काठमाडौं । हलिउड अभिनेता रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्डका रूपमा चयन भएका छन्। ‘द ब्याटम्यान’ र ‘द ओडिसी’ जस्ता फिल्ममा अभिनय गरेका प्याटिन्सनलाई अमेजन एमजीएम स्टुडियोले चर्चित जासुसी पात्र जेम्स बन्डको भूमिकाका लागि आधिकारिक रूपमा छनोट गरेको हो।
नयाँ जेम्स बन्डका लागि कसलाई चयन गरिएला भन्ने विषयमा लामो समयदेखि चलिरहेको अड्कलबाजीलाई प्याटिन्सनको छनोटसँगै पूर्णविराम लागेको छ। निर्देशक डेनिस भिलेनुभले नयाँ फिल्म निर्देशन गर्नेछन्।
भूमिकामा चयन भएपछि प्याटिन्सनले आफूलाई जीवनकै ठूलो सम्मान प्राप्त भएको बताएका छन्।
‘जेम्स बन्ड सिनेमा इतिहासकै सबैभन्दा प्रतिष्ठित पात्रमध्ये एक हुन्। ००७ को भूमिका निर्वाह गर्ने जिम्मेवारी पाउनु जीवनकै ठूलो सम्मान हो,’ उनले विज्ञप्तिमा भनेका छन्।
उनले निर्देशक भिलेनुभ, एमी, डेभिड, तान्या र अमेजन एमजीएम स्टुडियोका सबैप्रति आफूलाई विश्वास गरेकोमा आभार व्यक्त गरेका छन्। यो भूमिका आफ्नो सपना साकार भएजस्तै भएको उल्लेख गर्दै उनले नयाँ टोलीसँग काम गर्न उत्साहित रहेको बताएका छन्।
निर्देशक भिलेनुभले पनि प्याटिन्सनलाई नयाँ जेम्स बन्डका रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्।
‘सबैभन्दा पहिले यो यात्रामा हामीसँग जोडिएका असाधारण कलाकारहरूप्रति गहिरो आभार व्यक्त गर्न चाहन्छु। हामीले उत्कृष्ट प्रतिभाहरूको साथ पायौँ, तर ००७ एउटै मात्र हुन सक्छन्। रोबर्ट प्याटिन्सनलाई हाम्रो नयाँ जेम्स बन्डका रूपमा स्वागत गर्न पाउँदा म अत्यन्त खुसी छु। उनीसँग ००७ को कालजयी व्यक्तित्व छ र उनले यस पात्रमा पूर्णतः नयाँ ऊर्जा पनि ल्याउँछन्। काम सुरु गर्न म प्रतीक्षा गर्न सक्दिनँ,’ उनले भनेका छन्।
नयाँ बन्ड फिल्मको निर्माण एमी पास्कल र डेभिड हेम्यानले गर्नेछन्। तान्या ल्यापोइन्ट कार्यकारी निर्माताका रूपमा रहनेछिन् भने पटकथा स्टिभन नाइटले लेख्नेछन्।
पाँच फिल्मसम्म जेम्स बन्डको भूमिका निर्वाह गरेका ड्यानियल क्रेगपछि प्याटिन्सनले यो जिम्मेवारी पाएका हुन्। क्रेगले सन् २००६ मा ‘क्यासिनो रोयाल’बाट बन्डको भूमिका सुरु गरेका थिए। सन् २०२१ मा प्रदर्शन भएको ‘नो टाइम टु डाइ’ उनको अन्तिम बन्ड फिल्म थियो।
‘नो टाइम टु डाइ’को अन्त्यमा बन्डले विश्वलाई एउटा गोप्य अन्तर्राष्ट्रिय आतंकवादी संगठनबाट बचाउन आफैँ बलिदान दिएका थिए।

यो फिल्मपछि बन्ड शृंखलाको निर्माण गर्दै आएका माइकल जी विल्सन र बारबरा ब्रोकोलीले फ्रेन्चाइजको सिर्जनात्मक नियन्त्रण अमेजन एमजीएमलाई २ करोड डलरमा बेचेका थिए।
नयाँ जेम्स बन्ड को बन्लान् भन्ने विषयमा पछिल्लो एक महिनादेखि फिल्म उद्योग र सञ्चारमाध्यममा व्यापक चर्चा भइरहेको थियो। यस क्रममा विभिन्न बेलायती अभिनेताहरूलाई सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत गरिएको थियो।
सुरुवाती चर्चामा ज्याकोब एलोर्डीको नाम अग्रस्थानमा थियो। तर पछि सार्वजनिक भएका विवरणअनुसार ‘युफोरिया’का यी अभिनेताले बन्डको भूमिकाका लागि अडिसनसमेत दिएका थिएनन्।
