दशैंमा मासु खाने चलन संस्कृतिकै रूपमा स्थापित भइसकेको छ। ग्रामीण क्षेत्रका कतिपय परिवारले वर्षमा एक-दुईपटक मात्र मासु खान्छन्, तर पनि दशैंमा घरमै खसी काट्छन्। केही वर्षअघिसम्म देशका अधिकांश भूभागमा यस्तै अवस्था थियो। अहिले शहरी क्षेत्रमा भने मासु दैनिक खानपानकै हिस्सा बनिसकेको छ।
यदि तपाईं पनि दशैंमा मासु खाने तयारीमा हुनुहुन्छ भने खानपानमा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्।
दशैं १५ दिनसम्म मनाइने लामो चाड हो। देशका अधिकांश भागमा विशेषगरी सातौँ दिन फूलपातिदेखि दशौँ दिन विजया दशमीसम्म धेरै मासु खाने गरिन्छ। विभिन्न परिकार बनाएर आवश्यकताभन्दा बढी मासु खाने चलन पनि छ। तर स्वास्थ्यका दृष्टिले उपयुक्त हुने गरी मासुको मात्रा निर्धारण गर्न र पकाउने तरिका अपनाउन चिकित्सकहरूले सल्लाह दिएका छन्।
मासु कति खाने ?
“मासुमा प्रोटिन अत्यधिक मात्रामा पाइन्छ। सुगर, प्रेसर र पायल्स भएकाहरूले मासु खाँदा निकै ध्यान दिनुपर्छ,” वरिष्ठ आयुर्वेद चिकित्सक प्रेमनारायण श्रीवास्तव भन्छन्।
उनका अनुसार उमेर बढी भएकाहरूले रातो मासु सकेसम्म कम खानुपर्छ। खसीबोकाको सट्टा कुखुरा वा माछाको मासु खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ। माछा र कुखुरामा बोसो कम हुने भएकाले यिनले स्वास्थ्यमा कम असर गर्छन्। विशेषगरी माछामा पाइने ओमेगा-३ ले शरीरलाई थप फाइदा पुर्याउने उनले बताए। साथै, सागपात र सलादको परिकार प्रशस्त खाएर मासु कम खान उनको सुझाव छ।
मासु भिटामिन, मिनरल र जिंकको राम्रो स्रोत पनि हो। १०० ग्राम मासुमा करिब २५ ग्राम प्रोटिन पाइन्छ। बालबालिकालाई दैनिक २५ देखि ३० ग्राम र वयस्कलाई ६० देखि १०० ग्राम प्रोटिन आवश्यक पर्छ।
आवश्यकताभन्दा बढी प्रोटिनयुक्त खाना खाँदा शरीरलाई पचाउन गाह्रो हुन्छ र त्यसको असर पनि पर्छ। त्यसैले उमेर, दैनिकी र स्वास्थ्य अवस्थाअनुसार मासु खान डा. श्रीवास्तवले सुझाव दिएका छन्। साथै, राति मासु पचाउन कठिन हुने भएकाले सकेसम्म बेलुकाको समयमा मासु नखान उनले सल्लाह दिए।
मासु कसरी खाने ?
धेरैले चिल्लो, पिरो र मसलेदार मासु रुचाउँछन्। तर उमेर समूह र स्वास्थ्य अवस्थाअनुसार मासुलाई फरक–फरक तरिकाले तयार गरेर खान सकिने चिकित्सकको भनाइ छ।
“बालबालिकाले बढी चिल्लो, पिरो र मसलेदार खाना पचाउन सक्दैनन्। त्यसैले उनीहरूलाई थोरै र सकेसम्म उमालेको मासु दिँदा राम्रो हुन्छ,” डा. श्रीवास्तवले भने।
उमालेको मासु स्वादिलो नलाग्न सक्छ, तर स्वास्थ्यका दृष्टिले चिल्लो र मसला कम हालेर उमालेर पकाउनु राम्रो हुने उनको सुझाव छ। उनका अनुसार एकैपटक धेरै मासु खानु पनि स्वास्थ्यका लागि राम्रो होइन। मसलेदार, चिल्लो र पिरो मासु खाँदा कब्जियत, वाकवाकी, पेट दुखाइ र पखाला हुन सक्छ।
मधुमेह र उच्च रक्तचाप भएका बिरामीले बोसो नभएको मासु मात्र छनोट गरी उमालेर थोरै मात्रामा खानुपर्ने उनले बताए। पायल्सका बिरामीले भने चिल्लो र मसलेदार खाना खानै नहुने उनको भनाइ छ।