काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका चार संसदीय समितिको बैठक आज (सोमबार) बस्दैछ । बैठकमा विभिन्न विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफल हुनुका साथै विज्ञहरूसँग परामर्श गर्ने कार्यसूची रहेको छ ।
बिहान ११ बजे प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुने भएको छ । साथै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने संशोधनकर्तासँग पनि छलफल गरिनेछ ।
त्यस्तै, बिहान ११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक’ माथि विज्ञहरूसँग छलफल हुने कार्यसूची छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, मन्त्रालयका सचिव र सम्बन्धित विज्ञहरूलाई आमन्त्रण गरिएको छ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान १० बजे बस्दै छ । बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण पहिलो संशोधन) विधेयक, २०८३’ माथि संशोधनकर्तासहित दफावार छलफल हुने भएको छ ।
यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ माथि छलफल हुने कार्यसूची रहेको छ । बैठकमा सूचना तथा सञ्चार मन्त्रालयका मन्त्री र सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव तथा चलचित्र विकास बोर्डका अध्यक्षलाई आमन्त्रण गरिएको छ । बैठक बिहान ११ बजे बस्ने छ ।