Paywear Banner Desktop
Paywear Banner Desktop

युरोभिजन सङ्गीत प्रतियोगिता एसियाको उपाधि फिलिपिन्सले जित्यो, नेपाल नवौँ

बैंकक (बीबीसी)। पहिलो संस्करणको युरोभिजन सङ्गीत प्रतियोगिता एसियाको उपाधि फिलिपिन्सले जितेको छ। थाइल्यान्डको बैंककमा आयोजित प्रतियोगितामा ११ देशलाई पछि पार्दै फिलिपिन्सले उपाधि जितेको हो।

फिलिपिन्सकी १९ वर्षीया गायिका कार्मेल प्रतियोगिताकी सुरुदेखि नै बलियो दाबेदार थिइन्। महिला सशक्तीकरणको सन्देश बोकेको उनको गीत ‘सोब्रा–सोब्रा’मा आकर्षक र्‍याप खण्डसमेत समावेश थियो।

कार्मेलले निर्णायकबाट ९३ र दर्शकको भोटबाट ११८ गरी कुल २११ अंक प्राप्त गरिन्। दोस्रो स्थानमा रहेको थाइल्यान्डको समूह म्याङ एक्स डाउले १७० अंक प्राप्त गर्‍यो।

बैंककस्थित वन बैंकक एरिनामा आयोजित प्रतियोगितामा दर्शकले सहभागी कलाकारलाई उत्साहपूर्वक साथ दिएका थिए। विजेता घोषणा हुँदा एरिनामा खुसीयाली छाएको थियो।

प्रतियोगिताकी सबैभन्दा कम उमेरकी प्रतिस्पर्धी कार्मेल निर्णायक र दर्शक दुवैको रोजाइमा परिन्। अन्य देशका कलाकारले पनि प्रभावशाली प्रस्तुति दिएका थिए।

थाइल्यान्डको समूह म्याङ एक्स डाउले प्रस्तुत गरेको भावनात्मक युगल गीत ‘अरोमा’ले घरेलु दर्शकबाट ठूलो समर्थन पाएको थियो।

बंगलादेशका बीटबक्स कलाकारहरूको समूह बीटमोस्फेयरले परम्परागत ब्याकिङ ट्र्याक प्रयोग नगरी आफ्नै आवाजबाट ड्रम र बासका धुन सिर्जना गरेको थियो।

लाओसकी थिन्लाले परम्परागत लाओ पहाडी समुदायको पोसाकमा सजिएर दर्शकलाई आकर्षित गर्ने गीत ‘बे’ प्रस्तुत गरेकी थिइन्।

तर, प्रसारणका क्रममा देखिएको प्राविधिक समस्याका कारण उनको गीतको म्युजिक भिडियो पुनः बजाइएको थियो। यसले गर्दा मतदान सुरु हुनुअघि दर्शकले सुनेको अन्तिम गीत पनि त्यही बन्यो।

मतदान प्रणाली युरोपेली युरोभिजन प्रतियोगिताकै जस्तै थियो। अन्तिम नतिजामा दर्शकको मतको हिस्सा ५० प्रतिशत र ११ देशका राष्ट्रिय निर्णायकको मतको हिस्सा ५० प्रतिशत थियो। यसका अतिरिक्त विश्वका अन्य भागबाट प्राप्त मतका आधारमा पनि अंक प्रदान गरिएको थियो।

प्रतियोगिताको अन्तिम नतिजा यस्तो रह्यो :

१. फिलिपिन्स- २११ अंक
२. थाइल्यान्ड- १७० अंक
३. भियतनाम- १६४ अंक
४. मलेसिया- १५२ अंक
५. लाओस- १३९ अंक
६. भुटान- १२६ अंक
७. दक्षिण कोरिया- ११३ अंक
८. मंगोलिया- ९४ अंक
९. नेपाल- ६९ अंक
१०. कम्बोडिया- ६१ अंक
११. बंगलादेश- ३५ अंक

प्रतियोगिताको प्रसारणका क्रममा सन् २०२६ को युरोभिजन सङ्गीत प्रतियोगिताकी विजेता बुल्गेरियाकी दारा पनि प्रस्तुत भएकी थिइन्। उनले आफूलाई विजेता बनाएको गीत ‘बंगाराङ्गा’ र नयाँ गीत ‘ब्याड आइडिया’ गाएकी थिइन्।

त्यसैगरी, थाइल्यान्डका चर्चित गायक जेफ साटुरले पनि ‘ब्ल्याक टाई’ गीत प्रस्तुत गरेका थिए।

एसियामा युरोभिजन प्रतियोगिता आयोजना गर्ने अवधारणाबारे दशकौँदेखि चर्चा हुँदै आएको थियो। विभिन्न प्रयास भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको थिएन। यसपटक भने पहिलो संस्करण आयोजना भएको हो।

एसियामा युरोभिजनप्रति ठूलो उत्साह देखिए पनि दर्शकमध्ये धेरैजसो अन्य देश र क्षेत्रबाट आएका मूल युरोभिजन प्रतियोगिताका पुराना प्रशंसक थिए।

प्रतियोगिता हेर्न स्कटल्यान्डबाट थाइल्यान्ड पुगेकी प्रशंसक जेल्ली पेरेइराले कार्यक्रमपछि कार्मेलको जितबाट आफू निकै खुसी भएको बताइन्।

पेरेइरा र उनका साथीहरू, इंग्ल्यान्डका माइकल पिटर्स र स्कारलेट मासीले दक्षिण कोरिया, भियतनाम र लाओसका प्रस्तुतिको पनि प्रशंसा गरे।

‘यो अद्भुत थियो, प्रस्तुतिको स्तर निकै उच्च थियो,’ मासीले भनिन्।

पिटर्सले थपे, ‘नृत्य अद्भुत थियो। मञ्च सजावट, पोसाक र गायन सबै उत्कृष्ट थिए। अविश्वसनीय।’

उनीहरूले आगामी वर्षको प्रतियोगिताको नाम ‘एसिया भिजन’ राख्नुपर्ने सुझावसमेत दिए।

केही दर्शकका लागि प्रतियोगिताको अर्को संस्करणप्रतिको उत्साह अहिलेबाटै सुरु भइसकेको देखिन्थ्यो।

यद्यपि, फिलिपिन्सकी गायिका कार्मेलले उपाधि उचालेको केही समयपछि नै वन बैंकक एरिनाबाट दर्शक बाहिरिन थालेका थिए।

एरिनामा दर्शकको बाक्लो उपस्थिति भए पनि सबै सिट भरिएका थिएनन्। आगामी वर्ष प्रतियोगितालाई निरन्तरता दिन र सहभागी देशको संख्या ११ भन्दा बढाउन क्षेत्रीय प्रसारण संस्थाहरू कति प्रतिबद्ध छन् भन्ने अझै स्पष्ट भइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी १
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!