Paywear Banner Desktop
Paywear Banner Mobile

ट्रम्पको हस्तक्षेपपछि एनभिडियाको सीईओमा जेन्सेन हुआङको पुनरागमन

वासिङ्टन (एपी) । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले जेन्सेन हुआङलाई कम्पनीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनर्बहाली गरेको छ। कम्पनीको सञ्चालक समितिले सोमबार अप्रत्याशित रूपमा उनलाई पुनः नेतृत्वमा फर्काउने निर्णय गरेको हो।

हुआङलाई पुनः जिम्मेवारी दिने उनको प्रस्ताव केही दिनअघि मात्रै सञ्चालक समितिले अस्वीकार गरेको थियो।

चिनियाँ जासुस भएको आशंका गरिएकी एक महिलासँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेपछि हुआङ विवादमा तानिएका थिए। उनीसँगको सम्बन्ध र त्यससँग जोडिएका घटनाक्रमले एनभिडियामा नेतृत्व परिवर्तनको अवस्था सिर्जना गरेको थियो।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष हार्भी सी जोन्सले जारी गरेको विज्ञप्तिमा हुआङ नै एनभिडियाको नेतृत्वका लागि उपयुक्त व्यक्ति भएको बताएका छन्।

उनले भनेका छन्, ‘सञ्चालक समितिको विश्वास छ कि जेन्सेन एनभिडियाको नेतृत्व गर्न सही व्यक्ति हुन्। उनको पुनर्बहाली कम्पनीका सेयरधनी, कर्मचारी, साझेदार र ग्राहकको हितमा छ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार हुआङसँग कुराकानी गरेको र पुनर्बहालीपछि उनले पहिलेभन्दा अझ बढी मेहनत गर्ने प्रतिबद्धता जनाएको बताएका छन्।

सीएनबीसीसँग कुरा गर्दै ट्रम्पले हुआङको पुनर्बहालीमा आफ्नो हस्तक्षेप महत्त्वपूर्ण रहेको दाबी गरे। उनले भने, ‘मलाई लाग्छ, मेरो हस्तक्षेप निकै महत्त्वपूर्ण थियो।’

ट्रम्पले आफ्नो प्रशासनले हुआङलाई पुनः जिम्मेवारी दिँदा राष्ट्रिय सुरक्षासम्बन्धी कुनै समस्या नहुने आश्वासन एनभिडियालाई दिएको पनि बताए।

‘सञ्चालक समितिले हामीले चाहेको निर्णय गर्‍यो,’ ट्रम्पले भने।

सञ्चालक समितिको बैठकमा आफू प्रत्यक्ष सहभागी भएको हो वा होइन भन्नेबारे भने ट्रम्पले स्पष्ट जवाफ दिएनन्। यद्यपि उनले भने, ‘मूलतः सञ्चालक समितिमा मेरो प्रतिनिधित्व थियो।’

हुआङमाथि भने अझै विभिन्न निकायको निगरानी र अनुसन्धान जारी छ। उनीसँगको सम्बन्ध तथा एनभिडियाका अत्याधुनिक चिप्स चीनतर्फ अन्यत्रै मोडिएको आशंकालाई लिएर अमेरिकी संसद्का विभिन्न समितिले अनुसन्धान गरिरहेका छन्।

राष्ट्रिय सुरक्षामा पर्न सक्ने प्रभावबारे अनुसन्धान गरिरहेका अमेरिकी प्रतिनिधिसभाका तीन समितिले आगामी साता हुआङसँग अन्तर्वार्ता लिने कार्यक्रम तय गरेका छन्।

पुनर्बहालीपछि जारी गरेको वक्तव्यमा हुआङले कम्पनीमा फर्किन पाउँदा सम्मानित महसुस गरेको बताएका छन्। उनले यो जिम्मेवारी ‘अत्यन्त विनम्रता र नवीकृत प्रतिबद्धतासहित’ स्वीकार गरेको उल्लेख गरेका छन्।

उनले सञ्चालक समितिका अध्यक्ष जोन्स, अन्तरिम सीईओ कोलेट क्रेस र कठिन परिस्थितिमा कम्पनीको नेतृत्व सम्हालेको कार्यकारी टोलीलाई धन्यवाद दिएका छन्। क्रेस पुनः प्रमुख वित्तीय अधिकृत ९सीएफओ० को जिम्मेवारीमा फर्किनेछिन्।

हुआङले भनेका छन्, ‘म हाम्रा कर्मचारी, सेयरधनी, उद्योगका नेताहरू र विश्वभरका साझेदारले देखाएको असाधारण समर्थनप्रति पनि गहिरो आभारी छु। सबैभन्दा बढी म आफ्नो परिवारको माया र समर्थनप्रति कृतज्ञ छु। म काममा फर्किन आतुर छु।’

