काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनपछि कृत्रिम बुद्धिमत्ता (एआई) विकास र पूर्वाधार विस्तारमा मन्दी आउने आशंकाले अमेरिका र एसियाका प्रमुख प्रविधि कम्पनीका सेयरमा भारी गिरावट आएको छ ।
अमेरिकामा डेमोक्र्याटिक पार्टीले मध्यावधि निर्वाचनमा जित हासिल गरेपछि एआई विकासको गति सीमित गर्ने नीतिले प्रविधि क्षेत्रमा लगानी प्रभावित हुन सक्ने चिन्ता बढेको हो । निर्वाचन अभियानका क्रममा डेमोक्र्याटिक उम्मेदवारहरूले डेटा सेन्टरको विस्तार र एआई विकासलाई नियमन गर्ने विषयलाई प्राथमिकता दिएका थिए ।
अमेरिकी प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्डाक कम्पोजिट परिसूचक बिहीबार ५।५ प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ । डाउ जोन्सको तथ्यांकअनुसार यस क्रममा बजार पुँजीकरणमा अनुमानित २।५ ट्रिलियन अमेरिकी डलर बराबरको गिरावट आएको छ । अन्य प्रमुख अमेरिकी सेयर परिसूचकमा पनि ठूलो गिरावट देखिएको छ । सन् २०२५ यताकै खराब कारोबार दिनमध्ये एक बनेको यो गिरावटले लगानीकर्ताको चिन्ता थप बढाएको छ ।
एआई प्रविधिमा भइरहेको ठूलो लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन्छ कि हुँदैन भन्ने प्रश्न यसअघि नै उठिरहेको थियो । निर्वाचन परिणामपछि यो चिन्ता थप गहिरिएको छ ।
एसियामा पनि शुक्रबार बिहान प्रविधि क्षेत्र केन्द्रित सेयर बजार परिसूचकमा ठूलो गिरावट देखिएको छ । एआई प्रविधिका लागि आवश्यक चिप र उपकरण उत्पादन गर्ने कम्पनीका सेयर मूल्य घटेका छन् ।
जापानको निक्केई २२५ परिसूचक प्रारम्भिक कारोबारमा ६ प्रतिशतले घटेको थियो । मेमोरी चिप निर्माता किओक्सियाको सेयर १२।६ प्रतिशतभन्दा बढीले घट्दा प्रतिद्वन्द्वी टोकियो इलेक्ट्रोनको सेयर मूल्य ९.५ प्रतिशतले घटेको थियो ।
दक्षिण कोरियाली चिप निर्माता एसके हाइनिक्सको सेयर ११.५ प्रतिशतभन्दा बढीले घटेको छ भने सामसङको सेयर मूल्य करिब १० प्रतिशतले ओरालो लागेको छ ।
सियोलको सेयर बजारमा आएको गिरावटसँगै कोस्पी परिसूचक ८.५ प्रतिशतभन्दा बढीले घटेको थियो । तीव्र बिक्रीलाई नियन्त्रण गर्न कारोबार अस्थायी रूपमा रोक्ने ‘सर्किट ब्रेकर’समेत सक्रिय गरिएको थियो ।
ताइवानको ताइएक्स परिसूचक ८.३ प्रतिशतभन्दा बढीले घटेको छ । चिप निर्माता टीएसएमसीको सेयर मूल्य पनि करिब ८.५ प्रतिशतले घटेको छ ।
मार्केटवाचकी चिप्स विश्लेषक ब्रिटनी न्गुएनले यसलाई एआई पूर्वाधारमा भइरहेको खर्चको स्तरप्रति बढ्दो चिन्ताको निरन्तरता भनेकी छन् ।
डेटा सेन्टर विस्तारमा राजनीतिक दबाब
अमेरिकाभरका विभिन्न निर्वाचन क्षेत्रमा डेमोक्र्याटिक उम्मेदवारहरूले डेटा सेन्टरको विस्तारमा नियन्त्रण गर्नुपर्ने मुद्दा उठाएका थिए । देशका विभिन्न स्थानमा एआई प्रविधिका लागि आवश्यक डेटा सेन्टर निर्माण सीमित गर्ने उद्देश्यका दर्जनौँ प्रस्तावसमेत मतदानमा राखिएका थिए ।