त्यसपछि ज्याक लोडेनलाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको थियो। सेप्टेम्बरको सुरुवातमा उनको ‘स्लो हर्सेज’का सहकलाकारले बन्डको छनोट भइसकेको दाबी गर्दै लोडेनका लागि आफ्नो शुभेच्छा रहेको बताएका थिए।
तर लोडेनको सम्भावनालाई पछि क्यालम टर्नरको चर्चाले ओझेलमा पार्यो। टर्नर नै नयाँ बन्ड बन्ने लगभग निश्चितजस्तै देखिएका बेला प्याटिन्सन र निकोलस हुल्टले अडिसन दिएको खबर सार्वजनिक भयो। त्यसपछि नयाँ बन्डका रूपमा कसलाई छनोट गरिने हो भन्ने अनुमान गर्न कठिन भएको थियो। अन्ततः बाजी प्याटिन्सनले मारे।
सम्भावित उम्मेदवारको सूचीमा जोस ओुकोनर, टम फ्रान्सिस, आरोन टेलर–जोन्सन, ह्यारिस डिकिन्सन र ह्यारी स्टाइल्सको नामसमेत समावेश थियो।
अमेजन एमजीएमले प्याटिन्सनलाई छनोट गर्नुको एउटा प्रमुख कारण उनको पछिल्लो व्यावसायिक सफलता पनि हो। उनी सन् २०२६ का सर्वाधिक माग भएका फिल्म अभिनेतामध्ये एक हुन्। बक्स अफिसमा उनले हासिल गरेको सफलताले पनि त्यसलाई पुष्टि गर्छ।
जेन्डायासँग अभिनय गरेको ए२४ को फिल्म ‘द ड्रामा’ले २ करोड ८० लाख डलरको बजेटमा विश्वभर १३ करोड ४० लाख डलर कमाइ गरेको थियो। मौलिक कथामा आधारित यो फिल्म सम्बन्ध र व्यक्तिगत जीवनका जटिल पक्षलाई प्रस्तुत गर्ने ड्रामेडी हो।
त्यस्तै, ‘टु क्याच अ प्रिडेटर’का प्रस्तोता क्रिस ह्यान्सनको भूमिकामा प्याटिन्सनले अभिनय गरेको ‘प्राइमटाइम’ले १ करोड ८० लाख डलर बजेटमा विश्वभर ६ करोड १० लाख डलर कमाएको थियो।
‘द ओडिसी’मा उनले एन्टिनसको भूमिका निर्वाह गरेका थिए। उक्त फिल्मले विश्वभर १ अर्ब ८० करोड डलर कमाएको थियो।
आगामी डिसेम्बरमा प्रदर्शन हुने ‘ड्युन स् पार्ट थ्री’मा पनि प्याटिन्सन देखिँदैछन्। उक्त फिल्मले पनि बक्स अफिसमा राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ। निर्देशक भिलेनुभसँग ‘ड्युन’को सेटमा काम गर्दा प्याटिन्सनले प्रभावित पारेकै कारण बन्डको भूमिका पाएको हुन सक्ने सम्भावना पनि औँल्याइएको छ।
प्याटिन्सनसँग ठूला फिल्म फ्रेन्चाइजमा काम गरेको अनुभव पनि छ। सन् २०२२ मा म्याट रिभ्स निर्देशित ‘द ब्याटम्यान’बाट उनले पहिलोपटक मुख्य पात्र ब्रुस वेन अर्थात् ब्याटम्यानको भूमिका निर्वाह गरेका थिए। सन् २०२८ मा प्रदर्शन हुने यसको दोस्रो भागमा पनि उनी देखिनेछन्।
जेम्स बन्डको भूमिकाका लागि प्याटिन्सनको सम्भावना कमजोर रहेको अनुमान गर्नेहरूले ब्याटम्यान फ्रेन्चाइजसँग उनको व्यस्ततालाई प्रमुख कारण मानेका थिए। तर ‘द ब्याटम्यान पार्ट टु’को निर्माण पटकपटक पछाडि धकेलिएपछि उनी अर्को चर्चित फिल्म पात्रसँग लामो समयका लागि जोडिन तयार देखिएका छन्।
निर्माता पास्कल र हेम्यानले पनि प्याटिन्सनलाई नयाँ बन्डका लागि उपयुक्त अभिनेता भनेका छन्।
‘जेम्स बन्ड साहित्य र सिनेमाका सबैभन्दा प्रिय, प्रेरणादायी, प्रतिष्ठित र रहस्यमयी पात्रमध्ये एक हुन्। रोबर्ट प्याटिन्सनको हातमा यो पात्रको विरासत सुरक्षित छ। अभिनेताका रूपमा उनको निडरता, आफैँमाथि व्यंग्य गर्न सक्ने हास्यबोध र आफूलाई निरन्तर नयाँ रूपमा प्रस्तुत गर्ने क्षमताले उनलाई हाम्रो समयका लागि उपयुक्त बन्ड बनाउँछ,’ उनीहरूले संयुक्त रूपमा भनेका छन्।