हुआङको पुनर्बहालीको घोषणा सार्वजनिक भएलगत्तै सोमबार अमेरिकी सेयर बजार खुल्दा एनभिडियाको सेयर मूल्य ३३ प्रतिशतले बढेर प्रतिकित्ता १६५.५७ डलर पुगेको थियो। यद्यपि यो मूल्य गत महिना कायम भएको कम्पनीको अहिलेसम्मकै उच्च २३९.२४ डलरभन्दा निकै कम हो।

ट्रम्प र हुआङबीच व्यक्तिगत सम्बन्ध पनि निकट रहेको बताइन्छ। राष्ट्रपतिले आइतबार राति नै हुआङलाई पुनर्बहाली गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए।

ट्रम्पका अनुसार महान्यायाधिवक्ता टोड ब्लान्चेले हुआङले गैरकानुनी काम गरेको प्रमाण सरकारसँग नभएको पुष्टि गरेका थिए।

ट्रम्पले सोमबार सामाजिक सञ्जालमार्फत हुआङको पुनर्बहालीलाई ‘सही र उचित निर्णय’ भन्दै स्वागत गरेका छन्।

उनले लेखेका छन्, ‘कम्पनी मात्र होइन, अमेरिकी अर्थतन्त्रको सफलता र समृद्धि सुनिश्चित गर्न पनि देशलाई एनभिडियामा जेन्सेनको नेतृत्व आवश्यक छ।’

यद्यपि ट्रम्पले एनभिडियालाई आफ्नै आन्तरिक अनुसन्धान जारी राख्न पनि आग्रह गरेका छन्।

हुआङले विवाहबाहिर सम्बन्ध रहेको स्वीकार गरेपछि एनभिडिया पछिल्लो एक महिनादेखि अस्थिर परिस्थितिबाट गुज्रिरहेको छ। ती सम्बन्धमध्ये चिनियाँ व्यवसायी एलिस हुआङसँगको सम्बन्ध पनि समावेश छ। उनलाई चीनका लागि जासुसी गरेको आशंका गरिएको छ।

हुआङको स्वीकारोक्तिपछि एनभिडियाको सेयर बजारमा उतारचढाव देखिएको थियो। यस घटनाले अमेरिकी राजनीतिक तथा सरकारी वृत्तमा पनि चासो बढाएको थियो।

महान्यायाधिवक्ता ब्लान्चेले यसै महिना अर्को विषयमा आयोजित पत्रकार सम्मेलनमा एलिस हुआङ चिनियाँ जासुस हुन् वा होइनन् भन्नेबारे न्याय मन्त्रालयले कुनै निष्कर्षमा नपुगेको बताएका थिए।

‘मैले यति मात्र भन्न सक्छु, न्याय मन्त्रालयले यस विषयमा अनुसन्धान गरिरहेको छ वा त्यसलाई हेरिरहेको छ,’ ब्लान्चेले भनेका थिए।

सिंगापुरमा मुख्यालय रहेको क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिडविरुद्ध पनि अमेरिकी न्याय मन्त्रालयले फौजदारी अनुसन्धान गरिरहेको छ। एलिस हुआङ उक्त कम्पनीमा कार्यकारी पदमा थिइन्। अनुसन्धान सम्भावित निर्यात नियन्त्रण उल्लंघनसँग सम्बन्धित छ।

हुआङको पुनर्बहाली हुने वा नहुने भन्नेबारे केही दिनदेखि अड्कलबाजी भइरहेको थियो।

यसबीच उनका समर्थकहरूले उनलाई पुनः सीईओ बनाउन माग गर्दै अनलाइन हस्ताक्षर अभियान सञ्चालन गरेका थिए। त्यसमा एनभिडियाका वर्तमान तथा पूर्वकर्मचारी, लगानीकर्ता र सिलिकन भ्यालीका अन्य समर्थकले हस्ताक्षर गरेका थिए। एलन मस्क पनि अभियानका समर्थकमध्ये एक थिए।

हुआङले गत साता अनलाइन सन्देश जारी गर्दै कम्पनीले आग्रह गरेमा पुनः जिम्मेवारी सम्हाल्न आफू सम्मानित महसुस गर्ने बताएका थिए। तर त्यतिबेला सञ्चालक समितिले उनलाई पुनर्बहाली गर्ने आफ्नो योजना नरहेको जवाफ दिएको थियो।

प्रविधि उद्योगमा यस्तो घटना पहिलो भने होइन। पारदर्शितासम्बन्धी चिन्ताका कारण पदबाट हटाइएका र कर्मचारी तथा लगानीकर्ताको समर्थनपछि पुनः जिम्मेवारीमा फर्किएका अन्य नेतृत्वकर्ता पनि छन्।

तीन वर्षअघि ओपनएआईका सहसंस्थापक साम अल्टम्यानलाई कम्पनीभित्रको शक्ति संघर्षपछि सीईओ पदबाट हटाइएको थियो। तर कर्मचारीको व्यापक विरोधपछि केही दिनमै उनलाई पुनर्बहाली गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!