मंगलबार भएको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले अमेरिकी सिनेट र प्रतिनिधिसभा दुवैमा जित हासिल गरेको छ । यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी अवधिका लागि अमेरिकी संसद्मा डेमोक्र्याटहरूको नियन्त्रण रहने भएको छ ।
टेक्सासकी नवनिर्वाचित डेमोक्र्याटिक गभर्नर जिना हिनोजोसाले पनि आफ्नो चुनावी अभियानमा डेटा सेन्टर निर्माणको विरोधलाई प्रमुख मुद्दा बनाएकी थिइन् । उनले यस क्षेत्रमा नयाँ निर्माण कार्यमा रोक लगाउने प्रतिबद्धता जनाएकी थिइन् ।
सेयर बजारमा आएको गिरावटबारे प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत राजनीतिक प्रतिद्वन्द्वीलाई दोष दिएका छन् ।
उनले निर्वाचन परिणामका कारण सेयर बजारको इतिहासकै खराब दिनमध्ये एक आएको बताएका छन् । रिपब्लिकन नभई डेमोक्र्याटहरूका कारण यस्तो अवस्था आएको उनको दाबी छ । यद्यपि, अमेरिकालाई अझ ठूलो र शक्तिशाली बनाउने भन्दै उनले चिन्ता नगर्न आग्रह गरेका छन् ।
केही डेमोक्र्याट नेताहरूले एआई प्रविधिको विकास पर्याप्त सुरक्षा र निगरानीबिना तीव्र गतिमा भइरहेको बताउँदै आएका छन् । संसद्मा आफ्नो नियन्त्रण बढेसँगै यस क्षेत्रमा आवश्यक परिवर्तन गर्ने उनीहरूको प्रतिबद्धता छ ।
डेमोक्र्याटिक सिनेटर बर्नी स्यान्डर्सले बिहीबार सामाजिक सञ्जाल एक्समा लेख्दै ठूला प्रविधि कम्पनीका शक्तिशाली व्यवसायीहरूले वातावरण बिगार्ने, रोजगारी घटाउने र मानवताको भविष्यलाई जोखिममा पार्ने काम गरिरहेको आरोप लगाएका छन् । उनले राष्ट्रिय स्तरमै नयाँ डेटा सेन्टर निर्माणमा रोक लगाउनुपर्ने माग गरेका छन् ।
एआई कम्पनीका सेयरमा ठूलो गिरावट
एआई डेटा सेन्टरसँग प्रत्यक्ष सम्बन्धित कम्पनीका सेयरमा बिहीबार ठूलो गिरावट आएको थियो । यसमा चिप निर्माता तथा सेमिकन्डक्टर उत्पादन गर्ने कम्पनीहरू पनि परेका छन् ।
एआई चिप निर्माता एनभिडियाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । यसबाट कम्पनीको बजार मूल्य ४०० अर्ब अमेरिकी डलरभन्दा बढीले घटेको छ ।
अन्य चिप निर्माता कम्पनी एएमडी र माइक्रोनको सेयर मूल्य १७ प्रतिशतभन्दा बढीले घटेको छ । इन्टेलको सेयर १०।३ प्रतिशतले घट्दा मेमोरी कार्ड निर्माता स्यानडिस्कको सेयर मूल्य २२ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।
सेमिकन्डक्टर उत्पादनमा संलग्न ३० ठूला कम्पनीको प्रदर्शन मापन गर्ने फिलाडेल्फिया सेमिकन्डक्टर परिसूचक पनि १२ प्रतिशतभन्दा बढीले घटेको छ ।
एलन मस्कका कम्पनी स्पेसएक्स र टेस्लाको सेयर मूल्य पनि क्रमशः ८ प्रतिशत र करिब ११ प्रतिशतले घटेको छ । बिहीबारको कारोबारमा यी दुई कम्पनीको संयुक्त बजार मूल्य ३०० अर्ब अमेरिकी डलरभन्दा बढीले घटेको छ ।
मस्कले रिपब्लिकन उम्मेदवारहरूको चुनावी अभियानमा करिब ४५० मिलियन डलर खर्च गरेका थिए । यसमध्ये टेक्सासको सिनेट सिटका उम्मेदवार केन प्याक्सटनको समर्थनमा कम्तीमा ४५ मिलियन डलर खर्च गरिएको थियो । तर मंगलबारको निर्वाचनमा टेक्सासमा डेमोक्र्याटिक उम्मेदवारले जित हासिल गरेका थिए ।
