काठमाडौं । विवाद र अन्योलबीच फिल्म ‘पाँच पाण्डव’ शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने यसका निर्माताले जनाएका छन् । साथै, सूचना तथा सञ्चार मन्त्रालयले पनि यो फिल्म निर्धारित मितिमै प्रदर्शन हुने बताएको छ ।
फिल्मलाई लिएर पछिल्लो केही दिनमा हिन्दुवादी संघसंस्थाले विरोध गरिरहेका थिए । गृह मन्त्रालयको चासोबीच बिहीबार बिहान सञ्चार तथा सूचना मन्त्रालयमा छलफल भएको थियो । उक्त छलफलमा फिल्मलाई निर्धारित मितिमै प्रदर्शन गर्न दिनेबारे सबैजना मतैक्य भएको प्रवक्ता विष्णु कोइरालाले कोलिग्रामलाई बताए ।
निर्माता संस्था कालीरानी फिल्म्सले पनि विज्ञप्ति जारी गर्दै फिल्म शुक्रबारदेखि नै प्रदर्शनमा आउने जनाएको छ । यस फिल्मले हिन्दु धर्मग्रन्थ महाभारतको पात्र र धार्मिक आस्थालाई चोट पुर्याएको बताउँदै केही संस्थाले प्रदर्शन रोक्न माग गरेका थिए ।