काठमाडौँ । सरकारले नेपाल प्रिमियर लिग (एनपीएल)का आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया आगामी तीन महिनाभित्र अघि बढाउने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले एनपीएलको छैटौँ संस्करणदेखि प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने लक्ष्यसहित सबै क्लबका लागि आफ्नै क्रिकेट रङ्गशाला निर्माण गर्न लागिएको जानकारी दिएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जालमार्फत विराटनगर किङ्गस्का लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थ, कर्णाली याक्सका लागि सुर्खेत, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला, काठमाडौँ गुर्खाजका लागि कीर्तिपुर, पोखरा एभेन्जर्सका लागि पोखरा, जनकपुर बोल्ट्सका लागि रामजानकी र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण गरिने बताएका छन् ।
प्रधानमन्त्री शाहले फाप्ला क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया अघि बढिसकेको र अन्य रङ्गशालाको निर्माण प्रक्रिया पनि आगामी तीन महिनाभित्र सुरु गरिने बताएका छन् । क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीका अनुसार यी रङ्गशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछन् ।