एडमन्टन, अल्बर्टा (एपी) । क्यानडाको तेलसम्पन्न प्रान्त अल्बर्टाका मतदाताले देशबाट अलग हुने प्रक्रिया अघि बढाउने प्रस्तावलाई भारी मतान्तरले अस्वीकार गरेका छन्। मंगलबार सार्वजनिक जनमतसंग्रहको नतिजाले क्यानडाको राष्ट्रिय एकताका लागि प्रधानमन्त्री मार्क कार्नीले अघि बढाएको प्रयासलाई बल दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध र क्यानडालाई अमेरिकामा गाभ्ने धम्कीका बीच आएको यो नतिजाले क्यानडालीहरूलाई आफ्नो देशको पक्षमा एकजुट हुन थप प्रेरित गरेको छ।
इलेक्सन्स अल्बर्टाका अनौपचारिक नतिजाअनुसार १९ लाखभन्दा बढी मत गणना हुँदा र ९० प्रतिशत मतदान क्षेत्र तथा केन्द्रको परिणाम सार्वजनिक हुँदा ७५ प्रतिशत मतदाताले क्यानडामै रहने पक्षमा मतदान गरेका छन्। बाँकी २५ प्रतिशतले अलग हुने प्रक्रियातर्फ अघि बढ्न समर्थन गरेका छन्।
यो जनमतसंग्रह क्यानडाबाट स्वतन्त्र हुने विषयमा गरिएको प्रत्यक्ष मतदान भने थिएन। प्रस्ताव पारित भएको भए अल्बर्टालाई क्यानडाबाट अलग हुने विषयमा भविष्यमा अर्को जनमतसंग्रह गर्ने प्रक्रियातर्फ अघि बढाउने थियो।
“अल्बर्टाका नागरिकले एकता रोज्नु क्यानडाका लागि ठूलो परिणाम हो,” कार्नीले मंगलबार ओटावामा मन्त्रिपरिषद् बैठकअघि पत्रकारहरूसँग भने।
पृथकतावादीलाई धक्का, अर्को जनमतसंग्रह नगर्ने स्मिथको घोषणा
अल्बर्टालाई क्यानडाबाट अलग गराउने अभियानका आयोजक डेभिड पार्करले पराजयको व्यापकता स्वीकार गरेका छन्।
“स्वतन्त्रता अहिले निकै टाढा देखिएको छ र यो पराजय थिएन भनेर हामीले ढोंग गर्नु हुँदैन,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।
अल्बर्टाका मुख्यमन्त्री ड्यानियल स्मिथले मंगलबार राति टेलिभिजनमार्फत सम्बोधन गर्दै नतिजाको स्वागत गरिन्। उनले आफू पदमा रहँदासम्म क्यानडाबाट अलग हुने विषयमा अर्को जनमतसंग्रह नगराउने प्रतिबद्धता जनाइन्।
“हिजो अल्बर्टाका नागरिकले क्यानडाको प्रान्तकै रूपमा रहने पक्षमा भारी मत दिएका छन्,” स्मिथले भनिन्। “मतदानमा ऐतिहासिक सहभागिता रह्यो। यसले आफ्नो देश र प्रान्तप्रति अल्बर्टाका नागरिकमा रहेको गहिरो भावना र प्रतिबद्धता शक्तिशाली रूपमा देखाएको छ।”
स्मिथले अल्बर्टाले प्रान्तीय स्वायत्तता थप विस्तार गर्न ओटावासँग माग गरिरहने बताइन्। तर विवादलाई अलग हुने प्रक्रियाबाट नभई क्यानडाका राजनीतिक तथा कानुनी संस्थामार्फत समाधान गरिने उनको भनाइ थियो।
कार्नीले मंगलबार बिहान नतिजा र संघीय तथा प्रान्तीय सरकारबीचको सहकार्य बढाउने विषयमा स्मिथसँग कुराकानी गरेको बताए। त्यसमा आप्रवासनसम्बन्धी विषय पनि समावेश थियो।
क्यानडाबाट अलग हुने प्रस्तावको विरोधमा चलेको ‘फरेभर क्यानेडियन’ अभियानको नेतृत्व गरेका अल्बर्टाका पूर्व उपमुख्यमन्त्री थोमस लुकासजुकले समर्थकहरूलाई सम्बोधन गर्दै भने, “क्यानडासँग निहुँ नखोज्नुहोस्। राष्ट्रपति ट्रम्पले यो हेरिरहेका छन्।”
सानो समूहको मुद्दा अब हराउने आन्दोलन रहेन
विश्वकै चौथो ठूलो प्रमाणित तेल भण्डार रहेको अल्बर्टा काउब्वाय संस्कृतिका लागि परिचित छ। यो क्यानडाको बलियो रूढिवादी राजनीतिक आधारमध्ये एक हो। यहाँको राजनीतिक संस्कृति क्यानडाका धेरै अन्य क्षेत्रको तुलनामा अमेरिकी पश्चिमी क्षेत्रसँग बढी मिल्दोजुल्दो छ।
ओटावास्थित संघीय सरकारप्रति अल्बर्टामा लामो समयदेखि असन्तुष्टि रहँदै आएको छ। तर त्यो असन्तुष्टि परम्परागत रूपमा क्यानडाबाट स्वतन्त्र हुने पक्षमा व्यापक समर्थनमा परिणत भएको थिएन।
