Paywear Banner Desktop
Paywear Banner Desktop
ममता काफ्ले भट्ट बेपत्ता तथा हत्या प्रकरण

पत्नीको शव टुक्राटुक्रा पारेको नरेश भट्टको बयान, बेडरुममा मृत भेटेको दाबी

मनेसस, भर्जिनिया । अमेरिकाको भर्जिनियामा पत्नीको हत्या अभियोग लागेका नेपाली मूलका नरेश भट्टले बेडरुमको भुइँमा पत्नी मृत अवस्थामा फेला परेपछि उनको शव टुक्राटुक्रा पारेको अदालतमा बयान दिएका छन्।

बिहीबार आफ्नो हत्या मुद्दाको सुनुवाइका क्रममा अदालतमा बयान दिँदै भट्टले शव टुक्र्याउने क्रममा शारीरिक शक्तिले साथ नदिएपछि काम रोकेको बताएका हुन्।

उनका अनुसार सन् २०२४ जुलाई ३० को बिहान उनले पत्नी ममता काफ्ले भट्टलाई बेडरुमको भुइँमा मृत अवस्थामा फेला पारेका थिए। ममताको अनुहार र भुइँमा बान्ता रहेको उनले बताए।

भट्टका अनुसार उक्त बान्तामा रगत, खानाका कण, औषधिका क्याप्सुल र कीरा मार्न प्रयोग गरिने शक्तिशाली कृषि रसायन सेल्फोसको अवशेष रहेको थियो।

उनले पत्नीलाई छोएको, बोलाउने प्रयास गरेको, सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) गरेको र ज्यान बचाउन अन्य उपाय अपनाएको अदालतमा बताए। त्यसपछि उनले पत्नीको शरीर टुक्र्याउने निर्णय गरेको र सुरुमा खुट्टालाई धडबाट अलग गर्ने प्रयास गरेको बयान दिए।

भट्टले पत्नीको शव बाथरुममा सारेको बताए। तर, शारीरिक शक्तिले साथ नदिएपछि पहिलो दिन नै शव टुक्र्याउने काम रोकेको उनको भनाइ थियो।

त्यसपछि उनले बेडरुमको ढोकामा बच्चा सुताउन र कपडा फेर्न प्रयोग गरिने स्टेसन राखेर बन्द गरेको बताए। त्यसपछि दम्पतीकी शिशु छोरीलाई लिन गएको, खाना खुवाएको र सुताएको उनले अदालतमा बताएका छन्।

भट्टले त्यस रात आफूलाई निद्रा नलागेको पनि बताए। परिवारले पूजा गर्ने कोठामा गएको वा नगएको भन्ने प्रश्नमा उनले डरका कारण त्यहाँ नगएको जवाफ दिएका थिए।

भट्टमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र शवको अपमान गरेको अभियोग लागेको छ। पत्नी बेपत्ता भएको घटनासँग सम्बन्धित यी अभियोगमा उनीमाथि मुद्दा चलिरहेको छ। ममताको शव अहिलेसम्म फेला परेको छैन। अगस्ट २०२४ मा पक्राउ परेदेखि भट्ट हिरासतमा छन्।

ममता यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्। उनी काममा उपस्थित नभएपछि प्रहरीले उनको खोजी तथा अनुसन्धान सुरु गरेको थियो।

सुरुमा प्रहरीसँगको कुराकानीमा भट्टले पत्नी हराएको भन्ने आफूलाई नलागेको बताएका थिए। उनले जुलाई २९, २०२४ मा अन्तिमपटक पत्नीलाई देखेको दाबी गरेका थिए। तर, ममताका साथीभाइ र परिवारका सदस्यले उनले आफ्नी शिशु छोरीलाई छाडेर नजाने बताएका थिए।

भट्टले अगस्ट ५, २०२४ मा पत्नी हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए। उनले अनुसन्धानकर्तालाई पत्नीले घर छाड्ने धम्की दिएको र सम्बन्धविच्छेदको कुरा गरेको बताएका थिए।

दम्पतीको मुख्य बेडरुम र बाथरुममा रगतका दाग फेला परेपछि प्रहरीले अगस्ट २२, २०२४ मा भट्टलाई पक्राउ गरेको थियो। अनुसन्धानकर्ताले कपालका टुक्रा रहेको एउटा विद्युतीय आरा पनि बरामद गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी १
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!