काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ विराटनगर पुगेका छन् । विराटनगर विमानस्थलमा ओर्लिएका गुरुङलाई गुरुङ समुदायका प्रतिनिधिहरूले स्वागत गरेका थिए। उनी मोरङका प्रमुख जिल्ला अधिकारीको गाडीमा विमानस्थलबाट बाहिरिएका थिए।
विमानस्थलमा सञ्चारकर्मीहरूले शेरबहादुर देउवा र प्रचण्डको घरमा जलेको पैसाको अनुसन्धान कहाँ पुग्यो भनेर सोधेका थिए । उनले सबै तपाईंहरूलाइ किन भन्नू भनेर जवाफ दिएका थिए ।
विराटनगर आएपछि गृहमन्त्री गुरुङ रानीस्थित प्रदेश प्रहरी कार्यालय पुगेका थिए। प्रहरी स्रोतका अनुसार उनी राति प्रदेश प्रहरी कार्यालयमै बसेका थिए। तर, उनी कुन औपचारिक कार्यक्रममा सहभागी हुन विराटनगर आएका हुन् भन्ने विषय सार्वजनिक भएको छैन । तथापि, उनी सुनसरीमा हुने गुरूङ समुदायको एक कार्यक्रम सहभागी हुन आएका हुन् ।
प्रदेश प्रहरी कार्यालय पुगेपछि गृहमन्त्री गुरुङ आफैँ स्कुटर चलाएर जोगबनी नाकासम्म पुगेका थिए। मध्यरातिको समयमा उनले आफ्नो सुरक्षामा खटिएका पीएसओलाई पछाडि राखेर स्कुटर चलाउँदै जोगबनी नाकाको अवलोकन गरेका थिए।
गृहमन्त्री स्वयं स्कुटर चलाएर सीमावर्ती नाकासम्म पुगेपछि उनको मध्यरातिको भ्रमण चर्चाको विषय बनेको छ। यद्यपि, जोगबनी नाकाको भ्रमणको उद्देश्य र त्यसक्रममा भएका गतिविधिबारे औपचारिक विवरण सार्वजनिक भएको छैन।