्रतिरोध गरौँ’ लेखिएको ठूलो ब्यानरसमेत प्रदर्शन गरेका थिए। उनीहरूले ट्रम्पको पुत्ला जलाउने योजना बनाएका थिए। त्यस क्षेत्रमा ढाल र काठका लाठीसहित दंगा नियन्त्रण प्रहरी परिचालन गरिएको थियो।

प्रदर्शनका नेता टेडी कासिनोले एसोसिएटेड प्रेससँग कुरा गर्दै फिलिपिन्स सरकारले ट्रम्पसँग व्यवहार गर्न नहुने बताए।

राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई लक्षित गर्दै उनले भने, ‘हाम्रो आग्रह मार्कोस प्रशासनलाई डोनाल्ड ट्रम्पको कठपुतली बन्न छाड्न र फिलिपिन्सको स्वतन्त्र विदेश नीति कायम राख्न भन्ने हो।’

मार्कोससँग भेटवार्ता, इमेल्डासँग पनि भेट हुन सक्ने

बुधबार ट्रम्पलाई फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले रातो कार्पेटसहितको स्वागत र पूर्ण सैन्य सम्मान प्रदान गर्ने कार्यक्रम छ। त्यसपछि मालाकानाङ राष्ट्रपति भवनमा राजकीय भोज आयोजना हुनेछ।

भेटमा दुवै नेताले आफ्ना देशबीच लामो समयदेखि कायम सन्धिगत गठबन्धनप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्ने अपेक्षा गरिएको छ।

यसै क्रममा ट्रम्पको पुरानी परिचित इमेल्डा मार्कोससँग पनि छोटो भेट गराउने तयारी भइरहेको छ। उनको स्वास्थ्य अवस्था अनुकूल भए र चिकित्सकले अनुमति दिएमा राष्ट्रपति भवनमै भेट गराउने योजना छ।

९७ वर्षीया इमेल्डा अहिले ह्विलचेयर प्रयोग गर्छिन्। उनी फिलिपिन्सकी पूर्वप्रथम महिला तथा वर्तमान राष्ट्रपति मार्कोस जुनियरकी आमा हुन्।

दशकौँअघि उनी न्यूयोर्कमा हुने उच्चवर्गीय जमघट र पार्टीहरूमा सहभागी हुने गर्थिन्। उनी तत्कालीन शक्तिशाली शासककी विवादास्पद पत्नी थिइन्। सन् १९८६ मा लोकतन्त्रको पक्षमा भएको ‘पिपुल पावर’ जनविद्रोहपछि उनका पति सत्ताच्युत भएका थिए।

तर ट्रम्प र इमेल्डाबीचको व्यक्तिगत सम्बन्ध कायम रह्यो। ट्रम्पले राष्ट्रपति मार्कोस जुनियर र अन्य फिलिपिन्सका अधिकारीहरूसँग भेट्दा प्रायः ुइमेल्डा कस्ती छिन्रुु भनेर सोध्ने गरेको अमेरिकाका लागि फिलिपिन्सका राजदूत जोसे म्यानुएल रोमुआल्डेजले एसोसिएटेड प्रेसलाई बताएका छन्।

‘व्यक्तिगत सम्बन्ध उनका लागि निकै महत्त्वपूर्ण छन्’, रोमुआल्डेजले भने।

गत वर्ष ह्वाइट हाउसमा ट्रम्पसँग भेट गर्दा फिलिपिन्सका राष्ट्रपति मार्कोसले आफ्नी आमाको एउटा सन्देश पनि लगेका थिए। त्यसमा फिलिपिन्सलाई बलियो समर्थन गरेकोमा अमेरिकी राष्ट्रपतिलाई धन्यवाद दिइएको थियो।

रोमुआल्डेजका अनुसार सन्देश पाएपछि ट्रम्प खुसी भएका थिए र मार्कोसलाई ‘कृपया आफ्नी आमालाई मेरो अभिवादन सुनाइदिनुहोला’ भनेका थिए।

फिलिपिन्स भ्रमणका क्रममा ट्रम्पले हवाई उड्डयन, रक्षा, ऊर्जा र प्रविधि क्षेत्रमा विभिन्न व्यावसायिक सम्झौता तथा लगानी घोषणा गर्ने अपेक्षा गरिएको छ।

त्यसपछि उनी एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको सेन्जेन जानेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!