एप्पल, एनभिडिया र टेस्लासहित ‘म्याग्निफिसेन्ट सेभेन’ भनिने सात ठूला प्रविधि कम्पनीको बजार मूल्य एकै कारोबार दिनमा एक ट्रिलियन अमेरिकी डलरले घटेको छ ।
अमेरिकाका अन्य प्रमुख सेयर परिसूचक पनि प्रभावित भएका छन् । एस एन्ड पी ५०० परिसूचक कारोबार बन्द हुँदा ४।४ प्रतिशतले घटेको थियो । डाउ जोन्स इन्डस्ट्रियल एभरेज पनि ३।४ प्रतिशतभन्दा बढीले घटेर बन्द भएको थियो । यसले अघिल्लो दिन हासिल गरेको वृद्धि गुमाएको थियो ।
नास्डाक कम्पोजिटमा आएको गिरावटले उक्त परिसूचकलाई बजार विश्लेषकहरूले ‘करेक्शन’ भन्ने अवस्थामा पुर्याएको छ । कुनै परिसूचक वा कम्पनीको मूल्य हालैको उच्च बिन्दुबाट कम्तीमा १० प्रतिशतले घट्दा त्यसलाई बजारको ‘करेक्शन’ भनिन्छ ।
वेल्थ क्लबकी प्रमुख लगानी रणनीतिकार सुजाना स्ट्रिटरले नास्डाक र एस एन्ड पी ५०० मा आएको ठूलो गिरावटले अन्य बजारमा समेत असर पारेको बताएकी छन् ।
उनका अनुसार एआईमा भइरहेको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त नहुने डर र डेटा सेन्टर निर्माणमा तीव्र मन्दी आउन सक्ने सम्भावना एकैपटक देखिँदा लगानीकर्तामा त्रास बढेको हो ।
साक्सोका प्रमुख लगानी रणनीतिकार चारु चानानाका अनुसार डेटा सेन्टर निर्माणका लागि स्वीकृति प्रक्रियामा कडाइ हुन सक्ने तथा वातावरण र विद्युत् महसुलमा पर्ने प्रभावबारे थप छानबिन हुन सक्ने भएकाले परियोजनामा ढिलाइ र लागत वृद्धि हुन सक्छ ।
उनले दुवै राजनीतिक दल अमेरिकालाई एआई प्रविधिमा अग्रणी बनाउन चाहने भए पनि पूर्वाधार विस्तारलाई कुनै पनि मूल्य वा गतिमा अघि बढाउन दिने र एआई विकासलाई समर्थन गर्ने विषय फरक भएको बताएकी छन् ।
डेटा सेन्टरबारे समुदायसँग संवाद गर्नुपर्नेमा जोड
मध्यावधि निर्वाचनमा डेटा सेन्टर विस्तारविरुद्ध देखिएको जनमतले प्रविधि क्षेत्रका केही नेतृत्वलाई आश्चर्यमा पारेको छ ।
ओपनएआईका अध्यक्ष तथा सहसंस्थापक ग्रेग ब्रोकम्यानले डेटा सेन्टरबारे देखिएको प्रतिक्रियाले आफूहरू आश्चर्यचकित भएको बताएका छन् । प्रविधि कम्पनीहरूले स्थानीय समुदायको समर्थन प्राप्त गर्न थप काम गर्नुपर्ने उनको भनाइ छ ।
बुधबार साँझ क्यालिफोर्नियाको नापामा आयोजित ‘डब्लूएसजे टेक कन्फरेन्स’मा बोल्दै उनले सान फ्रान्सिस्कोबाट टेक्सास, जर्जिया र अन्य स्थानमा पूर्वाधार निर्माण गर्न खोज्दा सामाजिक सञ्जालमा राम्रो हुने दाबी गर्नु मात्र पर्याप्त नहुने बताए । स्थानीय समुदायमै पुगेर उनीहरूसँग संवाद गर्नुपर्ने उनले उल्लेख गरे ।
मेटाकी अध्यक्ष डिना पावेल म्याककर्मिकले पनि एआई प्रविधिलाई सकारात्मक रूपमा प्रस्तुत गर्न उद्योग क्षेत्रले थप प्रयास गर्नुपर्ने बताएकी छन् ।
उनले प्रविधि क्षेत्रले एआईबारे जनतालाई बुझाउने प्रयास दोब्बर र तेब्बर बनाउनुपर्ने बताएकी छन् ।
अमेरिकी मध्यावधि निर्वाचनको तत्कालीन प्रभावबाहेक केही लगानीकर्ताले एआई कम्पनीका सेयरमा मूल्यको अस्वाभाविक वृद्धि भएको र अब बजारमा ठूलो गिरावट आउन सक्ने चिन्ता पनि व्यक्त गरेका छन् ।
अतिरिक्त रिपोर्टिङ : लिली जमाली