Paywear Banner Desktop
Paywear Banner Mobile

‘भारतले अनुरोध गरे पनि बागडोगरा विमानस्थलको विषयमा कुनै सहमति भएको छैन’

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतसँग भैरहवाको हवाई मार्ग दुवैतर्फ प्रयोग गर्न पाउने सहमति भएको बताएका छन् ।

दुई दिने भारत भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भैरहवामाथिको हवाई मार्गबाट नेपाल बाहिर जान मात्रै पाइने व्यवस्थालाई अब नेपाल भित्रिन पनि प्रयोग गर्न पाउने गरी सहमति भएको बताए ।

उनका अनुसार भारतसँग भैरहवाको हवाई कनेक्टिभिटीसम्बन्धी विषयमा सहमति भएको हो । यसअघि नेपालले सिमरा हुँदै एउटै हवाई मार्गबाट प्रवेश गर्नुपर्ने बाध्यता रहेको भन्दै थप हवाई मार्गका लागि लामो समयदेखि पहल गर्दै आएको थियो ।

उनले भने, ‘बागडोगराको विषयमा आज केही पनि सहमति भएन। बागडोगरा लगायत अन्य कुनै पनि भैरहवा बाहेक कुनै पनि अन्य एयर राउटसँग सम्बन्धित कुनै पनि सहमति भएको छैन । भैरहवाको हकमा नेपालले बाहिर जानको लागि प्रयोग गरिरहेको रुट अब भित्र आउन पनि प्रयोग गर्न पाउँछ। त्यति एउटा मात्रै सहमति भएको छ ।’

मन्त्री खनालले भैरहवामाथिको हवाई मार्गलाई दुवैतर्फ प्रयोग गर्ने सहमति कार्यान्वयनका लागि प्राविधिक प्रक्रिया पूरा गर्नुपर्ने बताए । नेपालका नागरिक उड्डयन प्राधिकरण, भारतको सम्बन्धित निकाय तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) लगायतसँग समन्वय आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘आज दुईटा प्रधानमन्त्रीज्यूहरूको सहमतिमा भैरहवा माथि भएको आकाशको पहुँच मार्ग नेपालले प्रयोग गर्न पाउने एकपक्षीय थियो, नेपालबाट बाहिर जान पाइन्थ्यो, युनिडिरेक्सनल थियो, अब चाहिँ नेपाल भित्रिन पनि पाउने गरेर समझदारी बनेको छ ।’

बागडोगरा विमानस्थल सञ्चालनका लागि नेपालको हवाई मार्ग प्रयोग गर्न भारतले अनुरोध गरेको विषयमा भने कुनै सहमति नभएको उनले स्पष्ट पारे । भारतले नागरिक उड्डयन प्रयोजनका लागि नेपालको हवाई मार्ग प्रयोग गर्न अनुरोध गरेको भए पनि उक्त विषयमा छलफल टुंगोमा नपुगेको उनले बताए ।

‘बागडोगराको एयरपोर्टको सञ्चालनको सन्दर्भमा उहाँहरूलाई पनि नेपालको आकाशको बाटो प्रयोग गर्नको लागि नेपालको अनुमति उहाँहरूले माग्नुभएको थियो। तर त्यो आज कुनै टुङ्गोमा पुगेको छैन। यी विषयहरू हामी अब नेपाल-भारतबीच थुप्रै मुद्दाहरू छन् । आज यो विषयमा, बागडोगराको विषयमा कतै पनि सहमति भएको छैन,’ उनले भने ।

सीमा विवादका विषयमा पनि दुवै देशका प्रधानमन्त्रीले विदेश सचिवस्तरीय संयुक्त बैठक गर्न निर्देशन दिएको मन्त्री खनालले बताए । नेपाल-भारतबीच रहेका सीमासम्बन्धी विवादलाई उच्च तहमा संवादमार्फत समाधान गर्ने नेपालको धारणा रहेको उनले उल्लेख गरे ।

उनले भने, ‘आज दुईटा प्रधानमन्त्रीज्यूहरूले दुईटा विदेश सचिवलाई-हाम्रो परराष्ट्र सचिव, उता विदेश सचिवलाई-संयुक्त रूपमा बैठक गर्नको लागि निर्देशन दिनुभएको छ। हामीबीच भएका विभिन्न खाले विवादहरू, अप्ठ्यारोहरूलाई हामी शान्तिपूर्ण बाटोबाट हल गर्न चाहन्छौँ भन्ने नेपालको ऐतिहासिक पोजिसन हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!