Paywear Banner Desktop
Paywear Banner Mobile

अन्तरिक्षमै छोरी जन्मिएको खुसी मनाउँदै क्यानडेली अन्तरिक्षयात्री

बीबीसी । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा रहेका क्यानडेली अन्तरिक्षयात्री जोसुवा कुट्रिकले तेस्रो सन्तानका रूपमा छोरी जन्मिएको खुसी अन्तरिक्षबाटै मनाएका छन्।

कुट्रिक र उनकी पत्नी हेथर कुट्रिकले छोरीलाई स्वागत गरेका हुन्। कुट्रिक अक्टोबरदेखि सुरु भएको ६ महिनाको अन्तरिक्ष अभियानमा सहभागी छन्। क्यानडेली अन्तरिक्ष निकायले मंगलबार यसबारे जानकारी दिएको हो।

‘हामीबीच दूरी भए पनि हाम्रो जीवनमा नयाँ सानो तारालाई स्वागत गर्दा हामी एकअर्कासँग निकै नजिक भएको महसुस गरिरहेका छौँ,’ दम्पतीले अन्तरिक्ष निकायमार्फत जारी गरेको संयुक्त वक्तव्यमा भनेका छन्।

आफ्नो पहिलो अन्तरिक्ष अभियानमा रहेका कुट्रिक अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रहँदा सन्तान जन्मिएको अवसर गुमाउने इतिहासकै चौथो अन्तरिक्षयात्री बनेका छन्।

यसअघि यो दम्पतीका पाँच र सात वर्षका दुई सन्तान छन्।

‘हाम्रो परिवार विस्तार भइरहेकोमा हामी निकै खुसी छौँ। पाँच सदस्यीय हाम्रो सानो परिवार फेरि एकै ठाउँमा भेला हुने दिनको प्रतीक्षामा छौँ,’ उनीहरूले भनेका छन्।

दम्पतीका अनुसार कुट्रिकको अन्तरिक्ष यात्रा उनको बाल्यकालदेखिको सपना साकार हुनु हो।

‘हाम्रा छोराछोरीलाई ठूला सपना देख्नु र त्यसलाई पछ्याउनु सार्थक हुन्छ भन्ने देखाउन चाहन्छौँ। मेहनत र दृढ संकल्प महत्त्वपूर्ण हुन्छन् भन्ने पनि सिकाउन चाहन्छौँ। परिवार र बलियो समुदायको साथ पाए असाधारण उपलब्धि हासिल गर्न सकिन्छ,’ उनीहरूले वक्तव्यमा भनेका छन्।

अन्तरिक्षयात्री बन्नुअघि अल्बर्टाको फोर्ट सास्काचेवानका कुट्रिक क्यानडाको रोयल क्यानेडियन एयर फोर्समा लडाकु विमानका पाइलट तथा कर्णेल थिए। उनलाई सन् २०१७ मा क्यानडेली अन्तरिक्ष निकायले अन्तरिक्षयात्रीका रूपमा छनोट गरेको थियो।

कुट्रिक नासाको स्पेसएक्स क्रु-१३ अभियानमा छनोट हुने एकमात्र क्यानडेली अन्तरिक्षयात्री हुन्। उक्त अभियानमा चार अन्तरिक्षयात्रीले अन्तरिक्षमा वैज्ञानिक प्रयोग र नयाँ प्रविधिको परीक्षण गरिरहेका छन्।

टोलीमा दुई अमेरिकी अन्तरिक्षयात्री लुक डेलानी र जेसिका वाटकिन्स तथा एक रुसी अन्तरिक्षयात्री सर्गेई टेरियात्निकोभ पनि छन्।

अक्टोबर १ मा अन्तरिक्षतर्फ प्रस्थान गर्नुअघि हेथरले क्यानडाको सार्वजनिक प्रसारक सीबीसी न्युजसँग कुरा गर्दै आफ्नो परिवारले यो अभियानका लागि वर्षौंदेखि तयारी गरिरहेको बताएकी थिइन्। उनले यो लामो समयदेखिको प्रतीक्षा भएको उल्लेख गरेकी थिइन्।

हेथरले आफ्नो गर्भावस्था योजनाबद्ध नभए पनि आफूहरूका लागि निकै खुसीको कुरा भएको बताएकी थिइन्।

‘म त्यति तनावमा छैन। हाम्रो समुदाय निकै राम्रो छ भन्ने लाग्छ। क्यानडेली अन्तरिक्ष निकाय र नासाबाट पनि राम्रो सहयोग पाएकी छु,’ उनले भनेकी थिइन्।

‘यो छ महिनाको कुरा हो। हामी ठीक हुनेछौँ भन्ने लाग्छ,’ उनको भनाइ थियो।

बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएस न्युजसँगको छुट्टै अन्तर्वार्तामा जोसुवाले आफ्नो नयाँ सन्तानले बुबाको अन्तरिक्ष अभियानलाई सार्वजनिक सेवाका लागि गरिएको त्याग र जोखिमका रूपमा बुझ्ने आशा व्यक्त गरेका थिए।

‘केही त्याग गर्नु, केही जोखिम मोल्नु, तर सार्वजनिक सेवाका लागि र मेरो हकमा क्यानडाका लागि त्यसो गर्नु,’ उनले आफ्नो अभियानबारे भनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!