Paywear Banner Desktop
Paywear Banner Mobile

‘नेपथ्य’ को मञ्चबाट बालबालिकालाई हिमाल चिनाउन आग्रह

पुतलीबजार, स्याङ्जा । गायक अमृत गुरुङ शनिबार हुनीकोट डाँडा उक्लिएका थिए । त्यहाँबाट उत्तरतर्फ पश्चिम कुनाको धौलागिरिदेखि पूर्वी कुनातिर मनास्लुसम्मै झलमल्ल हिमाल देखिन्थ्यो । दृश्यले लोभिएपछि अमृतले बाटाभरि भेटिएका बालबालिकासँग ती हिमालको परिचय सोधे । तर बीचतिर देखिने माछापुच्छ्रेबाहेक अन्य हिमालको नाम कसैले लिन सकेनन् ।

भोलिपल्ट आयोजित कन्सर्टमा अमृतले यही प्रसङ्ग निकाले । ‘जुन हिमालको काखमा जन्मेर हुर्कंदै छन्, तिनलाई पनि चिनेनन् भने हाम्रा भावी सन्ततिले पाएको शिक्षा अधुरो हुन्छ,’ आइतबार बेलुकी दर्शकले भरिभराउ मैदानबीच अमृतले त्यहाँ उपस्थित सम्पूर्ण शिक्षकलाई अनुरोध गरे, ‘यी बच्चाहरूलाई उनीहरूको प्रकृति र भूगोल बताउन नछुटाइदिनुस् है।।। ।’

प्रत्युत्तरमा दर्शकले लामो तालीसाथ उनको धारणालाई अनुमोदन गरिदिए ।

यसरी देश, पहिचान र भाषा संस्कृतिको महत्त्व सम्झाउँदै नेपथ्यको पुतलीबजार कन्सर्ट सम्पन्न भएको छ । यस पटकको मुलुक यात्रामा ग्रामीण तथा मझौला सहरहरूको चयन गरेको नेपथ्यले पहिलोपटक यस स्थानमा प्रस्तुति दिएको हो।

दर्शकको भीडमा स्थानीय चिकित्सक वसन्त पङ्गेनी पनि सपरिवार थिए । ‘हाम्रो ठाउँमा यति भव्य र व्यवस्थित लाइभ कन्सर्ट आयोजना गरेकामा नेपथ्य र आयोजकलाई धन्यवाद दिन मन लागेको छ,’ डा। पङ्गेनीले भने, ‘सङ्गीतले मन जोडेको छ, सम्झनाले जीवन सुन्दर बनाउनेछ ।’

कन्सर्ट हेर्नकै निम्ति छ जना साथीसहित आएकी नानु श्रेष्ठलाई भने यति ठूलो दर्शक उपस्थितिबीच पनि महिलाहरू बस्ने छुट्टै बक्सको प्रबन्ध उल्लेखनीय लाग्यो । ‘यस्तो भव्य र रमाइलो कन्सर्ट जीवनमै पहिलोपटक अनुभव गरेँ,’ बीबीएस चौथो वर्षकी छात्रा नानु भन्दै थिइन्, ‘त्यसमा पनि व्यवस्थापनको कुशलता र सुरक्षाको प्रबन्धले प्रत्येक महिला दर्शकले सम्मानित अनुभूति गरिरहेका थियौँ ।’

पहिलापहिला स्याङ्जा भनेपछि सबैले वालिङको मात्र नाम लिने गरेकामा कन्सर्टमार्फत पहिलोपटक आफ्नो स्थानको नाम अगाडि आउँदा स्थानीय निश्चल लम्साल खुसी मानिरहेका थिए ।

‘नेपथ्य कन्सर्टकै निम्ति यति धेरै दर्शक पुतलीबजार आइपुग्दा हाम्रो ठाउँको पहिचान पनि स्थापित हुन पुगेको छ,’ स्थानीय होटलका सञ्चालक निश्चल भनिरहेका थिए, ‘यो पहिचानसँगै अब हामीले यस ठाउँलाई विभिन्न आयोजनाको थलो बनाउने अठोट लिएका छौँ ।’

जमन गुरुङको परिवारले पहिलोपटक हुनीकोटमा होमस्टे सञ्चालन गरेको इतिहास छ । उनका अनुसार यस ठाउँले यति धेरै मानिस यसअघि कहिल्यै देखेको थिएन ।

‘एक त कन्सर्टले गर्दा धेरैले यस ठाउँलाई चिने,’ हाल परिवारको तेस्रो पुस्ताले सम्हालिरहेको स्थानीय होमस्टेका जमन भन्छन्, ‘त्यसमा पनि नेपथ्यका गायक अमृतले स्वदेश घुम्नुपर्ने सन्देश प्रवाह गर्दा हामीजस्ता व्यवसायी प्रभावित भएका छौँ ।’

भारतीय सेनामा रहेर हिमाचल प्रदेशको सिमलानजिकै सेवारत विजय गुरुङ बिदामा घर आएकै बेला कन्सर्ट हेर्न पाएकामा मक्ख छन् । ‘नेपथ्यको कन्सर्ट धेरै पहिलेदेखि हेर्न खोजेको थिएँ । यो पाला थुप्रै गाउँले र साथीभाइसहित उपस्थिति जनाउन पाएँ,’ उनी भन्दै थिए, ‘चिताएको भन्दा भव्य कन्सर्ट हेर्न पाएर असाध्यै खुसी छु ।’

कन्सर्ट आयोजना गर्ने अवसर पाएकामा स्थानीय आयोजक ‘स्याङ्जा युथ क्लब’ले कृतज्ञता प्रकट गरेको छ ।

‘कन्सर्ट सफलतापूर्वक सम्पन्न भएको मात्र छैन, यसबाट पुतलीबजारले गौरव महसुस गर्ने अवसर पनि प्राप्त गरेको छ,’ क्लबका अध्यक्ष बाबु थापाले प्रतिक्रिया दिए, ‘आउने दिनमा यस्ता थप कार्यक्रम गर्ने प्रेरणा पनि पाएका छौँ ।’

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

यो यात्राअन्तर्गत अबको कन्सर्ट म्याग्दीको बेनीबजारमा हुनेछ । प्रस्तुतिका लागि त्यहाँस्थित खुलामञ्च तय गरिएको छ । त्यसपछिको कन्सर्ट यस पटकको नेपाल यात्राकै अन्तिम प्रस्तुति हुनेछ । त्यसका लागि ब्यान्ड तनहुँको बेलचौतारा पुग्नेछ ।

यो यात्रा लगत्तै ब्यान्डले अस्ट्रेलियाको शृङ्खलाबद्ध यात्रा गर्दै छ । डिसेम्बर पहिलो साताबाटै उक्त मुलुकमा लोकरक बज्न थाल्नेछन् । अस्ट्रेलियाको यात्रामध्ये एडिलेड, सिड्नी, पर्थ र मेलबर्नका कार्यतालिका ब्यान्डले आफ्नो वेबसाइटबाट सार्वजनिक गरिसकेको छ ।

यी कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ । नेपथ्यको वेबसाइटबाट आफ्नो सिट सुरक्षित बनाउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!