मुम्बई । भारतीय अभिनेता इमरान खानलाई अक्टोबर २८ सम्म भारत छाड्न निर्देशन दिँदै मुम्बई प्रहरीले सूचना जारी गरेको छ।
अक्टोबर १० मा मुम्बईको अगस्ट क्रान्ति मैदानमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै आयोजित विरोध प्रदर्शनमा सहभागी भएपछि उनी प्रहरीको कारबाहीमा परेका हुन्।
उक्त प्रदर्शनका क्रममा प्रहरीले इमरानलाई हिरासतमा लिएको थियो। त्यसअघि उनले जुलाई २२ र २३ मा पेपर लिकविरुद्ध क्रकोच जनता पार्टीले आयोजना गरेको विरोध प्रदर्शनमा पनि सहभागिता जनाएका थिए।
मिडिया रिपोर्टका अनुसार इमरान अमेरिकी नागरिक हुन्। विदेशी नागरिक भएर भारतमा विरोध प्रदर्शनमा सहभागी भएको आरोपमा उनीमाथि अध्यागमन ऐनका सम्बन्धित प्रावधानअनुसार मुद्दा चलाइएको छ।
अमेरिकाको विस्कॉन्सिनमा जन्मिएका इमरानसँग जन्मजात अमेरिकी नागरिकता र अमेरिकी राहदानी छ। भारतमा बस्न र काम गर्न भने उनले ओभरसिज सिटिजनसिप अफ इन्डिया (ओसीआई) कार्ड प्रयोग गर्दै आएका छन्।
क्रकोच जनता पार्टीले अक्टोबर १० मा मतदाता सूचीको विशेष गहन पुनरावलोकन (एसआईआर) को विरोध गर्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागसहित प्रदर्शन आयोजना गरेको थियो। मुम्बईमा भएको उक्त प्रदर्शनमा इमरान पनि सहभागी भएका थिए।
इमरानका अनुसार प्रहरीले उनलाई अन्य प्रदर्शनकारीसँगै नियन्त्रणमा लिएर रिहा गर्नुअघि करिब दुई घण्टासम्म प्रहरी भ्यानमा घुमाएको थियो। उनले आफूलाई सडकबाट उठाएर कुनै कारण नबताई जबर्जस्ती भ्यानमा राखिएको दाबी गरेका थिए। प्रहरीले उनको मोबाइल फोनसमेत जफत गरेको बताइएको छ।