जनमतसंग्रहमा ठूलो पराजय बेहोरे पनि पृथकतावादी नेताहरूले स्वतन्त्रताका लागि अभियान जारी राख्ने बताएका छन्।
अल्बर्टाका पूर्व मुख्यमन्त्री जेसन केनीका अनुसार अलगाववादी दलहरूले परम्परागत रूपमा एकदेखि दुई प्रतिशतसम्म मात्र मत पाउने गरेका थिए। कोभिड–१९ महामारीका बेला लगाइएका प्रतिबन्धप्रतिको आक्रोशले कार्यकर्ताहरूलाई संगठित हुन मद्दत गरेको र तीमध्ये केही पछि अलगाववादी आन्दोलनमा लागेको उनले बताए।
ट्रम्पको व्यापार युद्ध र क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने धम्कीले अल्बर्टामा कार्नीलाई समर्थन जुटाउन मद्दत गरेको छ। यस प्रान्तमा लिबरल पार्टीका प्रधानमन्त्रीहरू ऐतिहासिक रूपमा अलोकप्रिय रहँदै आएका छन्।
एडमन्टनको एउटा रेस्टुरेन्टमा आयोजित अलगाववादीहरूको जनमतसंग्रहसम्बन्धी कार्यक्रमस्थलमा नतिजा सार्वजनिक हुँदै जाँदा सहभागीहरू मौन भएका थिए।
“हामी कतै जाँदै छैनौं,” अल्बर्टा प्रोस्पेरिटी प्रोजेक्टका जेफ राथले भने। “पछिल्लो एक वर्षमा हामीले सार्वजनिक बहसमा प्रभुत्व जमाएका छौं। हामीले अल्बर्टाका नागरिकलाई स्वतन्त्रताका फाइदाबारे जानकारी दिइरहेका छौं र यो अभियानलाई अगाडि बढाइरहनेछौं।”
मतदानअघि राथले ३० प्रतिशत समर्थन पाए आफू निकै खुसी हुने बताएका थिए। उनले स्मिथलाई युनाइटेड कन्जर्भेटिभ पार्टी ९यूसीपी० को नेतृत्वबाट हटाउन चाहेको र पार्टी विभाजित भएर स्वतन्त्रताको पक्षमा नयाँ दल बन्न सक्ने विश्वाससमेत व्यक्त गरेका थिए।
क्यालगरी विश्वविद्यालयका राजनीतिशास्त्री तथा कन्जर्भेटिभ प्रधानमन्त्री स्टेफन हार्परका पूर्व प्रमुख स्वकीय सचिव इयान ब्रोडीले भने राथ र अर्का अलगाववादी आयोजक मिच सिल्भेस्टरलाई ‘कोही पनि होइनन्’ भन्दै आलोचना गरे।
उनका अनुसार सन् १९८२ मा अल्बर्टाको प्रान्तीय विधानसभामा अलगाववादी उम्मेदवार निर्वाचित भएको निर्वाचन क्षेत्रमै उनीहरूले समर्थन जुटाउन सकेका थिएनन्।
“अलग हुने विषयमा जनमतसंग्रह गराउने कि नगराउने भन्ने निकै नरम प्रश्नमा समेत उनीहरूले वास्तविक समर्थन जुटाउन सकेनन्,” ब्रोडीले भने।
जनमतसंग्रह गराउने विषयमै जनमतसंग्रह
एडमन्टनका मतदाता शन क्याम्पबेलले आफू अल्बर्टा क्यानडाबाट अलग होस् भन्ने नचाहे पनि अलग हुने प्रक्रिया अघि बढाउने पक्षमा मतदान गरेको बताए।
“यसले ओटावालाई अल्बर्टाका नागरिक खुसी छैनन् भन्ने सन्देश दिन्छ,” उनले भने।
एडमन्टनका ५९ वर्षीय डेभ माल्काले भने स्वास्थ्य सेवामा खर्च गर्नुपर्ने रकम ‘जनमतसंग्रह गराउने कि नगराउने भन्ने विषयको जनमतसंग्रह’ मा खर्च गरिएको भन्दै आलोचना गरे।
ट्रम्पले क्यानडालाई धम्की दिइरहेको अवस्थामा यस्तो मतदान गर्नु गलत समयमा भएको उनको भनाइ थियो।
“हामी एकजुट हुनुपर्ने बेला यो भइरहेको छ। तर यसको सट्टा हामी आपसमै लडिरहेका छौं,” माल्काले भने।
छ वर्षअघि क्यानडा आएका एडमन्टनका बासिन्दा अली ख्वाजाले भने नतिजाको स्वागत गरे। उनले अल्बर्टाले बेलायत युरोपेली संघबाट बाहिरिँदा भएको ‘ब्रेक्जिट’ जस्तो विभाजनकारी बाटो रोज्नुको सट्टा एकता रोजेकोमा खुसी व्यक्त गरे।
“वर्षौंको अवधिमा त्यसका परिणाम र त्यसको अर्थ के थियो भन्ने तपाईंले देख्नुभएको छ,” उनले भने। “विशेषगरी क्यानडामा आप्रवासीका रूपमा आएको व्यक्तिका लागि म चिन्तित थिएँ।”