काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन्।
प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डल बोकेको नेपाल वायुसेवा निगमको विमान केहीबेरअघि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
विमानस्थलमा भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकार, अन्य वरिष्ठ सरकारी अधिकारी, व्यवसायी तथा पत्रकारसहित ३४ जना छन्।
यसैगरी, निजी क्षेत्रका ५२ जना व्यवसायी पनि आफ्नै खर्चमा भ्रमण टोलीमा सहभागी हुनेछन्।
विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताजमहल जाने कार्यक्रम छ। त्यहाँ भारतीय विदेशमन्त्री एस जयशंकरले आज साँझ ६ बजे प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।
आजका लागि यसबाहेक प्रधानमन्त्री शाहको अन्य औपचारिक भेटघाट वा कार्यक्रम तय गरिएको छैन।