होबार्ट । अस्ट्रेलियाको तास्मानिया राज्यको राजधानी होबार्टमा नेपाली कला, संस्कृति, संगीत र परम्पराको उत्सवका रूपमा तेस्रो संस्करणको नेपाल महोत्सव २०२६ भव्य रूपमा आयोजना गरिएको छ ।
नोभेम्बर १४ शनिबार होबार्टस्थित संसद् भवन परिसर, सालामान्कामा आयोजित महोत्सवमा तास्मानियाकी गभर्नर महामहिम क्यारोलिन वेल्स प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् ।
‘एक देश, अनेक कथा’ भन्ने नारासहित आयोजित महोत्सवमा नेपाली समुदायका साथै अस्ट्रेलियाका विभिन्न समुदायका मानिसहरूको सहभागिता रहेको थियो ।
महोत्सवको मुख्य आकर्षणका रूपमा नेपालबाट आएका चर्चित कलाकार अनिल सिंह, प्रकाश सपूत र रचना रिमालले सांगीतिक प्रस्तुति दिएका थिए। उनीहरूका गीतमा दर्शकले भरपूर मनोरञ्जन लिएका थिए। नेपाली गीतसंगीतको माध्यमबाट नेपाल र नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने अवसरसमेत मिलेको थियो ।
त्यसैगरी, तास्मानियामा रहेका स्थानीय नेपाली कलाकार तथा विभिन्न सांस्कृतिक समूहले पनि गीत, संगीत र नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । नेपालका विभिन्न जातजाति र समुदायका मौलिक नृत्य, भेषभूषा र सांस्कृतिक प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाएको थियो ।

महोत्सवअघि दिउँसो १२ बजे म्याक्वेरी पोइन्टबाट सुरु भएको सांस्कृतिक झाँकी तथा परेड संसद् भवन परिसर पुगेर समापन भएको थियो । नेपाली मौलिक पोसाक, विभिन्न जातीय तथा सांस्कृतिक पहिचान झल्काउने झाँकी र नेपालको राष्ट्रिय झण्डासहित विभिन्न समुदायका मानिसहरू परेडमा सहभागी भएका थिए ।
महोत्सवमा नेपाली खानाका परिकार, हस्तकला तथा सांस्कृतिक सामग्रीका प्रदर्शनी कक्षसमेत राखिएका थिए । नेपाली परिकारको स्वाद लिँदै विभिन्न समुदायका मानिसहरूले नेपालको संस्कृति, परम्परा र जीवनशैलीबारे जानकारी लिने अवसर पाएका थिए ।
गैरआवासीय नेपाली संघ तास्मानियाको आयोजनामा भएको महोत्सव नेपाली समुदायको पहिचान, एकता र सांस्कृतिक सम्पदा प्रवद्र्धन गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा रहेको छ ।
आयोजकका अनुसार गत वर्षको नेपाल महोत्सवमा करिब दश हजार मानिस सहभागी भएका थिए । तास्मानियामा नेपाली समुदायको बढ्दो उपस्थिति र नेपाली संस्कृति तथा खानाप्रति अन्य समुदायको चासोले महोत्सवको लोकप्रियता पनि बढ्दै गएको छ ।
नेपाल महोत्सव नेपाली समुदायको सांस्कृतिक जमघटमा मात्र सीमित नभई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपालको कला, संगीत, परम्परा र पहिचान चिनाउने महत्वपूर्ण माध्यम बनेको छ । यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो भाषा र संस्कृति हस्तान्तरण गर्न तथा विभिन्न समुदायबीच आपसी सद्भाव र सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।