काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अटिजम भएका बालबालिकाका लागि स्कूल तथा अनुसन्धान केन्द्र निर्माण सुरु गरेको छ। महानगरपालिकाको वडा नम्बर २९ मा निर्माण हुने पाँचतले भवनको बुधबार कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरेकी छन्।
अभिभावक, बालबालिका, जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा डंगोलले भवनको जगपूजा गर्दै शिलान्यास गरेकी हुन्। भवन निर्माणका लागि ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा सम्झौता भएको महानगरपालिकाले जनाएको छ। निर्माण कार्य २०८४ चैत मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ।
शिलान्यासपछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले अटिजम भएका बालबालिकाका लागि स्कूल निर्माण महानगरपालिकाको सपना र अभिभावकको अपेक्षा पूरा गर्ने दिशामा महत्वपूर्ण कदम भएको बताइन्।
‘हामी काठमाडौँलाई समतामूलक, समावेशी, करुणा, ममता तथा मानवतामा आधारित सहर बनाउने प्रयासमा छौँ। यही क्रममा अटिजम भएका बालबालिकाका लागि स्कूल र अनुसन्धानका लागि भवन निर्माण गर्न लागेका हौँ,’ उनले भनिन्।
उनले अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई समाजबाट अलग राख्ने नभई उनीहरूको आवश्यकता सम्बोधन गर्दै समान सामाजिक व्यवहार र अवसर सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको बताइन्।
डंगोलले सरकार, अभिभावक र पेशाकर्मीबीचको साझेदारीबाट कार्यक्रमलाई दिगो बनाउन सकिने उल्लेख गर्दै भवन निर्माण सम्पन्न हुँदासम्म सञ्चालन कार्यविधि तयार पारिने जानकारी दिइन्।
‘विद्यालयको भौतिक संरचना पूरा हुञ्जेलसम्ममा सञ्चालन कार्यविधि तर्जुमा गरेर प्रणालीमा आधारित कार्यक्रम सञ्चालन गर्नेछौँ,’ उनले भनिन्।
वडाध्यक्ष कुश ढकालले अटिजम भएका बालबालिकाका लागि आवश्यक सेवा र सहयोग उपलब्ध गराउनु अभिभावकको पीडामा साथ दिनु भएको बताए। उनले स्कूल निर्माणलाई वडा नम्बर २९ को गौरवको योजनाका रूपमा व्याख्या गर्दै यसले अन्य स्थानीय तहलाई पनि यस्ता विद्यालय निर्माणका लागि प्रेरित गर्ने विश्वास व्यक्त गरे।

१८ हजार ५०० वर्गफिटको भवन
वडा नम्बर २९ को प्रशासनिक भवनको पूर्वतर्फ निर्माण हुने स्कूल तथा अनुसन्धान केन्द्र ४५० दशमलव ८० वर्गमिटर क्षेत्रफलमा फैलिनेछ।
भवनका डिजाइनर इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार १७ मिटर अग्लो पाँचतले भवनको लम्बाइ ९२ फिट हुनेछ। यसको पूर्वतर्फको चौडाइ ३५ फिट र पश्चिमतर्फ २२ फिट रहनेछ।
भवनको प्रत्येक तलाको क्षेत्रफल ३ हजार वर्गफिट हुनेछ भने ३ हजार ५०० वर्गफिटको भूमिगत तलासहित कुल क्षेत्रफल १८ हजार ५०० वर्गफिट हुनेछ।
भूमिगत तलामा ३० वटा दुईपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने व्यवस्था हुनेछ। भुइँतलामा खुला खेल्ने स्थान, भर्याङ, लिफ्ट र मुख्य प्रवेशद्वार रहनेछन्।
पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष बनाइनेछ। चौथो तलामा प्रशासन र अनुसन्धान कक्ष रहनेछ भने पाँचौँ तलामा बार्दली हुनेछ। आठ जना क्षमताको लिफ्टसहित शौचालय र कोठाहरूलाई पहुँचयुक्त बनाइने महानगरपालिकाले जनाएको छ।
भवन निर्माणका लागि सुरुमा १० करोड ९१ लाख ७९ हजार ६०२ रुपैयाँ लागत अनुमान गरिएको थियो। सार्वजनिक खरिद प्रक्रियाबाट ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा निर्माण सम्झौता भएको हो। निर्माण कम्पनीलाई २०८३ मंसिर ३ गते कार्यादेश दिइएको थियो।
अभिभावकमा आशा
अटिजम भएका बालबालिकाका लागि महानगरपालिकाले स्कूल निर्माण सुरु गरेपछि कार्यक्रममा उपस्थित अभिभावकले खुसी व्यक्त गरेका थिए।
अभिभावक सुनिता प्याकुरेलले स्कूल निर्माणले आफूहरूलाई ठूलो राहत हुने बताइन्। ‘हामीलाई बल्ल सास फेर्न सजिलो हुने भयो,’ उनले भनिन्।
३२ वर्षका अटिजम भएका छोराको हेरचाह गर्दै आएकी मीना ढुंगानाले यस्तो सुविधा पहिले नै उपलब्ध भएको भए आफूले पनि अन्य काम गर्ने अवसर पाउने बताइन्।
‘मेरो छोरो ३२ वर्षको भयो। उसको मैले नै पूरै समय सेवा गर्नुपर्छ। मैले अरू केही गर्न पाइनँ। अहिले भएको भए त केही गर्ने अवसर पनि पाइने रहेछ। महानगरपालिकाले हाम्रो लागि काम गरेको छ। खुसीको सीमा रहेन,’ उनले भनिन्।

अर्का अभिभावक मिसान वान्तावाले निजी क्षेत्रमा अटिजम भएका बालबालिकाको हेरचाह र शिक्षाका लागि मासिक ४० देखि ४५ हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको बताए।
‘सरकारले दिएको ठाउँ नहुँदा आर्थिक बोझ बोकी सक्ने नै थिएन। निजी क्षेत्रमा गयो भने ४० हजार र ४५ हजार मासिक खर्च देखाउँछन्। यो त बेहोर्नै सकिँदैन। यसैले महानगरपालिका त हाम्रा लागि अभिभावक मात्र होइन, जीवनदाता नै भएको छ,’ उनले भने।
कार्यक्रममा अटिजम केयर नेपालका अध्यक्ष डा. सुनिता मलेखु अमात्यले महानगरपालिकाको अभिभावकत्व पाउँदा खुसी लागेको बताइन्। विशेष स्कूल तथा पुनःस्थापना केन्द्रकी अध्यक्ष सविता उप्रेतीले सरकार, अभिभावक र बालबालिकालाई एकै ठाउँमा जोड्ने प्रयास प्रशंसनीय रहेको बताइन्।
अभिभावक लीलानाथ कँडेलले परिवारमा एक जना सदस्यलाई अटिजम हुँदा परिवारका अन्य सदस्यको रोजगारी तथा पेसागत जीवनसमेत प्रभावित हुने बताए। महानगरपालिकाको पहलले अभिभावकमा आफ्नो कामलाई निरन्तरता दिन सकिने आशा जागेको उनको भनाइ थियो।
अभिभावक अजय घिमिरेले अटिजमलाई सामाजिक समस्याका रूपमा पहिचान गरी महानगरपालिकाले काम अघि बढाएकोमा आभार व्यक्त गरे।
कार्यक्रममा वडा सदस्य रेनु श्रेष्ठ, वडा सचिव शम्भु बरालसहित अटिजम तथा बौद्धिक अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए। अभानी फाउन्डेसन, फ्रेण्ड्स अफ पेरेन्ट्स अफ चिल्ड्रेन विथ अटिजम, नेपाल अटिजम विद्यालय, असंवादी कल्याण संघ, निर्मल बाल विकास विद्यालय र किवानिज इन्टरनेसनलका प्रतिनिधिले पनि भवन निर्माणप्रति खुसी व्यक्त गरेका थिए।