रोयटर्स । अमेरिकी अर्बपति एलन मस्कले अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सका दुई सेयर दिने घोषणा गरेका छन् । करिब १८ अर्ब अमेरिकी डलर बराबरको यो घोषणा उनले आफ्नो स्याटेलाइट तथा कृत्रिम बुद्धिमत्ता (एआई) व्यवसायप्रति सार्वजनिक समर्थन जुटाउने प्रयासका रूपमा गरेका हुन् ।
अमेरिकी प्रविधि क्षेत्र तीव्र सार्वजनिक तथा राजनीतिक निगरानीमा रहेका बेला मस्कले अमेरिकी थ्याङ्क्सगिभिङ पर्वको अघिल्लो दिन सेयर वितरणको घोषणा गरेका हुन् । यसअघि बुधबार मात्रै स्पेसएक्सले अन्तरिक्षमा डेटा सेन्टर सञ्चालन गर्न १० लाख स्याटेलाइट प्रक्षेपण गर्ने अमेरिकी स्वीकृति पाएको थियो ।
कम्प्युटिङ पूर्वाधारको तीव्र विस्तारले वातावरणीय प्रभाव तथा प्रविधि क्षेत्रका अर्बपतिहरूको आर्थिक र राजनीतिक प्रभावबारे चिन्ता बढिरहेका बेला मस्क स्पेसएक्सको एआई उद्योगमा भूमिका विस्तार गर्न खोजिरहेका छन् ।
यसै महिनाको अमेरिकी मध्यावधि निर्वाचनमा डेटा सेन्टर निर्माणको विरोध गर्ने समूहहरू डेमोक्र्याटिक पार्टीका लागि सबैभन्दा ठूलो चुनावी लाभ पाउने पक्षमध्ये थिए ।
सिंगापुरस्थित ओसीबीसीका सम्पत्ति परामर्श प्रमुख चेज आनबुले बिहीबार यस पहलले स्पेसएक्सको यात्रामा सर्वसाधारणको सहभागिता विस्तार गर्ने बताए ।
उनका अनुसार बालबालिकालाई कम्पनीमा प्रत्यक्ष आर्थिक हिस्सेदारी दिँदा एआई र अन्तरिक्ष अर्थतन्त्रबाट प्राप्त हुने लाभमा व्यापक सहभागिताको सशक्त सन्देश जानेछ ।
सेयर कम्पनी र मस्क दुवैबाट
मस्कले एक्समा गरेको पोस्टअनुसार बालबालिकाले स्पेसएक्सबाट एक र उनीबाट व्यक्तिगत रूपमा अर्को गरी दुई सेयर पाउनेछन् ।
बिहीबारको अर्को पोस्टमा उनले आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।
उनले लेखेका छन्, ‘म हरेक वर्ष अमेरिकाका सबै बालबालिकालाई स्पेसएक्सको अर्को एक सेयर दान गर्नेछु ।’
मस्कले बुधबार नै स्पेसएक्सका सेयर आगामी महिना हस्तान्तरण गरिने बताएका थिए । उनका अनुसार आफूले व्यक्तिगत रूपमा दिने सेयर भने आगामी वर्ष जुनमा आफ्नो सेयर बिक्री तथा हस्तान्तरणसम्बन्धी प्रतिबन्ध (लकअप) अवधि समाप्त भएपछि हस्तान्तरण हुनेछ ।
यसअघि बुधबार स्पेसएक्सले ट्रम्प अकाउन्ट कार्यक्रममा हाल सक्रिय रहेका प्रत्येक खाताका लागि आफ्नो क्लास ए साधारण सेयरको एक नयाँ सेयर उपलब्ध गराउने घोषणा गरेको थियो । कम्पनीले मस्कले पनि व्यक्तिगत रूपमा कम्पनीले दिने सेयर बराबरकै संख्या थप्ने जनाएको थियो ।
ट्रम्प अकाउन्ट १८ वर्षमुनिका अमेरिकी नागरिकलाई सेयर बजारमा हिस्सेदारी दिलाउने र सानै उमेरदेखि सम्पत्ति निर्माणमा सहयोग गर्ने उद्देश्यले ल्याइएको कार्यक्रम हो ।
ह्वाइट हाउसले अक्टोबरमा यस कार्यक्रममा करिब ७ करोड खाता खोलिएको जनाएको थियो ।
