Paywear Banner Desktop
Paywear Banner Desktop

नवीन सुब्बाको नयाँ फिल्म ‘लाहुरेको जुत्ता’ को छायांकन सुरु

काठमाडौं । निर्देशक नवीन सुब्बाले आफ्नो नयाँ कथानक फिल्म ‘लाहुरेको जुत्ता’ को छायांकन सुरु गरेका छन् । पूर्वी नेपालको तेह्रथुमस्थित मोराङमा नोभेम्बर ११ देखि फिल्मको छायांकन भइरहेको छ ।

५० दिनको छायांकन तालिका तय गरिएको फिल्ममा सन् १९८० को दशकतिरको लिम्बु समुदायको कथा प्रस्तुत गरिनेछ । ‘कमिङ अफ एज’ जनरामा निर्माण भइरहेको फिल्मको कथाको केन्द्रमा बेलायती सेनाबाट अवकाश लिएर गाउँ फर्किएका एक लाहुरेले ल्याएको जुत्ता छ ।

लाहुरे बाजेले बेलायती सेनाबाट फर्किंदा ल्याएको उक्त जुत्ता लगाउन नातिहरूबीच प्रतिस्पर्धा हुन्छ । जुत्ता लगाउने व्यक्तिले आफूले गर्न खोजेको काम पूरा गर्न सक्ने विश्वाससँग फिल्मको कथा जोडिएको छ ।

फिल्ममा सविना लिम्बु, नुमा लिम्बु, विमला लिम्बु, लक्ष्मी लिम्बु, स्मृति लिम्बु, मिसेल लिम्बु, प्रभात लिम्बु र विशाल लिम्बुको अभिनय रहनेछ । फिल्ममा गैरव्यावसायिक कलाकार (नन-एक्टर) लाई समेत सहभागी गराइएको निर्माण पक्षले जनाएको छ ।

आमोद राई र पूर्णसिंह बराइली फिल्मका निर्माता हुन् । देवराज राई र नराङ राई कार्यकारी निर्माताका रूपमा छन् । म्यानछेम पिक्चर्सको ब्यानरमा निर्माण भइरहेको फिल्मको छायांकन प्रसिद्ध चिनियाँ छायांकार पू वेईले गरिरहेका छन् ।

उनले छायांकन गरेको फिल्म ‘सांघाई डटर’ बर्लिन फिल्म फेस्टिभलमा छनोट भएको थियो । साउन्ड रेकर्डिङका लागि भारतबाट प्राविधिक टोलीसमेत आएको छ ।

निर्माता राईका अनुसार फिल्ममार्फत लिम्बु समुदायको सामाजिक तथा सांस्कृतिक परिवेशको कथा प्रस्तुत गर्न खोजिएको छ । यसअघि नवीन सुब्बाको निर्देशनमा बनेको ‘नुमाफुङ’ लिम्बु समुदायको कथा थियो भने ‘गाउँ आएको बाटो’ राई समुदायको कथामा आधारित थियो । त्यस्तै, ‘गुडबाई काठमाडौं’ले काठमाडौंको समुदायको कथा प्रस्तुत गरेको थियो ।

‘लाहुरेको जुत्ता’ सन् २०२८ मा नेपाली हलमा प्रदर्शन गर्ने निर्माण पक्षको तयारी छ । हलमा प्रदर्शन हुनुअघि फिल्मलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी गराउने लक्ष्य पनि निर्माण पक्षले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!