Paywear Banner Desktop
Paywear Banner Mobile

इजरायलमा सत्ता साझेदारीको प्रस्ताव : आइसेनकोटलाई प्रधानमन्त्री बनाउन नेतान्याहु तयार

बीबीसी। इजरायलमा सरकार गठनका लागि देखिएको राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी नेता गादी आइसेनकोटबीच आइतबार बिहान महत्वपूर्ण वार्ता हुने भएको छ ।

गत महिना भएको निर्वाचनपछि कुनै पनि राजनीतिक गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि सरकार गठनको प्रक्रिया अन्योलमा परेको छ ।

शनिबार नेतान्याहुले आइसेनकोटलाई पालैपालो प्रधानमन्त्री बन्ने व्यवस्था भएको राष्ट्रिय एकता सरकारमा सुरुमा प्रधानमन्त्री बनाउन आफू तयार रहेको बताएका थिए ।

अक्टोबरमा भएको निर्वाचनमा आइसेनकोट नेतृत्वको मध्यमार्गी याशार पार्टीसहित अन्य तीन यहुदी विपक्षी दलले ४८ सिट जितेका थिए । नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको थियो । तर, १२० सदस्यीय इजरायली संसद् नेसेटमा सरकार बनाउन आवश्यक बहुमत दुवै पक्षसँग छैन ।

आइसेनकोटसँग सरकार गठनका लागि दिइएको समयसीमा आगामी डिसेम्बर ६ मा सकिँदैछ । उनीसँग सरकार गठन गर्न अब एक साता मात्र बाँकी छ ।

शनिबार सामाजिक सञ्जालमार्फत नेतान्याहुले आफूले सबै विषयलाई पन्छाएर राष्ट्रिय एकताको प्रयास गर्न चाहेको बताएका थिए ।

‘नेताका रूपमा मेरो जिम्मेवारीले मलाई सबै कुरा पन्छाउन बाध्य बनाउँछ, सबैभन्दा ठूलो दलले नै नेतृत्व गर्नुपर्छ भन्ने सिद्धान्तसमेत,’ उनले लेखेका थिए ।

उनले राष्ट्रिय एकता सरकार गठन भए आफू सुरुमा ‘वैकल्पिक प्रधानमन्त्री’ का रूपमा रहने प्रस्तावसमेत गरेका थिए ।

इजरायली सेनाका पूर्वप्रमुखसमेत रहेका आइसेनकोटले नेतान्याहुको प्रस्तावप्रति तत्काल प्रतिक्रिया जनाउँदै उनलाई ‘वास्तविक र तीव्र वार्ता’ का लागि आमन्त्रण गरेका थिए ।

यसअघि शुक्रबार आइसेनकोटले नेतान्याहुको दक्षिणपन्थी लिकुड पार्टीमाथि गठबन्धन निर्माणसम्बन्धी वार्ता लम्ब्याएको आरोप लगाएका थिए ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले निर्वाचनपछि एक सातासम्म सबै राजनीतिक दलसँग परामर्श गरेपछि आइसेनकोटलाई सरकार गठनका लागि २८ दिनको समय दिएका थिए ।

यस निर्वाचनमा अरब नेतृत्वका दुई गठबन्धन युनाइटेड अरब लिस्ट र जोइन्ट लिस्टले संयुक्त रूपमा कीर्तिमानी १९ सिट जितेका थिए । अरब मतदाताको मतदानमा उल्लेख्य वृद्धि भएपछि उनीहरूले उक्त सफलता हासिल गरेका हुन् ।

यसले सरकार गठनमा ती दललाई निर्णायक भूमिका खेल्न सक्ने अवस्थामा पुर्‍याएको छ । तर, एक दलबाहेक अन्य सबै यहुदी दलले निर्वाचनअघि सरकार गठनका लागि उनीहरूसँग सहकार्य नगर्ने प्रतिबद्धता जनाएका थिए ।

