काठमाडौं । स्पेसएक्स, टेस्ला र एक्सजस्ता कम्पनीका मालिक अर्बपति इलन मस्कले आगामी वर्ष अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो कम्पनी स्पेसएक्सको एक–एक सेयर दिने घोषणा गरेका छन्।
मस्कले सोमबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सको एक सेयर दिने बताएका हुन्। ‘आगामी वर्ष म अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सको एउटा सेयर दिनेछु,’ उनले लेखेका छन्, ‘यो यस्ता धेरै काममध्ये पहिलो हुनेछ।’
सीएनएनका अनुसार प्रविधि कम्पनीहरूले समाजमा पार्ने प्रभावबारे बहस चर्किरहेका बेला मस्कको यस्तो घोषणा आएको हो।
यसअघि आइतबार एआई कम्पनी एन्थ्रोपिकले आफ्नो सेयरको कम्तीमा पाँच प्रतिशत नयाँ ‘पब्लिक बेनिफिट’ कोषलाई दिने घोषणा गरेको थियो। कम्पनीको पछिल्लो मूल्यांकनका आधारमा उक्त सेयरको मूल्य ४८ अर्ब अमेरिकी डलर हुन्छ। कोषमार्फत सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले रकम वितरण गरिने एन्थ्रोपिकले जनाएको छ।
अमेरिकामा १८ वर्षमुनिका करिब सात करोड ३० लाख बालबालिका छन्। मस्कको घोषणाअनुसार प्रत्येक बालबालिकालाई एक सेयर दिइएमा उक्त योजनाको मूल्य करिब १० अर्ब ६६ करोड अमेरिकी डलर हुनेछ।
सेयर वितरण गर्ने घोषणा गरे पनि त्यसको प्रक्रिया कस्तो हुनेछ भन्नेबारे मस्कले खुलाएका छैनन्। वासिङ्टन पोस्टका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पनि बालबालिकाको बचत तथा लगानीका लागि ‘ट्रम्प अकाउन्ट्स’ कार्यक्रम सुरु गरेको छ। मस्कले स्पेसएक्सको सेयर वितरणका लागि यही कार्यक्रम प्रयोग गर्न सक्ने संकेत गरेका छन्।
मस्क र एन्थ्रोपिकका घोषणा एआई कम्पनीहरूले आफ्ना उत्पादनको सुरक्षाबारे तीव्र आलोचना खेपिरहेका बेला आएका हुन्। एन्थ्रोपिकले हालै एआई प्रविधिले ‘मानव अस्तित्वमै खतरा’ उत्पन्न गर्न सक्ने चेतावनीसमेत दिएको थियो।
एआईका कारण ठूलो संख्यामा मानिसले रोजगारी गुमाउन सक्ने सम्भावना र यस उद्योगका लागि विशाल डेटा सेन्टर निर्माण गर्दा समाज तथा वातावरणमा पर्ने प्रभावलाई लिएर पनि आलोचना बढिरहेको छ।