काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले पोर्चुगलको यू-१७ राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् ।
उनले बिहीबार लिस्बनमा भएको युरोपियन च्याम्पियनसिप छनोटअन्तर्गत एन्डोराविरुद्धको खेलमा डेब्यू गरेका हुन् । उक्त खेलमा पोर्चुगलले एन्डोरालाई ४-० गोलले पराजित गरेको थियो ।
अल नासरको एकेडेमीबाट खेल्दै आएका रोनाल्डो जुनियर खेलको ७३औं मिनेटमा मैदान प्रवेश गरेका थिए । उनी मैदान छिर्दा पोर्चुगलले ४-० को अग्रता बनाइसकेको थियो ।
पोर्चुगलका लागि स्पोर्टिङ सीपीका डिएगो फारिन्हाले दुई गोल गरेका थिए । त्यस्तै, सान्तोस एफसीका काउआ मिरान्दाले पेनाल्टीमार्फत एक गोल गरे भने ब्रागाका राफाएल काब्रालले खेलको ६०औं मिनेटमा अर्को गोल थपेका थिए ।
खेलको अन्त्यतिर रोनाल्डो जुनियरले हेडरमार्फत टोलीका लागि पाँचौं गोल गर्ने अवसर पाएका थिए । तर, उनको प्रहार लक्ष्यभन्दा बाहिर गयो ।
उनको यू-१७ टोलीबाट भएको डेब्यू बुबा क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा सन्यास घोषणा गरेको एक सातापछि भएको हो ।
रोनाल्डोले २३ वर्षसम्म पोर्चुगलको राष्ट्रिय टोलीबाट उच्चस्तरको अन्तर्राष्ट्रिय फुटबल खेलेका थिए । उनले २३४ खेलमा कीर्तिमानी १४६ गोल गरेका छन् ।
रोनाल्डो जुनियरले शनिबार पोर्चुगलको यू१७ टोलीबाट बुल्गेरियाविरुद्ध खेल्नेछन् । त्यसपछि नोभेम्बर १७ मा सर्बियासँग प्रतिस्पर्धा गर्नेछन् । दुवै छनोट खेल लिस्बनमै हुनेछन् ।