शनिबार इजरायलको च्यानल १२ सँगको अन्तर्वार्तामा मध्यमार्गी इस्लामवादी राम पार्टीका नेता मन्सुर अब्बासले आफू र आफ्नो पार्टीले हमासलाई ुआतंकवादी समूहु का रूपमा मान्यता दिएको संकेत गरेका थिए ।

राम पार्टीले सहप्रस्तावकका रूपमा अघि सारेको र उक्त वर्गीकरण समावेश भएको विधेयकको पक्षमा आफूले मतदान गरेको उनले पुष्टि गरेका थिए । यस्तो कदमले नेतान्याहुलाई सत्ताबाट हटाउन गठन हुने गठबन्धनमा राम पार्टी सहभागी हुने बाटो खोल्न सक्नेछ ।

आइसेनकोटले आवश्यक बहुमत जुटाउने दिशामा केही प्रगति गरेका छन् । उनले यिस्राएल बेइतेनु पार्टी र द डेमोक्र्याट्ससँग गठबन्धनसम्बन्धी सहमति गरिसकेका छन् ।

उनको गठबन्धनमा रहेको चौथो दल बेयाचादका नेता इजरायलका पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट हुन् । बेनेटले बिहीबार लिकुड पार्टीसमेत सहभागी हुने राष्ट्रिय एकता सरकारको पक्षमा आफू रहेको बताएका थिए । यस्तो सरकारमा आइसेनकोट पहिले प्रधानमन्त्री बन्ने उनको प्रस्ताव थियो ।

नेतान्याहुको प्रस्तावपछि बेनेटले आइसेनकोटको नेतृत्वमा एकता सरकार गठन गर्न लिकुड तयार हुनु सही निर्णय भएको प्रतिक्रिया दिएका थिए । उनले यस्तो सरकारलाई ुसेवा गर्नेहरूको गठबन्धनमा आधारित सरकारु भनेका थिए ।

नेतान्याहुले अस्तित्वकै लागि खतरा उत्पन्न भएको अवस्था र त्यसको सामना गर्न सक्षम नहुने सरकार बन्न सक्ने सम्भावनाका कारण आफूले राष्ट्रिय एकता सरकारको प्रस्ताव गरेको बताएका थिए ।

आइसेनकोटले भने लिकुड पार्टी वास्तविक एकताका लागि तयार भए आगामी २४ घण्टाभित्र उसको प्रस्तावको गम्भीरता मूल्यांकन गर्न आफू तयार रहेको बताएका छन् ।

याशार पार्टीका नेताले नेतान्याहुलाई गत आइतबार पठाइएको विस्तृत प्रस्तावका आधारमा वार्ता हुने बताएका छन् । आइसेनकोटका अनुसार अहिलेसम्म उक्त प्रस्तावको कुनै जवाफ प्राप्त भएको छैन ।

शुक्रबार आइसेनकोटले लिकुड पार्टीले पछिल्लो दुई सातादेखि वार्ता लम्ब्याइरहेको र सरकार गठनका लागि कुनै ठोस प्रस्ताव अघि नसारेको आरोप लगाएका थिए ।

उनले लिकुड वार्ताप्रति वास्तवमै गम्भीर छ कि छैन भन्ने प्रश्नसमेत उठाएका थिए । त्यसको केही घण्टापछि शनिबार नेतान्याहुले राष्ट्रिय एकता सरकारको प्रस्ताव अघि सारेका थिए ।

इजरायलमा अहिलेसम्म कुनै पनि राजनीतिक दलले एक्लै स्पष्ट बहुमत प्राप्त गर्न सकेको छैन । त्यसैले त्यहाँ गठन हुने सबै सरकार गठबन्धनमा आधारित रहँदै आएका छन् ।

सन् २०१९ देखि २०२२ सम्मको अवधि इजरायली राजनीतिमा सबैभन्दा बढी राजनीतिक विभाजन देखिएको समयमध्ये एक थियो । त्यस अवधिमा नेतान्याहु र उनका राजनीतिक प्रतिस्पर्धीबीच पटकपटक सहकार्यको प्रयास असफल हुँदा पाँचपटक निर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!