काठमाडौं । हामीले ‘कबड्डी’ का अघिल्ला चार श्रृंखलामा मुख्य पात्र काजीको प्रेम, धोका र परिवारको नोकझोंक देख्यौं । उसको जीवनमा धेरै मैयाँहरू आए तर, ऊ सँधै प्रेममा अनलक्की !
‘कबड्डी’ लाई नेपाली फिल्मको ‘युनिभर्स’ मान्ने हो भने, लोकप्रिय फ्रेन्चाइजको पाँचौ श्रृंखलामा नयाँ कथा, द्वन्द्व, थाकखोकाको हिमाली परिवेश र उद्यमशिलता अँगाल्न थाकखोलका गाउँलेले गर्ने संघर्ष पाँचौ श्रृंखलाभित्र रहेको बुझ्न सकिन्छ ।
पाँचौ श्रृंखला अर्थात, ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच ।’
कथावस्तुको संक्षिप्त संकेत सार्वजनिक ट्रेलरले गर्छ । १२ वर्षअघि रामबाबु गुरुङले हिमालपारिको जिल्ला मुस्ताङको थाकखोलास्थित कालीगण्डकी किनारको थकाली गाउँलाई परिवेश बनाएर काजीको कथा भन्न थालेका थिए । दशकपछि गुरुङले अघिल्ला चारै श्रृंखलाको विरासतलाई पाँचौमा निरन्तरता दिएका छन् ।
पाँचौ फिल्मको ट्रेलरमा हामीले काजीको जीवनमा आएकी नयाँ सोल्टिनी (सिर्जना गुरुङ), नयाँ पाहुना (विपिन कार्की), बीके, छन्त्याल र परिवारका अन्य सदस्यबीचको नोकझोंक त देख्छौं नै, दशकपछि मुख्य पात्र काजीको जीवन, सोचाइ र भोगाइमा मच्योर्डनेस पनि महसुस गर्छौं ।
ट्रेलरको सुरुमा काजी (दयाहाङ राई)को पात्र भन्छ- जागिर त म मुलालाई कसले दिन्छ र खानू ? सत्य स्वीकार्न गाह्रो हुने रहेछ । बिजनेस गर्छु । होटल खोलेर पर्यटकको सेवा गर्छु । शान्ति वाटिका रिसोर्ट ।’

आफ्ना हितैषीहरू बिके र छन्याललाई दायाँबायाँ राखेर काजीले भनेका यी वाक्यहरू पाँचौ श्रृंखलाको बटमलाइन मात्र होइनन, पछिल्लो १२ वर्षमा काजीको जीवनमा आएको परिपक्वता र परिवर्तनका सन्दर्भ हुन् । यहाँनेर निर्देशक गुरुङले पात्रको जीवन, बदलिँदो समय र सामाजिक आयाममा आएका परिवर्तनलाई प्रस्तुत गरेका छन् । ‘सत्य स्वीकार्न गाह्रो रहेछ’ भन्ने काजीको स्टेटमेन्ट उसभित्र आएको ठूलो बदलाव हो ।
यस्तो लाग्छ, काजीको जीवनको प्राथमिकता अब प्रेम र परिवारभन्दा उद्यमशिलता र पैसा कमाउने तिर निर्देशित छ । यसबाहेक, हामीले ‘कबड्डी’ श्रृंखलामा हेर्दै आएका मौलिक तत्वहरू पनि निर्देशक गुरुङले ‘लोएल अडिएन्स’का लागि राखिदिएका छन् । अर्थात नयाँ श्रृंखलामा पनि सोल्टिनी, नयाँ पाहुनासँगको लफडा र रोमान्सका किस्सा छँदै छन् ।
नयाँ श्रृंखलामा काजीले आफ्नै भोगाइ, परिवारको अपेक्षा, होटल खोल्न गर्नुपर्ने संघर्ष, तिर्न बाँकी ऋणको भाका लगायत धेरै पक्ष र पात्रसँग लड्नुपर्छ । हुनसक्छ, यी तत्व नै ‘कबड्डी’का गुण हुन् । डेब्यू गर्ल सिर्जना गुरुङ, श्रृंखलामा डेब्यू गरेका विपिन कार्की, माओत्से गुरुङ, पुस्कर गुरुङ लगायतका पात्र फिल्मका दर्शनीय पक्ष हुन् ।
घरेलु फिल्ममा आदिवासी समुदायको कथालाई मूलधारसँग जोड्न ‘कबड्डी’ श्रृंखला र त्यसमा पनि रामबाबुको योगदान छ । धेरै कुरा फिल्म हेरिएपनि भन्न सकिएला, ‘कबड्डी’का दर्शकका लागि यो फिल्म एउटा २ घण्टाको फिल्म मात्र हुनेछैन । पछिल्लो दशकमा जलवायु परिवर्तनले थाकखोलामा ल्याएको जीवनचर्याको परिवर्तन, कुनैबेला खच्चर र घोडाले गुल्जार हुने थाकखोलमा मोटर पुगेपछि त्यसले पात्रको दैनिकीमा ल्याएको चुनौतिको वर्णन पनि यसले गर्छ ।
‘कबड्डी ५’ बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको हो । रामबाबुसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) यस फिल्मका निर्माता हुन् । यति मात्र होइन, हामीले फिल्मभित्र अघिल्ला श्रृंखलाका मैयाँ (रिश्मा गुरुङ), शान्ति मिस (मिरुना मगर) लाई पनि देख्न पाउँछौं । ‘कबड्डी ५’ आगामी कात्तिक ६ गते (२३ अक्टोबर)मा रिलिज हुँदैछ ।