Paywear Banner Desktop
Paywear Banner Desktop

पल्सर स्पोर्ट्स अवार्ड : ‘पिपल्स च्वाइस’ मनोनयनमा मीना सुनारदेखि रविन्द्र ढाँटसम्म

काठमाडौं । खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आगामी भदौ १८ गते आयोजना गर्ने २३औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको छ ।

मञ्चले पिपल्स च्वाइस विधाका लागि भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आर्ट्सका रविन्द्र ढाँटलाई मनोनयनमा राखेको हो ।

पिपल्स च्वाइस विधाको भोटिङ पार्टनरका रूपमा मञ्चले यस वर्ष पनि ‘खल्ती बाई आईएमई’सँग सहकार्य गरेको छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र खल्ती बाई आईएमईकी म्यानेजर पूजा धामीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पिपल्स च्वाइसको विजेता मञ्चसँग आबद्ध खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक, खेलकुद पत्रकार मञ्चका सदस्य, सामाजिक सञ्जालका समर्थक तथा खल्तीमार्फत प्राप्त मतका आधारमा चयन हुनेछ । कुल मतभारमा खल्तीको ५० प्रतिशत तथा फेसबुक, राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र मञ्चका सदस्यको ५० प्रतिशत मतभार रहनेछ ।

फेसबुकमार्फत मतदान गर्दा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड र पल्सर नेपालको आधिकारिक फेसबुक पेजबाट गर्नुपर्नेछ । यस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।

पिपल्स च्वाइसमा मनोनयनमा परेकी मीना सुनार नेपाली महिला भलिबलकी उदीयमान खेलाडी हुन् । शक्तिशाली स्पाइकरका रूपमा परिचित उनले काभा महिला च्याम्पियनसिपमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

फुटबलकी पूजा रानाले एसियन कप छनोटमा उज्वेकिस्तानमा प्रभावशाली प्रदर्शन गरेकी थिइन् । उनले विदेशमा समेत व्यावसायिक फुटबल खेल्दै भुटानको ट्रान्सफर युनाइटेड तथा बंगलादेशका फरासगन्ज एफसी र नासरिन स्पोर्ट्स एकेडेमीसँग आबद्ध भएर खेलिसकेकी छन् ।

करातेकी सानुमाया थिङले विश्व कराते च्याम्पियनसिपमा छनोट चरण पार गर्दै कायरोमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले २१औं एसियन कराते च्याम्पियनसिपमा कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नुका साथै दक्षिण एसियाली कराते च्याम्पियनसिपमा टिम कातामा स्वर्ण र एकल कातामा रजत जितेकी थिइन् ।

क्रिकेटका शेर मल्लले आईसीसी टी-२० विश्वकपमा डेब्यू खेलमै पहिलो बलमा विकेट लिएर चर्चा बटुलेका थिए ।

मिक्स मार्सल आर्ट्सका रविन्द्र ढाँट ‘बझाङका बाघ’का रूपमा परिचित छन् । उनले गत वर्ष म्याट्रिक्स फाइट नाइट १७ को बेन्टमवेट च्याम्पियनको उपाधि जितेका थिए । एसिया-प्यासिफिक क्षेत्रमा २०५औं वरीयतामा रहेका ढाँट ‘रोड टु यूएफसी’को सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटरसमेत हुन् ।

मञ्चका अनुसार २०८२ सालभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई आधार बनाएर यस वर्षको अवार्ड प्रदान गरिँदैछ । २३औं संस्करणमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी नौ विधामा सम्मान प्रदान गरिनेछ ।

वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ प्रदान गरिने मञ्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!