नयाँदिल्ली । भारतको केन्द्रीय मन्त्रिपरिषद्ले लोकसभाका सिट सबै राज्यमा ५० प्रतिशत बढाउने प्रस्तावसहितको संविधान संशोधन विधेयकलाई स्वीकृति दिएको छ।
प्रस्तावअनुसार प्रत्येक राज्यको लोकसभामा रहेको वर्तमान सिट हिस्सेदारी सन् २०५१ सम्म यथावत् राखिनेछ।
महिला आरक्षणलाई निर्वाचन क्षेत्र पुनर्निर्धारण (डिलिमिटेसन) मार्फत कार्यान्वयन गर्ने उद्देश्यले सरकारले यो कदम अघि बढाएको हो।
यसअघि अप्रिलमा सरकारले ल्याएको प्रस्ताव विपक्षी दलहरूले लोकसभामा रोकेका थिए। त्यतिबेला सबै राज्यमा समान रूपमा सिट बढाउने आश्वासन भाषणमा दिइए पनि विधेयकमा त्यसको स्पष्ट व्यवस्था नरहेको भन्दै आलोचना भएको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ विधेयकलाई स्वीकृति दिएको हो।
यसको एक दिनअघि लोकसभा सचिवालयले संसद्को चारदिने बैठक नोभेम्बर ३० देखि सुरु हुने र सम्भवतः डिसेम्बर ३ मा सकिने जानकारी दिएको थियो। आवश्यकताअनुसार बैठकको अवधि परिवर्तन हुन सक्नेछ।
मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै १३१औँ संविधान संशोधन विधेयक फेरि चर्चामा आएको छ। यसअघि अप्रिल १७ मा बजेट अधिवेशनअन्तर्गतको तीनदिने विशेष बैठकमा उक्त विधेयक लोकसभाबाट पारित हुन सकेको थिएन।
त्यतिबेला विधेयकले लोकसभाको अधिकतम सिट संख्या ५५० बाट बढाएर ८५० पुर्याउने प्रस्ताव गरेको थियो। त्यसअनुसार राज्यबाट अधिकतम ८१५ र केन्द्रशासित प्रदेशबाट ३५ सदस्य रहने व्यवस्था प्रस्ताव गरिएको थियो।
सन् २०२९ को निर्वाचनसम्म महिलाका लागि ३३ प्रतिशत आरक्षण कार्यान्वयन गर्ने लक्ष्य पनि विधेयकमा राखिएको थियो। हाल लोकसभामा ५४३ सदस्य छन्।
त्यतिबेला विधेयकको पक्षमा २९८ र विपक्षमा २३० मत परेको थियो। विधेयक पारित हुन उपस्थित भएर मतदान गर्ने सदस्यको दुईतिहाइ अर्थात् ३५२ मत आवश्यक थियो।
सन् २०१४ मा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) सरकार सत्तामा आएपछि सरकारले ल्याएको संविधान संशोधन विधेयक पहिलोपटक लोकसभाबाट असफल भएको थियो।
केन्द्रीय गृहमन्त्री अमित शाहले अन्तिम समयमा प्रत्येक राज्यमा ५० प्रतिशत सिट बढाउने प्रस्ताव गरे पनि विपक्षी दलहरू एकजुट भएर विधेयक रोक्न सफल भएका थिए।
त्यसपछि सरकारले उक्त विधेयकसँग सम्बन्धित अन्य दुई विधेयक पनि फिर्ता लिएको थियो। ती विधेयक पारित गर्न सामान्य बहुमत आवश्यक थियो।
तीमध्ये एउटा विधेयकले पछिल्लो उपलब्ध जनगणनाका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्ने व्यवस्था प्रस्ताव गरेको थियो। त्यसको अर्थ सन् २०११ को जनगणनालाई आधार बनाउनु थियो। अर्को विधेयक केन्द्रशासित प्रदेशहरूमा आवश्यक परिवर्तन कार्यान्वयन गर्नेसँग सम्बन्धित थियो।
विधेयकमा सबैभन्दा ठूलो विवाद थपिने सिट राज्यहरूबीच कसरी बाँडफाँट गर्ने भन्ने विषयमा थियो।
सन् २०११ को जनगणनाको जनसंख्याका आधारमा सबै ८५० सिट बाँडफाँट गर्दा लोकसभामा दक्षिण भारतीय राज्यहरूको सिट हिस्सा घट्न सक्ने प्रक्षेपण गरिएको थियो।