काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ ।
आज बेलुका ६ बजेसम्म भक्तजनका लागि मन्दिर खुला नै राखिने दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन् ।
मन्दिर दर्शनका लागि एकाबिहान देखि नै भक्तजन लामो लाइनमा उभिएका छन् । हनुमानढोका क्षेत्रका अन्य मठ मन्दिरमा पनि मन्दिरमा पनि दर्शनार्थीको घुइँचो छ ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।
मूलचोकमै सोमबार महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले सोमबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ ।

