काठमाडौं । क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा ह्याट्रिक गरेपछि अल नासरले बिहीबार साउदी प्रो लिगमा अल खोदुदलाई ५३ गोलले पराजित गरेको छ ।
यस खेलसँगै रोनाल्डोको करिअर गोल संख्या ९८५ पुगेको छ । उनी फुटबल करिअरमा १ हजार गोल पूरा गर्ने लक्ष्यभन्दा अब १५ गोल मात्र टाढा छन् ।
खेलको पहिलो हाफमा रोनाल्डोले गरेका दुई गोल अफसाइडका कारण रद्द भएका थिए । तर दोस्रो हाफमा उनले उत्कृष्ट पुनरागमन गर्दै तीन गोल गरे ।
उनले खेलको ६६औँ मिनेटमा जोआओ फेलिक्सको पासमा दायाँ खुट्टाले गोल गर्दै अल नासरलाई अग्रता दिलाए । त्यसको छ मिनेटपछि अर्थात् ७२औँ मिनेटमा फेलिक्सकै अर्को पासमा हेडरमार्फत दोस्रो गोल गरे ।
रोनाल्डोले ८१औँ मिनेटमा साडियो मानेको पासमा सहजै बललाई जाली चुमाउँदै ह्याट्रिक पूरा गरे ।
यो रोनाल्डोको व्यावसायिक करिअरको ६७औँ ह्याट्रिक हो ।
जितसँगै अल नासर साउदी प्रो लिगको शीर्ष स्थानमा रहेको छ । अंकतालिकाको शीर्ष स्थानमा रहेको अर्को टोलीसँग उसको अंक बराबर छ ।
खेलपछि रोनाल्डोले यसलाई ‘टोलीको उत्कृष्ट प्रदर्शन’ भन्दै प्रशंसा गरेका छन् ।
केही दिनअघि मात्रै प्रशंसकहरूले उनलाई ‘ब्यालोन डी’ओर अफ अल टाइम’ को उपाधि दिएका थिए । त्यसको केही दिनपछि नै उनले ह्याट्रिकसहित टोलीको जितमा योगदान दिएका हुन्।