बुधबार स्पेसएक्सको सेयर प्रतिकित्ता १२७.४४ डलरमा बन्द भएको थियो । यही मूल्यका आधारमा मस्कको घोषणाको कुल मूल्य करिब १८ अर्ब डलर पुग्छ ।
तर, मस्कले दिने स्पेसएक्सका सेयर ट्रम्प अकाउन्टसँग जोडिने हुन् वा होइनन् भन्ने विषयमा सोधिएको प्रश्नमा कम्पनीले प्रतिक्रिया दिएको छैन ।
दीर्घकालीन सेयरधनी आधार बनाउने रणनीति
ब्रोकरेज कम्पनी मिट्रेड ग्रुपका विश्व बजार सल्लाहकार क्रिस्टोफर ब्रान्किनले यो योजनाले कम्पनीका लागि ठूलो संख्यामा दीर्घकालीन व्यक्तिगत सेयरधनी तयार गर्ने बताए ।
उनका अनुसार यसले तत्कालै बजारमा सहभागिता बढाउनुका साथै नयाँ पुस्ता उमेर पुगेपछि कारोबार गर्ने प्लेटफर्मका लागि वित्तीय रूपमा जानकार ग्राहकको ठूलो आधार तयार गर्नेछ ।
करिब ८२४ अर्ब डलर सम्पत्ति भएका मस्कले गत महिना अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो स्पेसएक्सको एक सेयर दिने घोषणा गरेका थिए । जुनसम्म उनीसँग कम्पनीका करिब ६ अर्ब ४२ करोड सेयर रहेको थियो ।
त्यतिबेला एक्समा उनले लेखेका थिए, ‘आगामी वर्ष म अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो स्पेसएक्सको एक सेयर दिनेछु । यो धेरैमध्ये पहिलो हुनेछ ।’
मस्कले भविष्यको अर्थतन्त्रमा हिस्सेदारीका रूपमा रहेको सेयर प्रत्यक्ष रूपमा सर्वसाधारणलाई दिनु नै सही बाटो भएको बताएका छन् ।
उनका अधिकांश परोपकारी गतिविधि मस्क फाउन्डेसनमार्फत हुँदै आएका छन् । उक्त फाउन्डेसनसँग १४ अर्ब डलरभन्दा बढी सम्पत्ति रहेको बताइएको छ ।
यसअघि अक्टोबरमा स्पेसएक्सकी अध्यक्ष ग्विन सटवेल र उनका श्रीमान्ले पनि ट्रम्पको पहलअन्तर्गत २० लाखभन्दा बढी बालबालिकालाई आफ्नो स्पेसएक्स सेयरमध्ये एक(एक सेयर दिने प्रतिबद्धता जनाएका थिए ।
एआईको लाभ बाँड्ने विषयमा मस्क र एन्थ्रोपिकको फरक रणनीति
मस्क र एआई प्रतिस्पर्धी कम्पनी एन्थ्रोपिकले एआई क्षेत्रको तीव्र विस्तारबाट प्राप्त हुने लाभ सर्वसाधारणसँग बाँड्ने विषयमा फरक योजना अघि सारेका छन् ।
यसै महिनाको सुरुमा सार्वजनिक भएको एन्थ्रोपिकले अक्टोबरमा आफ्नो कुल सेयरको ५ प्रतिशत हिस्सा ुसार्वजनिक हितु का लागि स्थापना गरिने नयाँ कोषमा छुट्याउने घोषणा गरेको थियो ।
कम्पनीका अनुसार हालको बजार मूल्यअनुसार करिब ५४ अर्ब डलर बराबरको उक्त पहलले मानवताको हितमा दान तथा सहयोग गर्न कम्पनीलाई थप लचकता र ठूलो स्तरमा काम गर्ने क्षमता प्रदान गर्नेछ ।
हङकङस्थित टोस्काफन्डका प्रमुख लगानी अधिकृत मार्क टिंकरले मस्कको घोषणालाई ट्रम्प अकाउन्ट कार्यक्रमको प्रचारका रूपमा पनि हेर्न सकिने बताए ।
उनका अनुसार एन्थ्रोपिकको परोपकारी योजनाले ध्यान पाइरहेका बेला मस्कको घोषणा त्यसको प्रत्युत्तरसमेत हुन सक्छ ।
टिंकरले थ्याङ्क्सगिभिङ पर्वको सन्दर्भ उल्लेख गर्दै यसलाई उपयुक्त समयको घोषणा भएको टिप्पणी गरेका छन् ।