काठमाडौं । बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरिएको छ । प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम परिवर्तन गरेका हुन् ।
राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मर्यादाक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो स्थानमा पुगेकी छन् । यसअघि उनी सातौँ स्थानमा थिइन् ।
दोस्रो स्थानमा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत छन् । यसअघि तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल, चौथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पाँचौँमा गृहमन्त्री सुधन गुरुङ, छैटौँमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र सातौँमा गौतम थिए ।
नयाँ मर्यादाक्रममा गौतम तेस्रोमा उक्लिएपछि खनाल चौथो, श्रेष्ठ पाँचौँ, गुरुङ छैटौँ र लम्साल सातौँ स्थानमा पुगेका छन् । यसरी गौतमको मर्यादाक्रम चार स्थानले बढेको छ भने उनीभन्दा माथि रहेका तीन मन्त्री एक–एक स्थान तल झरेका छन् ।
महावीर पुन आठौँ, सीता वादी नवौँ, प्रतिभा रावल दसौँ, निशा मेहता ११औँ, सस्मित पोखरेल १२औँ, खडक राज पौडेल १३औँ, डा। विक्रम तिमिल्सिना १४औँ र गीता चौधरी १५औँ स्थानमा यथावत् छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारीमा दीपक कुमार साह रहेका छन् । उनी १६औँ स्थानमा छन् । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव १७औँ स्थानमा छन् ।