Paywear Banner Desktop
Paywear Banner Desktop
अमेरिकी मध्यावधि चुनाव

अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत, ट्रम्पले भने- इरान युद्व हारको कारण

वासिङ्टन डीसी । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेका छन् । यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालका बाँकी दुई वर्षमा उनको विधायिकी योजनामा अवरोध पुग्ने र प्रशासनमाथि अनुसन्धान बढ्ने देखिएको छ ।

जीवनयापनको बढ्दो लागत, भन्सार शुल्क र इरानसँगको युद्धप्रति मतदाताको असन्तुष्टि निर्वाचन परिणाममा प्रतिबिम्बित भएको छ । ट्रम्पले परिणाम स्वीकार गर्ने बताउँदै डेमोक्रेटहरूले राम्रो चुनावी अभियान सञ्चालन गरेको प्रशंसा गरेका छन् । तर, रिपब्लिकनहरूको हारलाई आफ्नो व्यक्तिगत पराजय मान्न अस्वीकार गरेका छन् ।

डेमोक्रेटहरूले मेन, टेक्सास, कन्सास, आयोवा, दक्षिण क्यारोलिना र उत्तर क्यारोलिनालगायत राज्यमा सफलता हासिल गरेका छन् । मेनमा ट्रोय ज्याक्सनले रिपब्लिकन सिनेटर सुसान कोलिन्सलाई पराजित गरेका छन् भने जर्जियामा केइशा लान्स बटम्स अमेरिकी इतिहासकै पहिलो अश्वेत महिला गभर्नर निर्वाचित भएकी छन् ।

दुवै सदनमा बहुमत पाएपछि डेमोक्रेटहरूले इरान युद्ध, आप्रवासन नीति र भ्रष्टाचारका आरोपमाथि अनुसन्धान गर्न तथा ट्रम्पका विधेयक र सरकारी नियुक्तिमा अवरोध गर्न सक्नेछन् । प्रतिनिधिसभाका नेता हाकिम जेफ्रीज आगामी जनवरीमा पहिलो अश्वेत सभामुख बन्न सक्ने सम्भावना छ ।

परिणाम स्वीकार गर्ने बताए पनि ट्रम्पले आफू उम्मेदवार भएको भए रिपब्लिकनहरूले भारी मतान्तरले जित्ने दाबी गरेका छन् । उनले डेमोक्रेटहरूले पारित गरेका विधेयकमा राष्ट्रपतीय भिटो प्रयोग गर्ने चेतावनीसमेत दिएका छन् । यसले आगामी दुई वर्ष अमेरिकी राष्ट्रपति र कङ्ग्रेसबीच राजनीतिक टकराव बढ्न सक्ने सङ्केत गरेको छ ।

ट्रम्पको स्वीकारोक्ति : इरान युद्धलाई चुनावी हारको कारण

ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयमा इरान युद्धले भूमिका खेलेको स्वीकार गर्दै विपक्षी डेमोक्रेटलाई बधाई दिएका छन् । तर उनले हारको व्यक्तिगत जिम्मेवारी लिन अस्वीकार गर्दै पार्टीका उम्मेदवारहरूको कमजोरीलाई दोष दिएका छन् ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ८० वर्षीय ट्रम्पले डेमोक्रेटहरूले राम्रो प्रदर्शन गरेको बताउँदै आफूले यसलाई व्यक्तिगत हारका रूपमा नलिएको उल्लेख गरे । उनले डेमोक्रेटहरूसँग विभिन्न विषयमा सहकार्य गर्न तयार रहेको बताए पनि आफूलाई मन नपर्ने विधेयकमा भिटो लगाउने चेतावनी दिए ।

इरान युद्ध र बढ्दो तेलको मूल्य मतदातामाझ अलोकप्रिय बनेको स्वीकार गर्दै उनले युद्ध निर्वाचन परिणाम प्रभावित पार्ने एउटा कारण भएको बताए । यद्यपि, इरानप्रति आफूले अपनाएको नीतिको महत्त्व मतदाताले बुझेको उनको दाबी थियो ।

ट्रम्पले ट्रुथ सोसलमा आफू उम्मेदवार भएको भए रिपब्लिकनहरूले ठूलो अन्तरले जित्ने दाबी गरे। उनले टेक्सासका गभर्नर ग्रेग एबटको आलोचना गर्दै उनी नाम मात्रका रिपब्लिकन भएकाले पराजित भएको टिप्पणी गरे ।

ह्वाइट हाउसका एक अधिकारीले पनि रिपब्लिकन उम्मेदवारहरूको गुणस्तर निर्वाचन परिणाममा प्रभाव पार्ने महत्त्वपूर्ण पक्ष भएको बताएका छन् ।

प्रतिनिधिसभा र सिनेट दुवैमा डेमोक्रेटहरूको नियन्त्रण कायम भएपछि ट्रम्पको कार्यकालका अन्तिम दुई वर्ष चुनौतीपूर्ण हुने देखिएको छ । यसबीच ह्वाइट हाउसले इरानविरुद्ध सैन्य कारबाही पुनः विस्तार हुन सक्ने सम्भावनालाई नकारेको छैन । साथै, निर्वाचन परिणामपछि आफ्ना राजनीतिक विरोधीहरूलाई रोक्ने ट्रम्पको सङ्कल्प अझ बलियो हुने सङ्केत पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी १
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!