सन् २०२५ सेप्टेम्बरयता नेपालका परम्परागत राजनीतिक प्रक्रियामा आएको विच्छेदले नयाँ पुस्ताका युवा र गतिशील नेताहरूलाई उदाउने अवसर दिएको छ। भारतको यी नयाँ नेताहरूसँग तुलनात्मक रूपमा कम सम्पर्क थियो। त्यसैले प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमण दुवै देशका राजनीतिक नेतृत्वलाई एकअर्काको अवस्था बुझ्न र आपसी विश्वास विकास गर्न निकै महत्त्वपूर्ण थियो।
यो महत्त्वाकांक्षी पुस्ता हो, जसले विगतको राजनीतिक बोझ बोकेको छैन। यो पुस्ता आर्थिक साझेदारी र विकास कूटनीतिमा विश्वास गर्छ। यो सन्देश भारतलाई पनि उपयुक्त लागेको छ। नेपालमा भारतले सामना गर्दै आएको एउटा समस्या भारतविरोधी राष्ट्रवादी भावना हो, जसले विकास साझेदारीमा ठूलो अवरोध सिर्जना गर्दै आएको छ। नेपालको नयाँ सरकार वैचारिक आग्रहभन्दा व्यावहारिक दृष्टिकोणमा आधारित छ। नेपालको विकासका लागि भारतको सहयोग महत्त्वपूर्ण रहेको उसले स्वीकार गरेको छ।
सायद यस भ्रमणको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि पहिलोपटक दुवै देशले तयार पारेको व्यापक र भविष्यकेन्द्रित दृष्टिपत्र हो। यसको नाम ‘विकसित भारत र समुन्नत नेपाल’ राखिएको छ। यसले सहकार्यका १० वटा स्तम्भ, प्रत्येक क्षेत्रका प्राथमिकताका विषय र कार्यान्वयनका प्रक्रिया पहिचान गरेको छ।
नेपालका परराष्ट्र सचिव र भारतीय राजदूतको नेतृत्वमा रहने अनुगमन संयन्त्रले प्रत्येक छ महिनामा यसको कार्यान्वयनको समीक्षा गर्नेछ। विगतमा भारतले प्रतिबद्धता जनाउने तर त्यसअनुसार काम नगर्ने गरेको गुनासो सुनिँदै आएको थियो। अब प्रतिबद्धता र कार्यान्वयनबीच तालमेल मिलाउन सकिने प्रक्रिया स्थापित भएको छ। मेरो विचारमा, भारतले आफ्ना प्रत्येक छिमेकी देशसँग यस्तो व्यवस्था गर्नुपर्छ।
भारतले नेपाललाई उपलब्ध गराएको १५ हजार करोड रुपैयाँको विकास सहायता प्याकेज अहिलेसम्मकै ठूलो हो। यसमा ३ हजार ५०० करोड रुपैयाँ अनुदान र ११ हजार ५०० करोड रुपैयाँ ऋण सहायता समावेश छ। यसले नेपालको नयाँ सरकारप्रति नयाँ दिल्लीको समर्थन देखाउँछ।

भोटेकोशी बाढीका बेला भारतले तत्काल सहयोग उपलब्ध गराएको थियो। सन् २०१५ को भूकम्पमा पनि भारतले त्यसैगरी पहिलो सहयोगीका रूपमा भूमिका खेलेको थियो। जलवायु परिवर्तन र यसले जनजीवन तथा जीविकोपार्जनमा पार्ने प्रभाव द्विपक्षीय कार्यसूचीको अभिन्न हिस्सा बनेका छन्। यसमा पूर्वसूचना प्रणाली र जलविज्ञानसम्बन्धी तथ्यांक आदानप्रदानलाई विशेष प्राथमिकता दिइएको छ।
