Paywear Banner Desktop
Paywear Banner Desktop

काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य सेवा र आपत्कालीन उद्धारलाई थप प्रभावकारी बनाउन बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाको प्रस्तुतिकरण कार्यक्रममा बोल्दै शुक्रबारदेखि बाइक एम्बुलेन्स सेवा सुरु गरिएको जानकारी दिइन् ।

डंगोलका अनुसार महानगरपालिकाले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्दै महानगरवासीसहित काठमाडौंमा रहेका देशभरका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने प्रयास गरिरहेको छ ।

उनले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई केही हदसम्म सम्बोधन गर्ने उद्देश्यले महानगरपालिकाले अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्दै आएको बताइन् ।

उनले भनिन्, ‘हामीले हाम्रो स्वास्थ्यको चेकजाँच गर्नुपर्छ । महानगरपालिकाले विभिन्न अस्पतालहरूसँग, विभिन्न स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै आइरहेको छ र त्यसको उद्देश्य भनेको काठमाडौँको महानगरवासी लगायत अरू नेपालभरिका आम नागरिकहरू जो काठमाडौँमा हुनुहुन्छ । उहाँहरूको स्वास्थ्यमा पहुँच बढाउने अनि आवश्यकता परेको खण्डमा उहाँहरूको आर्थिक अवस्थाका कारणले गर्दाखेरि स्वास्थ्य सेवामा हामीले सेवा पाउन सकेनौँ भन्ने धेरै गुनासाहरू हुन्छन्, ती गुनासाहरूलाई केही हदसम्म हामीले सम्बोधन गर्न प्रयास गरेका छौँ ।’

डंगोलले महानगरपालिकासँग सहकार्य गरेका १३ वटा अस्पताल तथा स्वास्थ्य संस्थाका प्रतिनिधिसँग छलफल भएको जानकारी दिइन् । ती संस्थाले महानगरपालिकाबाट प्राप्त अनुदान कसरी खर्च भइरहेको छ, कति बिरामीले सेवा पाएका छन्, सेवाको प्रभाव कस्तो छ भन्ने विषयमा प्रस्तुतिकरण गरेको उनले बताइन् ।

महानगरपालिकाले स्वास्थ्य संस्थाको आवश्यकता र उपलब्ध तथ्यांकका आधारमा पूर्वाधार, उपकरण तथा प्रत्यक्ष स्वास्थ्य सेवामा सहयोग गर्दै आएको डंगोलले बताइन् । कतिपय अस्पतालमा पूर्वाधार निर्माणका लागि सहयोग गरिएको, कतिपयमा उपकरण खरिदका लागि तथा आवश्यकता भएका ठाउँमा प्रत्यक्ष स्वास्थ्य सेवाका लागि सहयोग गरिएको उनले जानकारी दिइन् ।

उनका अनुसार कीर्तिपुरमा यसपटक पूर्वाधार वा उपकरणमा नभई प्रत्यक्ष स्वास्थ्य सेवाका लागि सहयोग गरिएको छ । विशेषगरी जलनका बिरामी आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भनेर महानगरपालिकाले कोष स्थापना गरी आवश्यक बिरामीको उपचारमा खर्च गर्ने व्यवस्था गरेको उनले बताइन् ।

त्यस्तै, कान्ति बाल अस्पतालमा पूर्वाधार निर्माणका लागि सहकार्य भइरहेको र डल्लु क्षेत्रमा पनि पूर्वाधार विकासमा सहयोग गरिएको उनले जानकारी दिइन् । मनमोहन अस्पतालमा सघन उपचार कक्षको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको पनि उनले बताइन् ।

काठमाडौं महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा निःशुल्क एम्बुलेन्स सेवा पनि सञ्चालन गर्दै आएको छ । १०२ नम्बरमा फोन गरेर यो सेवा लिन सकिने व्यवस्था गरिएको छ । महानगरपालिकाले यो सेवा काठमाडौं महानगर क्षेत्रभित्र मात्र सीमित नराखी उपत्यकाका विभिन्न स्थानीय तहमा समेत विस्तार गरेको डंगोलले बताइन् ।

उनले बाढीका बेला समेत १०२ नम्बरको एम्बुलेन्स सेवामार्फत तत्काल उद्धार तथा स्वास्थ्य सेवाका लागि छिटो प्रतिक्रिया दिन सकिएको बताइन् ।

डंगोलका अनुसार काठमाडौंमा एम्बुलेन्सको संख्या कम भएर समस्या भएको होइन, समयमै बिरामीसम्म एम्बुलेन्स पुग्न नसक्नु मुख्य चुनौती हो । विशेषगरी काठमाडौंको अत्यधिक सवारी चाप र साँघुरा सडक तथा गल्लीका कारण कतिपय स्थानमा चारपाङ्ग्रे एम्बुलेन्स समयमा पुग्न कठिन हुने गरेको उनले बताइन् ।

उनले भनिन्, ‘काठमाडौंमा पर्याप्त एम्बुलेन्स छन्, तर समयमा सेवा दिन सकिएको छैन । ट्राफिक जामका कारण धेरैपटक एम्बुलेन्स समयमै पुग्न सक्दैन ।’

काठमाडौंको घना बस्ती, साँघुरा गल्ली तथा चारपाङ्ग्रे सवारीसाधन पुग्न नसक्ने स्थानलाई लक्षित गर्दै बाइक एम्बुलेन्स सेवा सुरु गरिएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!