Paywear Banner Desktop
Paywear Banner Mobile

चीनको अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी पाइलट

जिउछ्वान (चीन), रोयटर्स । चीनको तियानगोंग अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी नागरिक पाकिस्तानी पाइलट बन्ने भएका छन्। बुधबार प्रक्षेपण हुने शेन्झाउ-२४ अन्तरिक्ष अभियानमार्फत ४० वर्षीय जीशान अली अन्तरिक्षमा पुग्ने पहिलो पाकिस्तानी नागरिकसमेत बन्नेछन्।

चीनले अन्तरिक्ष कूटनीतिमा नयाँ कदम चालिरहेका बेला अलीको यो यात्रा चीन र पाकिस्तानबीचको सहकार्यका लागि पनि महत्त्वपूर्ण मानिएको छ।

अली तीन सदस्यीय अन्तरिक्ष टोलीमा सहभागी हुनेछन्। टोलीको नेतृत्व चिनियाँ अन्तरिक्षयात्री ताङ होङ्बोले गर्नेछन् भने वु यी फ्लाइट इन्जिनियरका रूपमा रहनेछन्। अलीले पेलोड विशेषज्ञको जिम्मेवारी सम्हाल्नेछन्। उनी अन्तरिक्ष स्टेसनमा ५ देखि १० दिन बिताएर विभिन्न वैज्ञानिक प्रयोगमा सहभागी हुनेछन्।

लङ मार्च-२एफ रकेटमार्फत प्रक्षेपण गरिने अन्तरिक्षयान स्थानीय समयअनुसार बुधबार बिहान ८ बजेर १८ मिनेटमा उत्तरपश्चिम चीनस्थित जिउछ्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उड्ने तालिका छ।

अन्तरिक्ष यात्राको तयारीका लागि अलीले बेइजिङमा सात महिना प्रशिक्षण लिएका थिए। यस क्रममा उनले चिनियाँ भाषाको गहन अध्ययन गर्नुका साथै चिनियाँ गीत गाउन र कविता पढ्न पनि सिके। उनले परम्परागत चिनियाँ सुलेखनको अभ्यास र टेबलटेनिससमेत खेले।

‘म आफ्ना लागि मात्र उडिरहेको छैन। मेरो काँधमा पाकिस्तानको नाम छ,’ अलीले पत्रकारहरूसँग भने।

चीन र पाकिस्तानबीचको अन्तरिक्ष सहकार्य सन् १९९० को दशकको सुरुवातदेखि चल्दै आएको छ। चीनले पाकिस्तानका भूउपग्रह प्रक्षेपण गरिसकेको छ। सन् २०२८ आसपास चीनको चन्द्र अभियानमा पाकिस्तानमै निर्मित रोभरसमेत पठाउने तयारी छ।

अमेरिकास्थित सेक्योर वर्ल्ड फाउन्डेसनकी स्पेस सेक्युरिटी एन्ड स्ट्याबिलिटी प्रमुख निर्देशक भिक्टोरिया सामसनले चीनले अन्तरिक्षलाई आफ्नो प्रभाव विस्तार गर्ने माध्यमका रूपमा प्रयोग गर्दै आएको बताइन्।

‘चीनले अन्य देशका लागि कति भूउपग्रह निर्माण र प्रक्षेपण गर्छ, ग्लोबल साउथमा कसरी टेलिस्कोप र ट्र्याकिङ केन्द्र बनाउँछ भन्ने हेर्नुहोस्। यो पनि त्यही प्रकृतिको अर्को कदम हो,’ उनले भनिन्।

एक चिनियाँ अन्तरिक्षयात्रीको लामो बसाइ

चिनियाँ अन्तरिक्षयात्रीले सामान्यतया तियानगोंगमा छ महिना बिताउने गर्छन्। तर अलीको बसाइ भने त्यसको तुलनामा निकै छोटो हुनेछ। यद्यपि पाकिस्तानका लागि उनको यो यात्रा महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

हङकङस्थित अर्बिटल गेटवे कन्सल्टिङका संस्थापक ब्लेन कर्सियोका अनुसार यसले पाकिस्तानलाई प्रतिष्ठा, विज्ञान तथा प्रविधिसम्बन्धी महत्त्वपूर्ण ज्ञान र चीनसँग थप गहिरो सहकार्य तथा कूटनीतिक सद्भाव प्राप्त गर्न मद्दत गर्नेछ।

