काठमाडौं । अभिनेता कार्म कमै फिल्ममा नकारात्मक भूमिकामा देखिएका छन् । तर, उनले निर्वाह गरेका त्यस्ता भूमिका दर्शकले उत्तिकै मन पराएका छन् ।
उनै कार्म आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘हिमालयन गोल्ड’मा ‘प्रकाश’ नामक खलपात्रको भूमिकामा देखिँदैछन् । उनको भनाइमा यो पात्र परिस्थितिले निर्माण गरेको चरित्र हो ।
उनी आफ्नो चरित्रलाई पुरानो चलनचल्तीको भाषामा ‘गुण्डा’को संज्ञा दिन्छन् ।
‘मेरो चरित्र नै नेगेटिभ सेडको छ । पहिलाको चलनचल्तीको भाषामा भन्नुपर्दा गुण्डाको छ । तर, म त्यसलाई त्यसरी लिँदिनँ, किनकि यो एउटा पात्र हो । संयोगवश त्यो पात्रले आफ्नो परिस्थितिअनुसार काम गरेको हुन्छ,’ कार्म भन्छन्, ‘मेरो क्यारेक्टरले पनि परिस्थितिअनुसार यार्सागुम्बा लुट्नेदेखि लिएर यताउता गर्ने काम गर्छ । यसअघि ‘लुट’मा पनि बैंक लुट्ने क्यारेक्टर थियो । मान्छेहरू एउटा पात्रले किन त्यस्तो काम गर्छ भनेर प्रश्न गर्छन् । तर, त्यो काम परिस्थितिअनुसार हुँदै जाने हो नि ।’
कार्म ‘हिमालयन गोल्ड’मा काम गर्दाको अनुभव रमाइलो रहेको बताउँछन् ।
‘निर्देशक धीरज राजवंशीको यो पहिलो फिल्म हो । यसको स्क्रिप्ट, मसँगै अन्य पात्रहरू र समग्र पक्ष नै पृथक् छन् । मैले गर्न खोजिरहेका फिल्ममध्ये ‘हिमालयन गोल्ड’ पनि एक हो । किनकि यसको कथावस्तु र प्रस्तुतिशैली दुवै फरक छन्,’ उनी भन्छन् ।
कार्मले यसअघि धीरजका बुवासँग फिल्म ‘शेरबहादुर’मा सहकार्य गरेका थिए । उनका बुवासँग काम गरेको अनुभवले पनि धीरजसँग सहकार्य गर्न सहज भएको कार्म बताउँछन् । निर्देशक धीरजले आफूलाई कथा सुनाउँदा त्यसको प्रस्तुतिशैलीबारे समेत प्रस्ट पारेकाले फिल्ममा काम गर्न सजिलो भएको उनको भनाइ छ ।

‘हिमालयन गोल्ड’को छायांकनअघि पनि कार्म मुस्ताङ र डोल्पा पुगेका थिए । यद्यपि, त्यतिबेला उनी प्रत्यक्ष रूपमा यार्सागुम्बा संकलन गर्ने स्थानसम्म पुगेका थिएनन् । तर, त्यहाँ पुग्ने मानिसहरूसँग उनको घुलमिल भएको थियो ।
‘सन् १९९० को दशकपछि नै यार्सागुम्बा विश्वबजारमा फैलन थालेको हो । यार्सागुम्बा टिप्ने सिजनमा म डोल्पामै हुँदा विद्यालय बन्द गरेर बालबालिकासहित ठूलो समूह संकलनका लागि लेकतिर गएको देखेको छु,’ उनी सुनाउँछन् ।
उनी थप्छन्, ‘बालबालिकालाई समेत लिएर जानुको कारण उनीहरूको आँखा तेजिलो हुन्छ भन्ने रहेछ । त्यसैले साना यार्सागुम्बा पनि सजिलै देख्न र टिप्न सकिन्छ । मैले स्थानीयसँग कुरा गर्दा पहिलेपहिले लुटपाट र झगडा पनि हुन्थ्यो रे । अहिले भने अलि व्यवस्थित छ । यार्सागुम्बा संकलन सुरु हुनुअघि नै नेपाली सेना लेकमा पुगिसकेको हुन्छ ।’
कार्मका अनुसार यार्सागुम्बा संकलनका लागि विभिन्न समूहलाई छुट्टाछुट्टै क्षेत्र तोकिएको हुन्छ । पोखरा, काठमाडौं र सुर्खेतलगायत ठाउँबाट आएका मानिसले समेत यार्सागुम्बा संकलनका लागि टिकट लिने गर्छन् ।
