काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबिच बुधबार बुढानीलकण्ठमा लामो छलफल भएको छ ।
लामिछाने निवास बुढानीलकण्ठमा करिब पाँच घण्टाभन्दा बढी चलेको छलफलमा सरकारले ल्याउने भनिएको अध्यादेश, सांसद खगेन्द्र सुनारको पछिल्लो विवादित अडियो प्रकरण र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सम्बन्धी विषयले प्राथमिकता पाएको स्रोतले जनाएको छ ।
छलफलमा सरकारले ल्याउने भनिएको अध्यादेशका विषयमा पहिलो प्राथमिकताका साथ कुराकानी भएको स्रोतको दाबी छ । त्यस्तै, खगेन्द्र सुनारको पछिल्लो विवादलाई गम्भीर रूपमा लिँदै त्यस विषयमा कानुनी वा अन्य कदम चाल्नेबारे पनि परामर्श भएको स्रोतको भनाइ छ ।
बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सम्बन्धी विषयमा समेत छलफल भएको थियो । इनम सापकोटासँग कार्कीको कनेक्सन देखिएको विषयमा सभापति रवि लामिछानेले आफ्नो अडान राखेको बुझिएको छ ।
बाहिर आएका विषय तथ्यमा आधारित नभएको भन्दै यसबारे संयमित ढंगले अघि बढ्नुपर्ने धारणा छलफलमा राखिएको स्रोतले जनाएको छ । बालेन भने कार्कीको विपक्षमा उभिएको स्रोतको दाबी छ।
यी तीन विषयका अतिरिक्त आगामी भारत भ्रमण तथा सरकारका अन्य नीतिगत र प्रशासनिक निर्णयबारे पनि समीक्षा र ब्रिफिङ भएको बताइएको छ । यद्यपि, लामो समय चलेको छलफलका आन्तरिक विवरणबारे दुवै पक्षका नेताहरूले औपचारिक जानकारी दिन मानेका छैनन् ।