काठमाडौं । हिमाली जिल्ला म्याग्दीको दुर्गम गाउँ गुर्जामा छायांकन गरिएको फिल्म ‘सारथी’को ट्रेलर युट्युबमा शुक्रबार सार्वजनिक भएको छ । यो गाउँ म्याग्दीको सबैभन्दा माथिल्लो स्थानमा रहेको गाउँ हो ।
कुमार गजुरेल निर्देशित फिल्मले पत्रकार सम्मेलन आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो, जहाँ कास्ट एन्ड क्रूले फिल्मबारे जानकारी गराए । गुर्जा गाउँको ग्रामीण परिवेश र जीवनशैलीलाई समेटेर तयार पारिएको ट्रेलरमा आमा र छोराबीचको मर्मस्पर्शी संघर्षलाई मुख्य कथा प्रस्तुत गरिएको छ ।
जीवनयापनका क्रममा आइपर्ने हरेक उतारचढावमा छोराको ‘सारथी’ बनेकी आमाको भूमिकामा निरुता सिंह र छोराको भूमिकामा गिरी विश्वकर्माको भावुक अभिनय देख्न सकिन्छ ।
लामो समयपछि पर्दामा फर्किएका अभिनेता उत्तम प्रधान र नव-अभिनेत्री गायत्री जोशीको भूमिकालाई ट्रेलरमा रहस्यमयी ढंगले प्रस्तुत गरिएको छ ।
ट्रेलरको सुरुवातमै शीर्षकको अर्थ बुझाउँदै कलाकारको चिनारी गराइएको छ भने ग्रामीण भूमिकामा देखिएका सबै कलाकारहरूको अभिनय निकै स्वाभाविक र जीवन्त देखिएको छ।
गजुरेलकै कथा, पटकथा तथा संवाद लेखन रहेको यो फिल्म मंसिर ११ गते हलमा प्रदर्शन हुनेछ । फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गिरि विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्कीलगायतले अभिनय गरेका छन् ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो । संकल्प भुजेलले छायांकन गरेका हुन् ।
तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् ।कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् । अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह-निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन् ।
बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत, राजु खतिवडाको मुख्य सहायक निर्देशन तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशनमा बनेको छ । सिनेमा आरआर फिल्म्सले वितरण गर्नेछ ।