Paywear Banner Desktop
Paywear Banner Desktop

वर्षा र हिमपातको जोखिम : स्वास्थ्य क्षेत्रमा सतर्कता, मुस्ताङमा पदयात्रा नगर्न आग्रह

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले शुक्रबार र शनिबार (कात्तिक १३ र १४ गते) भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले सूचना जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार चक्रवात ‘अरनब’को प्रभाव यही कात्तिक १३ गते शुक्रबारदेखि नेपालमा पर्न सक्ने अनुमान गरिएको छ ।

यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षा हुन सक्नेछ । त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

सम्भावित विपद्बाट जोगिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी र खोलाका किनार एवम् बाढीको जोखिम भएका क्षेत्रमा नबस्न प्राधिकरणले अनुरोध गरेको छ ।

त्यसैगरी, मौसम पूर्वानुमान र आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न तथा विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले आपत्कालीन अवस्थामा आवश्यक सहयोग लिन मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीको १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न अनुरोध गरेको प्रवक्ता केसीले जानकारी दिए ।

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बन्न आग्रह गरिएको छ ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गरी प्रतिकार्यका काममा प्रभावकारी बन्न आग्रह गरेको हो ।

यहि कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हुरीबताससहित मध्यमदेखि भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेपछि स्वास्थ्य क्षेत्रको तयारीलाई सुदृढ बनाउन निर्देशन दिइएको हो ।

जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले हुनसक्ने सम्भावित भारी वर्षा तथा त्यसबाट उत्पन्न हुने बाढीपहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गरी सतर्क रहन आग्रह गरेको छ ।

एकाइका प्रमुख डा हेमन्तचन्द्र ओझाद्वारा जारी परिपत्रमा चौबीसै घण्टा सम्पर्कमा रहन एक जना आपत्कालीन सम्पर्क व्यक्ति (इमर्जेन्सी फोकल पर्सन) तोक्ने, निजको सम्पर्क विवरण एकाइमा उपलब्ध गराउन तथा सार्वजनिक गर्न भनेको छ ।

सतर्कता अपनाउन टानको आग्रह

पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल ९टान०ले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन पथप्रदर्शक, पदयात्री र पर्यटकलाई आग्रह गरेको छ ।

टानले एक सूचना जारी गरी बङ्गालको खाडीमा विकसित भएको ‘अर्नव चक्रवात’का कारण नेपालमा पर्न सक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन सदस्य कम्पनी, पदयात्री तथा पर्यटकलाई आग्रह गरेको हो ।

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२ देखि १४ गतेस्म्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय र लोमन्थाङ गाउँपालिकाले अनुरोध गरेका छन् ।

गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत जानकारी गराएको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिम रहेकाले प्रशासनले पर्यटकलाई सतर्क रहन आग्रह गरेको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले चिसो बढ्ने, सडकमा पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको जानकारी दिए ।

यसैगरी, लोमन्थाङ गाउँपालिकाले पनि मौसम प्रतिकूल हुने सूचना प्राप्त भएकाले कोरला नाका तथा आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने जनाएको छ ।

गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले हिमपातका कारण सडक चिप्लो भई सवारी दुर्घटनामा पर्न सक्ने र सडक अवरुद्ध हुन सक्ने जोखिम रहेकाले कोरला नाकातर्फ सवारीसाधन नलैजान यातायात व्यवसायी, चालक, व्यापारी तथा पर्यटकलाई अनुरोध गरेका छन् ।

मौसम अनुकूल नभएसम्म कोरला नाकातर्फको यात्रा तथा सवारीसाधनको आवागमन स्थगित गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!