काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको एनपीएलमा दोस्रो शतक प्रहार भएको छ । चितवन राईनोजका कामिल मिशारालेले काठमाडौं गोर्खाजकाविरूद्ध शतक प्रहार गरे। उनले ५३ बलमा ८ छ्क्का र ४ चौकाको मद्दतमा शतक पूरा गरे। जारी एनपीएलमा शतक हिर्काउने उनी दोस्रो खेलाडी समेत बने ।
यसअघि पोखरा एभेन्जर्सका युवराज सामराले शतक बनाएका थिए। सामराले कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पुरा गरेका थिए । एनपीएल इतिहासको यो पाचौं शतक हो, जसमा तीन पोखराका खेलाडीको नाममा छ ।
पहिलो संस्करणमा पोखराकै एन्ड्रेज हाउसले ५४ बलमा शतक पुरा गरेका थिए । उनले सो खेलमा अविजित १ सय ४ रन बनाएका थिए । दोस्रो संस्करणमा पोखराकै एडम रोसिङटनले कर्णाली याक्सविरुद्ध नै ५४ बलमा शतक बनाएका थिए, उनले सो खेलमा ५८ बलमा अविजित १ सय ८ र बनाएका थिए ।
गत संस्करणमा नै कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ४१ बलमै शतक पुरा गरेका थिए, जुन एनपीएलमा सबैभन्दा कम बलमा बनेको शतकको कीर्तिमान हो । वाटले सो खेलमा ४४ बलमा अविजित १ सय १४ रन बनाएका थिए । १ सय १४ रन नै वाटको नाममा एकै खेलमा सर्वाधिक बढी रन बनाउने खेलाडीको रेकर्ड समेत छ ।