काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै राष्ट्रिय विपत्ति र पीडामा परेका परिवारसँग खुसी बाँडेर दसैं मनाउन आग्रह गरेका छन्।
विजयादशमीको शुभकामना सन्देश जारी गर्दै सभापति थापाले यस वर्षको दसैं राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउनुपरेको उल्लेख गरेका छन्। उनले धेरै परिवार दुःख, पीडा र कठिनाइमा रहेकाले चाडपर्वको खुसी आफ्नो घरआँगनमा मात्र सीमित राख्न नहुने बताएका छन्।
दुःखमा परेका परिवारको पीडामा मलम लगाउन, आफ्नो खुसी बाँड्न र एकअर्काको सहारा बन्न उनले सबैलाई आग्रह गरेका छन्।
थापाले विजयादशमीले सबैमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।