काठमाडौं । २६ कात्तिकदेखि प्रदर्शन मिति तयारीमा रहेको फिल्म ‘बाटुलो जून’ को शीर्ष गीत सार्वजनिक भएको छ । निर्माण कम्पनी सनराइज पिक्चर्सले फिल्मको शीर्ष गीत युट्युबमा रिलिज गरेको हो ।
गीतमा प्रमुख कलाकार अभिनेता अनमोल केसी, अभिनेत्री प्रिन्सी खतिवडासँगै निर्देशक समेत रहेका अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्तसमेत फिचर्ड छन् ।
यसअघि सार्वजनिक प्रचार सामग्रीमा निर्माण टिमले भुवन केसीलाई देखाए पनि गरिमा पन्तलाई भने लुकाइएको थियो । पछिल्लो समय नेपालबाहिर रहँदै आएकी गरिमाको लागि यो कमब्याक फिल्म हो ।
सार्वजनिक गीतमा राम अविरल विष्टको शब्दमा एसडी योगी र सानु सुनारको स्वर सुन्न सकिन्छ । संगीत संयोजनको काम पनि गायक रहेका योगीले नै गरेका छन् । नृत्य निर्देशक कविराज गहतराजले गीतको शब्द र संगीतको संयोजनमा कलाकारलाई आकर्षक रूपमा भिडियोमा चित्रण गरेका छन् ।
जिया केसी र भविष्य खड्का निर्माता रहेको फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाई, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेलसमेत अभिनयमा छन् । विवेक थापा फिल्मका सह– निर्माता हुन् ।
कृष्ण भण्डारी सम्पादक रहेको फिल्म लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गरेका छन् । फिल्ममा पार्श्व संगीत रोमन बज्राचार्यको छ भने प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक छन् ।