काठमाडौं । गत कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा २५ करोड रुपैयाँ भन्दा बढी कमाइ गरेको छ ।
विश्वभर आक्रामक कमाइ गरिरहेको फिल्मलाई नेपालमा समेत दर्शकको साथ प्राप्त भएको छ । उक्त अवधिमा फिल्मको ६ लाख ४० हजार बढी टिकट बिक्री भएको छ ।
बक्सअफिस स्रोतका अनुसार फिल्मले नेपालबाट शुक्रबारसम्म २५ करोड ३० लाख बढी कमाइ गरेको छ । फिल्मलाई उपलब्ध गराईएको शो संख्या र दर्शकको अकुपेन्सी हेर्दा यसले ३० करोडको हाराहारीमा नेपालमा कमाइ गर्ने अनुमान गरिएको छ ।
नितेश तिवारी निर्देशित ’रामायण’मा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन् । निर्माता नमित मल्होत्राले भारतीय पौराणिक कथालाई विश्वव्यापी दर्शकमाझ पुर्याउने उद्देश्यसहित फिल्म निर्माण गरेका हुन् ।
भारतीय महाकाव्य रामायणको कथा एउटै फिल्ममा समेट्न सम्भव नहुने भएकाले निर्माण पक्षले यसलाई दुई भागमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।
पहिलो भागको आधिकारिक शीर्षक ‘रामायण : राइज अफ अ लेजेन्ड’ राखिएको छ ।
यसरी दुई भागमा निर्माण गर्नुको उद्देश्य कथाका महत्त्वपूर्ण घटना, सम्बन्ध र युद्धलाई विस्तृत रूपमा प्रस्तुत गर्नु हो । पहिलो भागमा रामको जीवन, वनवास, सीता हरण र राम-रावणबीचको द्वन्द्वको पृष्ठभूमि समेटिएको छ । दोस्रो भाग सन् २०२८ को दीपावलीमा प्रदर्शन गर्ने प्रारम्भिक योजना सार्वजनिक गरिएको थियो ।
नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्म चाहिँ ‘पुष्पा २’ हो जसको ग्रस कलेक्सन २६.४६ करोड भारु छ । जसअनुसार, ‘बाहुबली २ : द कन्क्लुजन’ लाई उछिन्दै ‘रामायण : पार्ट वन’ दोस्रो धेरै कमाउने अन्तर्राष्ट्रिय फिल्म बनेको छ ।
नेपाल न्यूज बैंकबाट ।