काठमाडौं । अष्ट्रेलियाले पर्यटक भिसासम्बन्धी नियममा कडाइ गर्दै शनिबार (२८ नोभेम्बर) देखि नयाँ व्यवस्था लागू गरेको छ। नयाँ नियमअनुसार पर्यटक भिसामा अष्ट्रेलिया पुगेका व्यक्तिले त्यहाँ बसेर अधिकांश प्रकारका नयाँ भिसाका लागि आवेदन दिन पाउने छैनन्।
अष्ट्रेलियाको गृह मन्त्रालयले नयाँ व्यवस्थाअन्तर्गत पर्यटक भिसा (सबक्लास ६००), इलेक्ट्रोनिक ट्राभल अथोरिटी (सबक्लास ६०१) र ईभिजिटर (सबक्लास ६५१) मा ‘नो फर्दर स्टे’ (कन्डिसन ८५०३) सर्त अनिवार्य गरेको छ।
यसअघि पर्यटक भिसाका केही श्रेणीमा मात्र यो सर्त अनिवार्य थियो। नयाँ व्यवस्थाले भने सबक्लास ६०० अन्तर्गतका सबै स्ट्रिममा यो सर्त लागू गरेको छ।
‘नो फर्दर स्टे’ सर्त लागू भएपछि पर्यटक भिसामा अष्ट्रेलिया पुगेका व्यक्तिले त्यहाँ रहँदा अधिकांश अन्य सब्स्ट्यान्टिभ भिसाका लागि आवेदन दिन पाउने छैनन्। यसले पर्यटक भिसामा प्रवेश गरेर अष्ट्रेलियाभित्रै बसेर अर्को अस्थायी वा स्थायी भिसा लिने प्रक्रियालाई सीमित बनाएको छ।
यद्यपि, विशेष र बाध्यकारी परिस्थितिमा अष्ट्रेलियाको गृह मन्त्रालयले ‘नो फर्दर स्टे सर्त हटाउन अनुमति दिन सक्ने व्यवस्था छ।
अष्ट्रेलियाले पर्यटक भिसा अधिकतम १२ महिनासम्मका लागि जारी गर्न सक्छ। तर भिसा प्राप्त गर्ने व्यक्तिले कति समय अष्ट्रेलियामा बस्न पाउने भन्ने कुरा सम्बन्धित भिसामा तोकिएको अवधिमा निर्भर हुन्छ। सामान्यतया तीन महिनासम्मको बसाइ अनुमति दिइने भए पनि परिस्थितिअनुसार ६ वा १२ महिनासम्मको अनुमति मिल्न सक्छ।
पर्यटक भिसामा सामान्यतः तीन महिनासम्म अध्ययन गर्न पाइन्छ भने रोजगारी गर्न अनुमति हुँदैन। काम गर्न नपाइने सर्त सामान्यतः भिसामा उल्लेख गरिएको हुन्छ।
नयाँ नियम २८ नोभेम्बर २०२६ वा त्यसपछि गरिएका भिसा आवेदनमा लागू हुनेछ। यसअघि आवेदन दिइसकेका व्यक्तिको हकमा भने नयाँ व्यवस्था पूर्वव्यापी रूपमा लागू हुने छैन।
नयाँ व्यवस्थाले अष्ट्रेलियालाई पर्यटकका रूपमा भ्रमण गर्ने र त्यहाँ पुगेर अर्को भिसा प्राप्त गर्ने योजना बनाएका विदेशी नागरिकलाई प्रत्यक्ष प्रभाव पार्नेछ।