काठमाडौं। नेपालका दुई युवा अनुसन्धानकर्ता शक्रिय पाण्डे र श्रीषा पाण्डेको वायु प्रदूषण तथा वातावरणीय असमानतासम्बन्धी अनुसन्धान विश्व बैंकको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने भएको छ।
नेपाल र भारतलाई केन्द्रमा राखेर गरिएको उक्त अनुसन्धान आगामी डिसेम्बर ८ र ९ मा अमेरिकाको वासिङ्टन डीसीस्थित विश्व बैंकको मुख्यालयमा आयोजना हुने ‘एआईको युगमा सर्वेक्षण मापनमा नवीनता : उत्कृष्ट जीवनका लागि उत्कृष्ट तथ्यांक’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुतिका लागि छनोट भएको हो।
अनुसन्धानले वायु प्रदूषणबाट कुन समुदाय बढी प्रभावित छन् भन्ने पहिचान गर्न प्रयोग गरिने तथ्यांक र मापन विधिको प्रभाव अध्ययन गरेको छ। विशेषगरी, भूउपग्रहबाट प्राप्त सूक्ष्म कण (पीएम २.५) सम्बन्धी तथ्यांक विश्लेषण गर्दै प्रदूषणको जोखिम मापन गर्दा छनोट गरिने समयावधि र भौगोलिक क्षेत्रले वातावरणीय असमानताको निष्कर्षमा पार्ने प्रभावलाई अध्ययनको केन्द्रमा राखिएको छ।
अनुसन्धानले वायु प्रदूषणको जोखिम मूल्यांकनमा प्रयोग गरिने मापन विधिले नै कुन समुदाय बढी प्रभावित देखिन्छन् भन्ने निष्कर्ष बदल्न सक्ने विषय उठाएको छ। यसले प्रदूषणको वास्तविक जोखिममा रहेका समुदायको पहिचान, जनस्वास्थ्य संरक्षण र प्रमाणमा आधारित नीतिनिर्माणका लागि तथ्यांक संकलन तथा विश्लेषणको विधि महत्वपूर्ण हुने देखाएको छ।
विशेषगरी पर्याप्त वायु गुणस्तर अनुगमन केन्द्र नभएका विकासशील मुलुकमा भूउपग्रहबाट प्राप्त तथ्यांकको प्रयोगले प्रदूषणको जोखिम पहिचान गर्न सहयोग पुर्याउन सक्ने अनुसन्धानको सान्दर्भिकता छ।
नेपालबाट सुरु भएको वातावरणीय प्रविधि संस्था वायुदृष्टिसँग आबद्ध पाण्डे र श्रीषा न्यून लागतका वायु गुणस्तर मापन उपकरण तथा वातावरणीय तथ्यांक प्रविधिको क्षेत्रमा सक्रिय छन्।
विश्व बैंकको जीवनस्तर मापन अध्ययन कार्यक्रम र अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयको सहकार्यमा आयोजना हुने सम्मेलनमा उनीहरूले भर्चुअल माध्यमबाट आफ्नो अनुसन्धान प्रस्तुत गर्नेछन्।
यस अनुसन्धानको सम्मेलनमा छनोटले नेपाल र भारतको वायु प्रदूषणसम्बन्धी अध्ययनलाई अन्तर्राष्ट्रिय अनुसन्धान मञ्चमा प्रस्तुत गर्ने अवसर दिएको छ। साथै, सीमित पूर्वाधार भएका मुलुकमा वातावरणीय तथ्यांक संकलन र विश्लेषणका वैकल्पिक विधिको उपयोगिताबारे थप बहसको सम्भावना पनि खोलेको छ।