यो अभियानले आफ्नो तियानगोंग अन्तरिक्ष स्टेसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष सहकार्यको केन्द्र बनाउने बेइजिङको योजनालाई पनि उजागर गरेको छ। नासाको नेतृत्वमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) सन् २०३० सम्ममा अवकाशमा जान सक्ने सम्भावना रहेका बेला चीनले आफ्नो स्टेसनलाई अन्तर्राष्ट्रिय साझेदारीका लागि खुला राख्न खोजेको छ।

‘अन्तर्राष्ट्रिय अन्तरिक्षयात्रीलाई आफ्नो स्टेसनमा राखेर चीनले आफू सहकार्यका लागि खुला रहेको स्पष्ट पारेको छ,’ कर्सियोले भने।

चीनले आफैँ निर्माण गरेको तियानगोंग अर्थात् चिनियाँ भाषामा ‘स्वर्गीय दरबार’ नामको अन्तरिक्ष स्टेसन सन् २०२२ को अन्त्यदेखि पूर्ण रूपमा सञ्चालनमा छ।

एउटा तीन सदस्यीय टोली आउने र अर्को टोली फर्कने क्रममा केही समय दुवै टोली एकैसाथ रहँदा यस स्टेसनमा बढीमा ६ जना अन्तरिक्षयात्री अटाउन सक्छन्।

तर यसपटक टोली हस्तान्तरणको प्रक्रिया फरक हुनेछ।

शेन्झाउ-२३ का कमान्डर झु याङ्झु भने तियानगोंगमै रहनेछन्। अन्तरिक्षमा मानव शरीरले कसरी प्रतिक्रिया गर्छ भन्ने अध्ययनका लागि उनी त्यहाँ बस्नेछन्। यो अध्ययन भविष्यमा मानवसहित चन्द्रमामा पुग्ने र सम्भावित रूपमा मंगल ग्रहसम्म यात्रा गर्ने चीनको योजनाका लागि महत्त्वपूर्ण मानिएको छ।

शेन्झाउ-२३ का बाँकी सदस्य भने अलीसँगै तियानगोंगबाट फर्कनेछन्।

झु एक वर्षसम्म अन्तरिक्ष स्टेसनमा रहनेछन्। उनको बसाइ पूरा हुँदा उनी अन्तरिक्षमा लगातार सबैभन्दा लामो समय बिताउने चिनियाँ अन्तरिक्षयात्री बन्नेछन्। तर सन् १९९५ मा एक रुसी अन्तरिक्षयात्रीले बनाएको १४ महिना र दुई साताको कीर्तिमानभन्दा उनको बसाइ छोटो हुनेछ।

चीनले सन् २०३० सम्म मानवलाई चन्द्रमामा पुर्‍याउने लक्ष्यमा कुनै परिवर्तन नगरेको जनाएको छ। यसै वर्ष प्रतिकूल मौसम र उष्णकटिबन्धीय आँधीसँग सम्बन्धित अवस्थाका कारण प्रक्षेपणका आवश्यक सर्त पूरा हुन नसकेपछि उसको छाङअ-७ चन्द्र अभियान स्थगित भएको थियो।

अमेरिकाले भने सन् २०२८ सम्म मानवलाई पुनः चन्द्रमामा पुर्‍याउने लक्ष्य राखेको छ। चन्द्रमामा आधार निर्माण गर्ने प्रतिस्पर्धाबीच दुवै देशले भविष्यमा मंगल ग्रहसम्म मानव अन्वेषण विस्तार गर्ने योजनासमेत अघि बढाएका छन्।

चीनले रुससँग मिलेर सन् २०३५ सम्म चन्द्रमामा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना बनाएको छ।

अमेरिकाले चन्द्रमाका प्राकृतिक स्रोतले सम्पन्न क्षेत्रमा पहुँचमाथि चीनले आफ्नो प्रभुत्व स्थापित गर्न खोज्न सक्ने चेतावनी दिँदै आएको छ। बेइजिङले भने यस्तो आरोप अस्वीकार गर्दै बाह्य अन्तरिक्षको शान्तिपूर्ण प्रयोगको पक्षमा रहेको बताउँदै आएको छ।

अलीले पनि भविष्यमा चन्द्रमा र मंगल ग्रहसम्म पुग्ने अन्तरिक्ष सहकार्यको सम्भावना देखेका छन्।

‘चीन-पाकिस्तान अन्तरिक्ष सहकार्यको आगामी अध्याय एउटा अन्तरिक्षयात्री र एउटा उडानबाट सुरु भएर संयुक्त रूपमा धेरै उडान, चन्द्रमा, मंगल ग्रह र त्यसभन्दा पनि परसम्म विस्तार होस् भन्ने मेरो आशा छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!