काठमाडौं । महाभारतमा कृष्णको उक्ति छ- ‘जब धर्तीमा अन्याय बढ्दै जान्छ, तब भगवान नयाँ रुप लिएर आउनुहुन्छ ।’ तर, भक्तजन साँच्चिकै संकटमा परे भगवान आउनुहोला या भक्त आफैले समस्याविरुद्ध संघर्ष गर्नुपर्छ ?
बुधबार राति ९ बजे सार्वजनिक गरिएको ‘छ माया छपक्कै २’ को ट्रेलरले यही आयाम वरपर फन्को मार्छ । ट्रेलरको केन्द्रमा दीपकराज गिरी छन् । महाभारतको लडाइ र उनले बाँसुरी बजाएको दृश्यसँगै ट्रेलर सुरु हुन्छ ।
‘यदा यदा हि धर्मस्य, ग्लानिर्भवती भारत…’ महाभारतको यो संवाद दीपकले भनेसँगै ट्रेलर सुरु हुन्छ । टिभीमा झुम्मिएका गाउँले महाभारत सिरियलबाट प्रभावित भएसँगै कथा सुरु हुन्छ । तीमध्ये एक पात्र हुन्, रमा थपलिया ।
महाभारतबाट प्रभावित उनी छोरा दीपकसामु आफ्ना लागि एक नातीको चाहना बताउँछिन् । आमाको यो चाहना पूरा गर्न दीपकले निर्वाह गरेको पात्रले संघर्ष गर्नुपर्छ । पत्नी (केकीले निर्वाह गरेको पात्र) बाट बच्चा नहुने थाहा पाएपछि दीपकको पात्र सनिशासँग निकट हुन्छ ।
कथा अघि बढ्दै जाँदा दुबै जना महिला पात्र गर्भवती हुन्छन् । समस्याको यो जालोमा कृष्णभक्त दीपक जेलिन्छन् । सन्तानको चाहना पूरा गर्ने यो चाहना तन्किँदै जान्छ र अन्ततः मुख्य पात्रले आमाको इच्छा पूरा गर्न आफ्ना नैतिकताका सीमाहरू तोड्नुपर्छ ।
उत्तरआधुनिक संसारमा समस्याले जेलिएको कृष्णभक्तलाई महाभारतका भगवान कृष्णले आएर उद्वार गर्नुहोला ? कहावत र आधुनिक जीवनमा सीमाबीचको यो नोकझोकलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । विशेषतः धर्म र आध्यात्मिकलाई आधुनिता जटिलतासँग बुनेर कमेडी स्वरुप दिइएको छ ।
आवरणमा कमेडी देखिएपनि गुदीमा आध्यात्मिक दर्शन र प्रश्नहरू यसभित्र छन् । ‘छ माया छपक्कै २’ अघिल्लो श्रृंखलाबाट पूरा भिन्न देखिन्छ । अघिल्लो फिल्ममा प्रेम र राजनीति थियो । यसपटक प्रेम र अध्यात्म गाँसिएको छ ।
ट्रेलरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । दीपेन्द्र लामा निर्देशित फिल्मको निर्मातामा रोहित अधिकारी छन् भने कार्यकारी निर्माता निर्मल शर्मा र सुरज बम ठकुरी हुन् ।
दशैं फूलपातीको अवसरमा ३१ असोजको शनिबार यो फिल्म प्रदर्शन तयारीमा छ ।