‘यहाँबाट आएका कतिपय मानिस लेक लागेर बिरामी भएको पनि देखेको छु,’ उनी भन्छन् ।
कार्मले यार्सागुम्बाकै विषयमा एरिक भ्यालीले निर्माण गरेको वृत्तचित्रसहित अन्य निर्देशकका डकुमेन्ट्री पनि हेरेका छन् । त्यसैले यसबारे आफूलाई केही जानकारी भएको उनी बताउँछन् ।
‘अहिले त यार्सागुम्बाबाट पेयपदार्थसमेत बनाइएको छ । विश्वभर नै यसलाई शक्ति प्रदान गर्ने औषधिका रूपमा चित्रण गरिएको छ,’ उनी भन्छन् ।
कार्मको अनुभवमा मुस्ताङको भौगोलिक अवस्थिति नै फिल्म छायांकनका लागि चुनौतीपूर्ण थियो ।

‘ट्रेलरमा देखाइएको गुफामा हामीले छायांकन गरेका छौं । त्यो गुफा उच्च हिमाली क्षेत्रमा थियो । त्यति उचाइमा रहेको गुफामा छायांकन गर्नु आफैंमा चुनौती थियो । त्यहाँ धुलो उड्ने र अक्सिजनको कमी हुनेजस्ता समस्या थिए । यस्ता चुनौतीका बाबजुद पनि हामीले छायांकन गर्यौं । उक्त गुफामा एक्सन दृश्य खिच्न झन्डै पाँच दिन लागेको थियो,’ उनी सम्झन्छन् ।
कार्मका अनुसार परीक्षा लिम्बुले निर्वाह गरेको प्रमुख महिला पात्रको भूमिका, सुनिल थापाको अभिनय र कथाको प्रस्तुतिका कारण पनि ‘हिमालयन गोल्ड’ हेर्नलायक बनेको छ ।
‘अझ रोचक कुरा त के भने यो फिल्ममा गीत नै छैन । गीतबिनाको कथात्मक फिल्म हेर्न चाहनेका लागि ‘हिमालयन गोल्ड’ उपयुक्त फिल्म बनेको छ,’ उनी भन्छन् ।
ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा कार्मसँगै परीक्षा लिम्बु, सुनिल थापा, मेनुका प्रधान, राहुल मुखिया, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्यालको अभिनय छ ।
यस फिल्मको सबैभन्दा भावनात्मक पक्ष नेपाली फिल्मका वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम चलचित्र हुनु हो । निर्देशक राजवंशीका अनुसार थापाको अन्तिम अभिनयलाई नेपाल र भारतका दर्शकमाझ पुर्याउनु उनको योगदानप्रति उचित श्रद्धाञ्जली हुनेछ ।
हिमाली क्षेत्रको पृष्ठभूमिमा निर्माण गरिएको यो सर्भाइभल थ्रिलर फिल्मले अस्तित्वको संघर्ष, लोभ र विश्वासघातलाई मुख्य कथावस्तु बनाएको छ ।
फिल्मका निर्माता मीनबहादुर भाम हुन् भने शैलेन्द्र डी। कार्कीले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन् । सुयश ज्ञवाली सहनिर्माता र राजु राजवंशी कार्यकारी निर्माता छन् ।
निर्देशक राजवंशीकै कथा रहेको फिल्मको पटकथा दीपेन्द्र गौचन र धीरज राजवंशीले लेखेका हुन् । विशष्ठ प्रधानको छायांकन, निमेश श्रेष्ठको सम्पादन तथा सजल लोप्चन र करुण थापाको भिएफएक्स रहेको छ ।
फिल्मलाई भारतको प्रतिष्ठित वितरण कम्पनी एए फिल्म्सले भारतमा प्रदर्शन गर्ने भएको छ । एए फिल्म्सले यसअघि ‘बाहुबली’, ‘आरआरआर’ र ‘केजीएफ’ जस्ता चर्चित फिल्म वितरण गरेको थियो ।
मध्यपूर्वमा फार्स फिल्म मोसन पिक्चर्सले फिल्म वितरण गर्नेछ भने नेपालमा एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्मेवारी लिएको छ । जापानमा भने टोकियो ड्रिम इन्टरटेनमेन्टले फिल्म वितरण गर्नेछ ।