धनगढी । सुदूरपश्चिम भ्रमणका क्रममा बिरामी परेका पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई धनगढीबाट काठमाडौं लगिएको छ । अहिले साँझ नेपाली सेनाको स्काई ट्रकमार्फत मन्त्री लम्साललाई काठमाडौं लगिएको हो ।
नेपाल सरकारबाट निर्माणाधीन आयोजना अनुगमनका क्रममा बैतडी पुगेका बेला मन्त्री लम्साल बिरामी परेका थिए । उनलाई आइतबार दिउँसो सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टर बोलाएर बैतडीबाट धनगढी ल्याइएको थियो ।
मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलसहितका कर्मचारी समेत मन्त्रीको भ्रमण टोलीमा सहभागी छन् । मन्त्रीको स्वास्थ्यमा समस्या देखिएपछि अन्य कार्यक्रम प्रभावित भएका छन् ।
मन्त्री लम्सालले जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखको बैठकमा सहभागी भएर बझाङ जाने कार्यक्रम थियो ।
तर, आफैँ बिरामी परेपछि कार्यक्रम प्रभावित भएका छन् । विमानमार्फत शुक्रबार धनगढी पुगेका मन्त्री लम्सालले डोटीको बीपीनगर पुगेर धनगढी दिपायल द्रुत मार्गको अवलोकन गरेका थिए ।
त्यहाँबाट आफै गाडी चलाएर दार्चुलातिर लागेका थिए । दार्चुलामा उनले महाकाली करिडोर र जिल्ला अस्पतालको भौतिक संरचनाको अनुगमन निरीक्षण गरेका थिए ।