काठमाडौँ । आज कुष्माण्ड नवमी हो । आजदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्नुहुन्छ भन्ने धार्मिक मान्यता छ ।
आजको यो दिनलाई कुष्माण्ड नवमी, अक्षय नवमी, अमला नवमी र धातृ नवमी पनि भनिन्छ । आज अमलाका अतिरिक्त भगवान् विष्णुको विशेष रूपमा पूजाअर्चना पनि गरिन्छ ।
धर्मशास्त्रअनुसार आज भगवान् विष्णुका साथै अमलाको वृक्षको पूजासँगै अन्नादि दान गर्नाले अक्षय फल प्राप्त हुन्छ । यसैगरी, अमला र पिपलको विवाह गरिदियो भने पुण्य प्राप्त भई त्यो जन्मान्तरसम्म कायम रहने जनविश्वास छ ।
पद्मपुराणअनुसार कार्तिक शुक्ल नवमीका दिन द्वापर युगको आरम्भ भएको थियो । यसै दिन भगवान् विष्णुले कुष्माण्ड नाम गरेको दैत्यको वध गर्नुभएको हुनाले यो दिनलाई कुष्माण्ड नवमी भनिएको हो । कुष्माण्ड दैत्यको शरीरबाट कुभिन्डो उत्पन्न भएको हुनाले यो दिन कुभिन्डो दान गर्नाले पुण्य प्राप्त हुन्छ ।
आजको दिन कुभिन्डो, सुन, चाँदी, पहेँलो कपडा, तामाको भाँडोमा तिल राखेर दान गर्ने मनुष्यले चिताएको फल प्राप्त गर्ने जनविश्वास छ ।