Paywear Banner Desktop
Paywear Banner Desktop

गेमिङ र आईटी उद्योगलाई सहज बनाउन कर तथा नीतिगत सुधार गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालको गेमिङ तथा सूचना प्रविधि (आईटी) उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन कर तथा नीतिगत सुधार गर्ने बताएका छन्।

नेपाली गेम डेभलपर र आईटी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले यस क्षेत्रका समस्या समाधान गर्न सरकारले गृहकार्य अघि बढाएको जानकारी दिएका हुन्।

उनका अनुसार नेपालमै गेम बनाएर अन्तर्राष्ट्रिय बजारमा लोकप्रियता हासिल गरेका कम्पनीहरू छन्। उनले विश्वभर लोकप्रिय लुडो गेम २० करोडभन्दा बढी पटक र कलब्रेक गेम १५ करोडभन्दा बढी पटक डाउनलोड भएको उल्लेख गर्दै ती गेम नेपालीले बनाएको दाबी गरेका छन्।

प्रधानमन्त्री शाहले गेम डेभलपरहरूलाई बोलाएर उनीहरूका समस्या र चुनौतीबारे छलफल गरिएको बताएका छन्। गेम विकासलाई सहज बनाउँदै यस क्षेत्रलाई उद्योगका रूपमा अघि बढाउने विषयमा छलफल भएको र समस्या समाधानका लागि आवश्यक गृहकार्य सुरु गरिएको उनको भनाइ छ।

नेपालबाटै अन्तर्राष्ट्रिय स्तरका युनिकर्न कम्पनी स्थापना गर्न सहज हुने गरी विद्यमान नियम र व्यावसायिक वातावरण पुनरावलोकन गर्ने पनि उनले बताएका छन्।

आईटी उत्पादन तथा निर्यातको सम्भावना बढ्दै गएको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाली प्रतिभा र कम्पनीले सहज रूपमा आम्दानी गर्न तथा त्यसलाई पुनः लगानी गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन्। यसका लागि कर प्रणालीमा सहजीकरण, नीतिगत सुधार र अन्तर्राष्ट्रिय आम्दानीसम्बन्धी विद्यमान नियमलाई थप सहज बनाउने उनको योजना छ।

त्यसैगरी, गेमिङ तथा समग्र आईटी उद्योगको विकासका लागि गेम जाम, स्टार्टअप कार्यक्रम, ह्याकाथन र अन्य इकोसिस्टमसम्बन्धी गतिविधिमा लगानी गर्ने उनले बताएका छन्।

आईटी क्षेत्रका कम्पनी तथा उद्यमी र नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयबीच नियमित अन्तरक्रियाको व्यवस्था गर्ने विषय पनि आफ्नो योजनामा रहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

यद्यपि, कर सहुलियत, अन्तर्राष्ट्रिय आम्दानीसम्बन्धी नियममा परिवर्तन तथा अन्य नीतिगत सुधारको ठोस स्वरूप, समयसीमा र कार्यान्वयन प्रक्रिया भने उनको सार्वजनिक सन्देशमा खुलाइएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!