काठमाडौं । टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै २० लाखभन्दा बढी भिडियो हटाएको छ। अप्रिलदेखि जुनसम्मको अवधिमा हटाइएका भिडियोको सङ्ख्या २० लाख ३६ हजार १९१ रहेको टिकटकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीका अनुसार हटाइएका भिडियो नेपालमा उक्त अवधिमा प्रकाशित कुल भिडियोको ०.४ प्रतिशत हुन्। तीमध्ये ९९.५ प्रतिशत भिडियो प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरेर हटाइएको थियो। त्यस्तै, नियम उल्लङ्घन गरेका ९२।३ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको टिकटकले जनाएको छ।
तर, थप समीक्षापछि हटाइएका भिडियोमध्ये ३३ हजार ५०३ वटा पुनःस्थापना गरिएको प्रतिवेदनमा उल्लेख छ। यसले स्वचालित पहिचान प्रणालीबाट हटाइएका सामग्रीमध्ये केहीलाई पुनरावलोकनपछि पुनः प्रकाशनको अनुमति दिइएको देखाउँछ।
टिकटकले सोही अवधिमा विश्वभरबाट १८ करोड ८२ लाख ९८ हजार १४१ वटा भिडियो हटाएको छ। यो प्लेटफर्ममा प्रकाशित कुल सामग्रीको करिब ०.५ प्रतिशत हो। हटाइएका भिडियोमध्ये १८ करोड ३३ लाख ४४ हजार ७०७ वटा स्वचालित पहिचान प्रविधिको प्रयोगबाट हटाइएको कम्पनीले जनाएको छ।
विश्वव्यापी रूपमा हटाइएका भिडियोमध्ये ९९.५ प्रतिशत प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरिएका थिए भने ९२.७ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएका थिए। थप समीक्षा गरेपछि ६२ लाख ६२ हजार ३८३ वटा भिडियो पुनःस्थापना गरिएको प्रतिवेदनमा उल्लेख छ।
भिडियो सामग्रीसँगै टिकटकले नक्कली तथा उमेरसम्बन्धी नियम उल्लङ्घन गरेको आशङ्का गरिएका खातामाथि पनि कारबाही गरेको जनाएको छ। विश्वभरबाट तीन महिनाको अवधिमा १४ करोड ६८ लाख ७ हजार ४०० वटा नक्कली खाता हटाइएको छ।
त्यस्तै, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका हुन सक्ने आशङ्का गरिएका दुई करोड ६८ लाख ४० हजार ७६७ वटा खाता हटाइएको कम्पनीले जनाएको छ। सामुदायिक निर्देशिका उल्लङ्घन गरेको भन्दै २७ करोड ८३ लाख ८४ हजार ४६३ वटा कमेन्टसमेत हटाइएको प्रतिवेदनमा उल्लेख छ।
टिकटकले लाइभ प्रसारणमा पनि सामग्री निगरानी र नियम कार्यान्वयनलाई निरन्तरता दिएको जनाएको छ। प्रतिवेदनअनुसार प्रकाशित लाइभ सामग्रीमध्ये २.४ प्रतिशत निलम्बन गरिएको थियो।
नियम उल्लङ्घनसम्बन्धी कारबाहीका क्रममा ७ करोड ६७ लाख २१ हजार ९३ वटा लाइभ सेसन र २ करोड ६७ लाख ८१ हजार १३५ जना लाइभ क्रिएटरको आम्दानी गर्ने सुविधा हटाइएको वा उनीहरूलाई चेतावनी दिइएको कम्पनीले जनाएको छ। थप समीक्षापछि २३ लाख ९८ हजार ८४६ वटा लाइभ सेसन पुनःस्थापना गरिएको थियो।
टिकटकले प्रत्येक त्रैमासिकमा सामुदायिक निर्देशिका कार्यान्वयनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ। कम्पनीको पछिल्लो प्रतिवेदनले सामग्री पहिचान र हटाउने प्रक्रियामा स्वचालित प्रणालीको व्यापक प्रयोग भइरहेको देखाउँछ। यद्यपि, प्रतिवेदनमा हटाइएका सामग्रीको सङ्ख्या र पुनःस्थापनाको विवरण मात्र समावेश भएकाले त्यस्ता सामग्रीको प्रकृति र कारबाहीको प्रभावकारिताबारे थप मूल्याङ्कन गर्न विस्तृत तथ्याङ्क आवश्यक पर्छ।
टिकटकको सन् २०२६ को दोस्रो त्रैमासिकको सामुदायिक निर्देशिका कार्यान्वयन प्रतिवेदन कम्पनीको ट्रान्सपरेन्सी सेन्टरमा उपलब्ध छ।