बालेन्द्र शाहले न्यूयोर्कमा संयुक्त राष्ट्रसंघलाई सम्बोधन गर्दा भारत, नेपाल र चीनबीच त्रिपक्षीय सहकार्यको प्रस्ताव गरेका थिए। भारतले यस प्रस्तावलाई सकारात्मक रूपमा विचार गर्नुपर्छ।
विशेषगरी क्रिकेटसहित खेलकुद कूटनीतिमा दिइएको जोड र भारत तथा नेपालका स्टार्टअप इकोसिस्टमलाई जोड्ने प्रयास महत्त्वाकांक्षी नयाँ पुस्तासँग सम्बन्ध विस्तार गर्ने उत्कृष्ट माध्यम हुन्।
तर, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा अन्तिम सहमति हुन नसकेकोमा म केही निराश छु। यो प्रस्तावित संयुक्त जलविद्युत्, सिँचाइ तथा बाढी नियन्त्रण बाँध परियोजना हो। यद्यपि, दुवै देशका प्रधानमन्त्री विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम रूप दिन प्रक्रिया तीव्र बनाउन सहमत हुनु सकारात्मक पक्ष हो।
भ्रमणका क्रममा सीमा विवाद र सन् १९५० को शान्ति तथा मैत्री सन्धिसँग सम्बन्धित विषयमा कुनै ठोस प्रगति नभएको भन्दै नेपालमा केही आलोचना पनि भएको थियो। यी विषयले आर्थिक साझेदारीलाई नकारात्मक असर पार्न नदिई तिनबारे छलफल सुरु गर्नु महत्त्वपूर्ण छ।
सन् २०२६ मार्चमा सत्तामा आएका बालेन्द्र शाह अझै अत्यन्त लोकप्रिय छन्। उनको सरकारसँग बलियो जनादेश छ। तर, नेपालमा सरकारले एकैपटक धेरै मोर्चा खोलिरहेको भन्ने धारणा पनि छ। राज्य सञ्चालनको गति स्वाभाविक रूपमा सुस्त हुन्छ। यी युवा नेताहरू छिटो काम गर्न चाहन्छन् र काम गर्दै सिकिरहेका छन्।
आगामी दिनमा हाम्रो सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता आर्थिक साझेदारी, विशेषगरी ऊर्जा सहकार्यमा केन्द्रित रहनु हो। आर्थिक वर्ष २०२५-२६ मा भारत र नेपालबीचको वस्तु व्यापार ९ अर्ब ३९ करोड अमेरिकी डलर (८७ हजार करोड रुपैयाँ) पुगेको थियो। यसमध्ये भारतको निर्यात ७ अर्ब ४५ करोड अमेरिकी डलर (६९ हजार ३६ करोड रुपैयाँ) थियो।
नेपालबाट भारतमा विद्युत् निर्यात बढाउन सके व्यापार असन्तुलन कम गर्न मद्दत पुग्न सक्छ। यो सहकार्यलाई उपक्षेत्रीय तहसम्म विस्तार गर्दै बंगलादेश र अन्ततः भुटानलाई पनि समेट्नुपर्छ।
नेपालमा भारतमाथि अत्यधिक निर्भर हुनुपर्ने अवस्थाबारे चिन्ता रहँदै आएको छ। अब हामीले यो सम्बन्धको व्याख्या निर्भरताबाट अन्तरनिर्भरतामा बदल्नुपर्छ। भारतले नेपालबाट ऊर्जा प्राप्त गर्ने अपेक्षा राख्छ भने नेपाल आफ्नो अधिकांश निर्यात र बाँकी विश्वसँगको पहुँचका लागि भारतमा निर्भर छ।
यो सहकार्यबाट नेपालका जनताले प्रत्यक्ष लाभ पाइरहेको देखिएपछि दुई देशबीच सम्बन्धलाई प्रभावित पार्दै आएका अन्य समस्याको समाधान गर्न पनि सहज हुनेछ।
(इन्डिया टुडेबाट लिइएको यो आलेख भारतका पूर्वराजदूत रञ्जित रायको विचारमा आधारित छ ।)